गण्डकी कांग्रेस केन्द्रीय समितिप्रति आक्रामक : प्रदेश सभापतिले मागे पदाधिकारीको मर्यादा

आदर्श समाज सम्वाददाता
पौष ५, २०८०
congress gandaki Photo (1)

पोखरा । नेपाली कांग्रेस गण्डकीको पहिलो सम्मेलनाको दोस्रो दिन बुधबार पार्टीको राजनीतिक, सांगठानिक, आर्थिक र अवधारणा प्रस्तुत भएको छ । सभापति शुक्रराज शर्माले कांग्रेसको अवधारणा, महामन्त्री किरणबाबु श्रेष्ठले सांगठानिक, अर्का महामन्त्री विष्णु लामिछानेले राजनीतिक र कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । उक्त प्रतिवेदनमाथि छलफलसहित पारित गरिएको छ । आर्थिक बाहेक अन्य तीनवटै प्रतिवेदन केन्द्रीय समितिको कार्यशैलीप्रति आक्रामक छ ।

महामन्त्री किरणबाबु श्रेष्ठले कांग्रेस विचार छोडेर सत्तामुखी भएको आरोप लगाएका छन् । उनले कांग्रेसका कार्यकर्ता अवसर, स्वार्थ र सत्तामुखी भएको भन्दै तल्लो तहसम्मका कार्यकर्तालाई वैचारिक रुपमा प्रतिबद्ध बनाउनुपर्ने बताए । उनले आपसी बेमेल र गुटबन्दीले पार्टी जरैसम्म कमजोर भैरहेको बताए । कांग्रेसमा कार्यकर्ताको संख्या बढे पनि गुणात्मक सुधार नभएको प्रतिवेदन उनले सुनाएका हुन् । ‘संगठनमा सदस्य वृद्धि भएका त छन् तर गुणात्मक रुपमा हुनुपर्ने सुधार भएको छैन,’ उनले भने, ‘अन्य पार्टीहरुसँग प्रतिस्पर्धा गर्न संगठनमा व्यापक सुधारको आवश्यकता देखिएको छ ।’ श्रेष्ठले संगठन सुधार्न इमान र क्षमतावान व्यक्तिलाई जिम्मेवारीमा राख्नुपर्ने सुझाव दिए ।

प्रदेश सभापति शुक्रराज शर्माले पार्टीमा नेतृत्वको इमानदारितामा स्खलन देखा पर्न थालेको प्रतिवेदन पेस गरे । ‘नेतृत्वको इमानदारितामा स्खलन देखियो । नैतिकता, निष्ठा र इमानदारिता हराउँदै गयो । अस्वभाविक तडकभडक र उच्च जीवनशैली हामीले अपनायौं,’ प्रतिवेदनमा उनले लेखेका छन्, ‘नेतृत्व सुकिला देखिन थाले । जनताबाट नेतृत्व टाढिँदै गयो । भ्रष्टाचार र कुशासन झांगिदै गयो ।’

केन्द्रीय पदाधिकारीसरह मर्यादाक्रममा प्रदेश सभापतिको मर्यादा कायम गर्ने व्यवस्था लागु गर्न जोड

शर्माले विधान र कार्यपद्दतिमा सुधार गर्न ११ बुँदामा सुझाव लेखेका छन् । उनले अनलाइनमार्फत सदस्यता आवेदन दिन पाउने र १० दिनमा सदस्यता तथा ३० दिनमा क्रियाशील सदस्यता दिने व्यवस्था मिलाइनुपर्ने सुझाव दिए । सदस्यता दिन नसक्ने भए कारणसहित निवेदकलाई जानकारी गराउनुपर्ने उनको प्रस्ताव छ । यस्तै पार्टीका नेताहरु बहुपदमा रहेका कारण पार्टी सञ्चालनमा समेत समस्या परेको भन्दै एकपदीय व्यवस्था मिलाउन सुझाव दिइएको छ । गण्डकीले सबै पदाधिकारीको निर्वाचन क्रियाशील सदस्यबाट हुनुपर्ने र पदाधिकारी सबै सधैं तल्लो तहबाटै निर्वाचित हुनुपर्ने व्यवस्था राखिनुपर्ने माग गरिएको छ । ‘कतिपय पदाधिकारी तल्लो तहबाट निर्वाचित नै नभैकन सिधैं महाधिवेशनमा भाग लिन पाउने विद्यमान व्यवस्थालाई बदलेर प्रत्येक निर्वाचनमा पार्टीका सबै पदाधिकारी तल्लो तहबाट सबै सरह नै निर्वाचित हुनुपर्ने व्यवस्था मिलाउन उपयुक्त हुन्छ,’ शर्माको प्रतिवेदनमा उल्लेख छ । पार्टी नेतृत्व बलियो बनाउन ३० प्रतिशत सदस्य सभापतिले मनोनीत गर्न पाउने व्यवस्था राखिनुपर्ने माग छ । प्रदेश सभापतिलाई केन्द्रीय पदाधिकारीसरहको मर्यादाक्रम माग्ने शर्माले प्रतिवेदनमा पनि सोही कुरा दोहोर्‍याएका छन् । ‘प्रदेश समितिको भूमिका थप बलियो बनाउन अत्यन्त आवश्यक छ । केन्द्रीय पदाधिकारीसरह मर्यादाक्रममा प्रदेश सभापतिको मर्यादा कायम गर्ने व्यवस्था तुरुन्त लागु हुनु पर्दछ,’ उनले भने । स्थानीय तह तथा आमनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार छनोट गर्दा त्यहाँ रहेका क्रियाशील सदस्यले गर्न पाउने व्यवस्था मिलाउन पनि सुझाव पठाइएको छ । पार्टीको तर्फबाट एउटै व्यक्तिलाई दुई पटकभन्दा बढी प्रधानमन्त्री नबनाउने, ४ पटकभन्दा बढी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको टिकट नदिने व्यवस्था गर्नुपर्ने सुझाव छ । साथै समानुपातिकतर्फ एक पटक मात्रै मनोनीत हुने अवसर प्रदान गरिनुपर्ने र यसबाट कांग्रेसमा विश्वास र आशा बढ्ने गण्डकी समितिको ठहर छ ।

कांग्रेसको निर्णय पद्दति अझै केन्द्रिकृत नै भएकोले सकेसम्म विकेन्द्रित बनाउन केन्द्रीय समितिको बैठक आलोपालो प्रदेशमा राख्नुपर्ने सभापतिको माग छ । कांग्रेसमा सबै तहको नेतृत्व हैकमवादी र असहज भएको गण्डकी कांग्रेसको निष्कर्ष छ । यस्तै, विदेशमा भएका नागरिकले पनि आफ्नो नेतृत्व चयन गर्न पाउनुपर्ने भन्दै विदेशबाट मतदानको व्यवस्था मिलाउन सुझाइएको छ । यस्तै, कांग्रेसको विरासत राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, वैदिक सनातन धार्मिक स्वतन्त्रता, शान्ति र सुशासनको रक्षा भएकोले विधानमा लोकतन्त्रको ठाउँमा प्रजातन्त्र राख्न सुझाव पठाएको छ ।

पोखरामा २ दिनसम्म चलेको सम्मेलनको पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन गरेका थिए । सम्मेलनमा गण्डकीका करिब ५ सय प्रतिनिधिले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width