जनता जाग्नुपर्ने बेला आयो: रास्वपा सभापति लामिछाने

आदर्श समाज सम्वाददाता
पौष ६, २०८०
rabi lamichhane

वालिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको बताएका छन् ।

रास्वपा वालिङ नगर समितिले शुुक्रबार वालिङमा आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै उनले जनता जागेपछि मात्रै परिवर्तन सम्भव हुने बताएका हुन् । देशमा भ्रष्टाचार, कुशासन, तस्करी, विभेदको अँध्यारो मौलाउँदै गएकाले त्यसलाई चिर्न जनतामा परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ थियो । ‘देशको अवस्था जटिल बन्दै गयो भन्ने चिन्ता नागरिकमा छ, देशमा परिवर्तन हुनुपर्छ भन्ने सोचमा हुनुहुन्छ,’ उनले भने ।

‘विभिन्न क्षेत्रसँग सम्बन्धित विज्ञहरूको समन्वय र सहकार्यमा पार्टीको नीति तथा योजना बनाइरहेको छ,’ उनले भने, ‘हामी बोलेरभन्दा काम गरेर देखाउँछौं, योजनाबद्ध तरिकाले अगाडि बढ्छौं ।’

हरेक क्षेत्रमा भएका भ्रष्टाचार, बेथिति, कुरीति अन्त्यका लागि पार्टी निरन्तर लाग्ने उनको भनाइ छ । भ्रष्ट नेताको सम्पत्ति छानबिन गर्नुपर्ने मुद्दालाई पार्टीको प्राथमिकताका साथ उठाएको उनले बताए । यस्तै, पार्टीभित्र कोही कसैले भ्रष्टाचार गरेको पाइएमा तत्कालै कारबाही गर्ने उनले चेतावनी दिए ।

यसैबीच, शनिबार पोखराको जिरो किमीमा प्रदेश कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि माछापुच्छ«े गाउँपालिकास्थित महेन्द्र माविमा भेलामा अध्यक्ष लामिछाने सरिक हुनेछन् । उनले दिउँसो २ बजे पोखराको अमरसिंहचौरमा आयोजित खुला सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

Related News

सम्बन्धित समाचार

hero news full width