१९ औं लेखनाथ महोत्सव सुरु

रामशरण नेपाली
पौष ६, २०८०
Lekhnath Mahotsav Suru

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा बिहीबारदेखि १९ औं लेखनाथ महोत्सव सुरु भयो ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ मूलनाराका साथ आयोजित महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताए । उनले कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन आग्रह गरे । उनले युवा रहर वा बाध्यताले विदेश जानुपरेको बताउँदै उनले पहाडका बाँझो जमिनलाई उत्पादनमा जोडिएर सरकारको कार्यक्रमका सहभागी हुन आग्रह गरे । उनले गाँजालाई वैधता दिन प्रदेश सरकारले तयारी गरिरहेको बताउँदै यसलाई लागुपदार्थ भन्दा पनि औषधीको रुपमा अपनाउनुपर्ने वैधता दिने विषयमा सहयोग गर्न प्रतिपक्ष दललाई आग्रहसमेत गरे ।

गण्डकी प्रदेशमा घरेलु मदिरा धेरै प्रयोग र उत्पादन हुने गरेकोमा घरेलु मदिरा उत्पादनलाई पनि कानुनी मान्यता दिन प्रदेश सरकार लागिरहेको उनको भनाइ छ । उनले विदेशबाट ठुला मदिरा आयात हुन्छ तर स्थानीय मदिरालाई मान्यता नदिँदा आर्थिकरूपमा समेत यसले प्रभाव पार्ने बताए ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले कविशिरोमणि लेखनाथ पौडेलको नाम नै मेटाउने गरी महानगरपालिका बनाए पनि यहाँका जनतामा पाच्य नभएको टिप्पणी गरे । उनले यहाँ देखिएको विविधताले भरिएका झाँकी ¥यालीले पनि एकताको सन्देश दिएकाले लेखनाथलाई नमुनायोग्य सहर बनाउन सामूहिक भावनाले अगाडि बढ्नु पर्ने बताए ।

सरकारका प्रवक्ता तथा उर्जा तथा सिंचाइ मन्त्री सरस्वती अर्यालले महोत्सवमा महिला दिदीबहिनीको सहभागिता उत्साहजनक देखिएको बताउँदै महिलाको सशक्तीकरणका लागि सबैले सोच्नुपर्ने बताइन् ।

प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले लेखनाथलाई कृषि र पर्यटनको माध्यमबाट कसरी विकास गर्न सकिन्छ भन्ने तर्फ सोच्नुपर्ने बताए ।

कांग्रेस नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले उत्पादन र उद्यमशीलतालाई अग्रभागमा राखेर अगाडि बढ्न सबैलाई अनुरोध गरेका थिए ।

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले युवाको निम्ति कसरी स्वदेशमा नै रोजगार सिर्जना गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्ने बताइन् । उनले महानगरले उद्यमशीलताबारे युवा र महिला लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।

आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण: मुख्यमन्त्री पाण्डे

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले सरकारले राष्ट्रिय उत्पादनलाई ध्यान नदिने र आयातित वस्तुमा मात्र निर्भर हुँदा देशको अर्थतन्त्र कमजोर हुँदै गएको संकेत गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले युवापुस्तालाई उद्योग र व्यापारबारे पढाउन नसक्दा विदेशिने क्रम बढेकाले यसलाई कसरी रोक्न सकिन्छ भन्नेतर्फ तिन तहको सहकारबीच सहकार्य आवश्यक रहेको बताए ।

गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघ अध्यक्ष अमृत भट्टचनले सरकारी तहबाट व्यवसायीका समस्या सम्बोधन नहुँदा अब व्यवसायी पनि विदेशिनुपर्ने अवस्था सिर्जना भएको बताए ।

महोत्सवमा स्थानीय आमा÷महिला समूह, संघसंस्थाहरु र विभिन्न जातजाति एवं भाषाभाषीहरुको ४ सयभन्दा बढी संख्यामा झाँकी र्‍याली निकालिएको थियो । मातृशक्तिको सम्मानमा प्रस्तुत गरिने रत्यौली प्रतियोगितामा ३५ मध्येबाट छनोट २० समूहको नाम घोषणा गरिएको थियो ।

यही १६ पुससम्म चल्ने महोत्सवको मुख्य आकर्षणमा थ्रिडी आर्टमार्फत कविशिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्किने तस्बिर, एलइडी डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकका लागि ईसेवाबाट टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ ।

दैनिकरुपमा राष्ट्रिय तथा स्थानीय कलाकारबाट स्टेज सो, सुगम संगीत अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रम, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रम हुने छन् ।

महोत्सवमा करिब ३ सय ३४ स्टल छन् । महोत्सवको २ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा करिब ९ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र १० लाख बचत गर्ने आयोजकको अनुमान छ । पोखरा इको रेड ब्रिक्स महोत्सवको मुख्य प्रायोजक हो ।

Related News

सम्बन्धित समाचार

hero news full width