परचक्रीले छुरी हानिसक्यो, राष्ट्र बचाऊँ : डा. जगमान गुरुङ

आदर्श समाज सम्वाददाता
पौष ७, २०८०
Kedareshwor aasram

पोखरा । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले सनातन धर्म संस्कृति र राष्ट्र बचाउनुपर्नेमा जोड दिएका छन् । पोखरामा शनिबार श्रीमद्भागवत् गीता जयन्ती महोत्सव उद्घाटन गर्दै उनले भने, ‘ दुश्चक्रले हाम्रो छातीमा छुरा रोपिसकेको छ । मुटु छुनछुन आँटेको छ । समयमै होसियार भएनौं भने हाम्रो संस्कृति मेटिन्छ ।’

गीतामा कर्म, ज्ञान र मुक्तिबारे चर्चा भएको उल्लेख गर्दै उनले भगवान्प्रति शंका नराखी शरणमा पर्दा मुक्ति मिल्ने र चित्तले सत्यको अनुभूति ग¥यो भने सच्चिदानन्द बन्न सकिने तर्क गरे ।

विन्दुवासिनी संस्कृत विद्यापीठका प्राध्यापक डा. शालिग्राम सुवेदीले भने,‘ गीताले शान्ति दिन्छ, शान्तिले प्रशन्नता र प्रशन्नताले सुख मिल्दछ ।’

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका महासचिव एवं वक्तृत्वकला प्रतियोगिताका निर्णायक समिति सदस्य डा. नारायणप्रसाद बरालले ‘गीता’ का बारे सहभागी विद्यार्थीहरुको राम्रो प्रस्तुति रहेको उल्लेख गरे ।

महोत्सवमा अध्यक्षको आसनबाट केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमका पीठाधीश चिद्धन चैतन्य (डा. लेखनाथ आचार्य) ले सहभागी सबैप्रति आभार व्यक्त गरे । कार्यक्रम संयोजक आचार्य माधव शर्माले विद्याश्रमले गीता जयन्तीको उपलक्ष्यमा सामूहिक गीता पाठ, वक्तृत्वकला प्रतियोगिता तथा गीताका विषयमा परिचर्चा कार्यक्रम गरिएको जानकारी दिए ।

विद्याश्रमका बटुकहरुद्वारा वैदिक र लौकिक मन्त्रवाचन गरी स्वागत गरिएको सो कार्यक्रमको सञ्चालन गीता पौडेलले गरेकी थिइन् ।

यसैबीच, केदारेश्वर वैदिक गुरुकुल आश्रमद्वारा गीता जयन्तीको उपलक्ष्यमा आयोजित वर्तमान समयमा श्रीमद्भागवद् गीताको सान्दर्भिकता विषयक वक्तृत्वकला प्रतियोगितामा सोही विद्याश्रमका कृष्णप्रसाद ढकाल प्रथम भए ।
२१ विद्यालयका ३० जना विद्यार्थीबीच भएको प्रतियोगितामा अमरसिंह माविकी ऋद्धि पोख्रेल द्वितीय र संस्कृत माविका सौरभ पौडेल तृतीय र कालिका माविका गीता किसानले सान्त्वना पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको निर्णायक मण्डलमा वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. नारायणप्रसाद बराल, डा. राम्रप्रसाद पौडेल र रामप्रसाद सुवेदी रहेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width