१९ औं लेखनाथ महोत्सव आजदेखि

आदर्श समाज सम्वाददाता
पौष ५, २०८०
Lekhnath Mahotsav Stage

लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ मूल नाराका साथ बिहीबारदेखि १९ औं लेखनाथ महोत्सव हुँदैछ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ । पुस ५ देखि १६ सम्म चल्ने महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा छ ।

महोत्सव मूल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठले महोत्सवले स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाको प्रवद्र्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जर्गेना गर्ने बताए ।

महोत्सवका प्रचारप्रसार संयोजक एवं संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’ ले महोत्सवले औद्योगिक उत्पादनलाई बढावा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान गराउन महोत्सव सफल हुने बताउँछन् ।

महोत्सवको थप आकर्षण थ्रिडी आर्टमार्फत कविशिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलइडी डिस्प्लेमार्फत स्टेजबाट प्रायोजकको प्रवद्र्धन, दर्शकका लागि इ–सेवाबाट टिकट व्यवस्था छ । दैनिक रुपमा कलाकारबाट स्टेज सो, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायत कार्यक्रम छन् भने जातजातिको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिँदै आएको महिला विशेष कार्यक्रमअन्तर्गत रत्यौली गित प्रतियोगिता, ख्यातिप्राप्त कलाकारबाट दैनिक प्रस्तुति, सुगम संगीतअन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक प्रस्तुति रहने महासचिव जानुका पराजुलीले बताइन् ।

महोत्सवको बचतबाट प्रदर्शनीस्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ वेगनासतालमा वराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीद्वारा उत्पादित वस्तुको प्रवद्र्धनका लागि उत्कृष्टस्तरको कोसेलीघर निर्माण, संघद्वारा वेगनासतालमा निर्माण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जनाएको छ ।

करिब ३ सय ३४ स्टल रहने महोत्सवमा २ लाख ५० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा करिब ९ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र १० लाख बचत गर्ने आयोजकको अनुमान छ ।

पोखरा इको रेड ब्रिक्स महोत्सवको मुख्य प्रायोजक हो ।

Related News

सम्बन्धित समाचार

hero news full width