हिजो भतेर घोप्ट्याइयो, आज नारिएर भोज

आदर्श समाज सम्वाददाता
मंसिर ३०, २०८०
sahabhoJ

पोखरा । माछापुच्छ्रे गाउँपालिका ५, रिभानका नरबहादुर कामीले गैरदलितलाई अघिपछि राखेर एउटै भाँडाबाट आफंैले खाना झिकेर खाए । उमेर पाकिसकेका उनले अहिलेसम्म यस्तो अनुभव गरेका थिएनन् ।

‘हामीलाई त देख्दा पनि साइत पर्दैन भन्छन् । यसरी गैरदलितसँगै बसेर भात खाने कल्पना कहाँ गर्नु ?,’ भावुक हुँदै उनले भने, ‘आज हामी पनि मान्छे भएका छौं । मान्छेहरुसँगै बसेर खाना खायौं । खुसीको सीमा छैन ।’ हिजोका दिनहरुमा विहे ब्रतबन्ध हुँदा दलित र गैरदलितको छुट्टै भान्छा हुन्थ्यो । खाना खान पाए पनि दलित समुदायलाई छुट्टै बसेर खानुपर्दा सन्तुष्टि हुन्थेन । ‘छोइन्छ भनेर पऽर राख्थे । ओख्खो आज कस्तो दिन आयो,’ उनी भन्छन्, ‘अझै के–के देख्न लेखेको छ ।’

त्यहीँका गमबहादुर विकले गण्डकीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापालाई खाना खुवाए । ‘उपल्लो जातका बाटो हिंड्दा हामी डिलमुनि झरेको हिजै त हो । कसैका घरमा गएर केही खाए भाँडा माझेर सुनपानी छर्किने चलन अझै गाउँमा छ,’ उनले भने, ‘यस्तो दिन पनि आउला भनेर कसैले सोच्ला र ? यत्रा मान्छेका अगाडि मन्त्रीलाई खाना ख्वाउँदा कम्ता आनन्द लागेन । संसार जितेजस्तो भयो नि !’ आजबाट गाउँमा विभेद अन्त्य भएको उनको ठम्याइ छ ।

कास्कीको रिभान त्यही ठाउँ हो, जहाँ अघिल्लो वर्ष ब्रतबन्धको भोज छोएको भन्दै १ जना दलित युवकमाथि दुव्र्यवहार भयो । उनीमाथि दुव्र्यवहारमात्रै भएन, भोजमा पाकेका सबै खानेकुरा जनप्रतिनिधिले घोप्ट्याइदिए ।

आफूमाथि विभेद गरिएपछि नारायण परियारले चैत ६ मा जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिए । उनले वडा सदस्य रामजी लामिछाने, छिमेकी सुजन लामिछाने, सरिता लामिछाने र सन्तोष परियारविरुद्ध उजुरी दिए । उक्त घटनाले गाउँमा केही समय अशान्ति छायो । दलित–दलितबीच नै फाटो आयो । तर, शुक्रबार गाउँपालिकाभरिका भद्रभलाद्मी भेला भएर एउटै भान्छाबाट खाना झिकेर खाए । अघिल्लो वर्षको घटनाबाट पाठ सिकेर त्यहाँका जनप्रतिनिधिले सहभोज आयोजना गरेका हुन् ।

जहाँ अघिल्लो वर्ष ब्रतबन्धको भोज छोएको भन्दै एक जना दलित युवकमाथि दुव्र्यवहार भएको थियो

‘रिभान सधैं नराम्रो रुपमा मात्रै बाहिर चिनियो । अघिल्लो वर्ष कति नराम्रो घटना भयो,’ वडाध्यक्ष नारायण पौडेल भन्छन्, ‘हामीले पनि केही राम्रो गर्न सक्छौं भनेर उदाहरण दिन सहभोज आयोजना गरिएको हो ।’ सहभोजमा दलित र गैरदलित एउटै भान्छाबाट आफंैले खाना झिकेर खाए । ‘मान्छेको उत्पतिमा विभेद थिएन । हामी धेरै जान्ने भएर विभेद गर्न थालेका हौं,’ दलितको हातबाट खाना खाएपछि मन्त्री थापाले भने, ‘पशुले छोएको खान्छौं हामी, मानिसले छोएको खान नहुने कस्तो विभेद हो ?’ उनले संविधानबाटै विभेद वर्जित भए पनि समाजबाट हट्न नसकेकोमा चिन्ता व्यक्त गरे । ‘संविधानले वर्जित गरेको छ, हामीले छोडेका छैनौं,’ उनले अघि भने, ‘हामीले विभेद बोकेर हिड्यौं, आफू ठूलो र अरु सानो भन्ने गलत सोच भैरह्यो । अब परिर्वतन हुनुपर्छ ।’

जातका नाममा हुने विभेद अझै जरो गाडेर बसेको पालिका अध्यक्ष मीनबहादुर गुरुङ बताउँछन् । ‘पालिकाका सबै एउटै हुन् भन्ने सन्देश दिन यो कार्यक्रम गरेका छौं । कतिपय अझै मन खोलेर आउन सकेका छैनन् । केही लाजले आएका छन्, कोही बाध्यताले आएका छन्,’ उनले भने, ‘पालिकातर्फबाट सबैलाई समान देख्छौं । विस्तारै टोलटोलमा सन्देश फैलाएर परिवर्तन ल्याउने छौं । विसंगति र विभेद आत्माबाटै अन्त्य गरौं भनेर यो कार्यक्रम राखेका हौं ।’

पालिका उपाध्यक्ष सीता अधिकारी पनि रुढीवाद मष्तिस्कबाट निस्किन नसकेको गुनासो गर्छिन् । ‘समयअनुसार रुपान्तरण हुनुपर्छ । धर्मसंस्कृति एकातिर छ, हामी अलि माथि उठ्नुपर्छ । परम्पराका बहानामा रुढीवाद सोच बोकेर हिंड्नु हुँदैन,’ उनले भनिन्, ‘घर र टोलबाटै यसको सुरुआत गर्नुपर्छ । यो राष्ट्रिय समस्या हो । भाषणमा मात्रै सीमित हुने होइन, कार्यान्वयनमा गयौं भने सुधार हुन्छ ।’ पहिलेभन्दा धेरै परिवर्तन भए पनि अझै नपुगेको उनले सुनाइन् । विगतमा घटेका घटना र विद्यमान समस्याका कारण पालिकाले नीति तथा कार्यक्रममार्फत नै विभेदमुक्त अभियानलाई जोड दिएको अधिकारीले बताइन् ।

दलित अधिकारकर्मी उदयकुमार नेपाली जातीय विभेद समाजको कलंक भएको बताउँछन् । ‘यो अभियान सुरुआतमात्रै हो, हरेक वडा र टोलमा लैजानुपर्छ । नत्र यो खाने बाहनामात्रै हुन सक्छ,’ उनले भने, ‘जातीय छुवाछूत सबैको समस्या हो । समाजको कलंक हो भन्ने हाम्रो दिमागमा नपसेसम्म यो निर्मूल हुँदैन ।’ उनले राजनीतिक पार्टीभित्र पनि जातीय विभेद रहेको भन्दै त्यसलाई हटाउन सबै लाग्नुपर्ने बताए । ‘आफ्ना पार्टीहरु क्रान्तिकारी भन्ने दाबी गर्छौं तर पार्टीभित्रै साथीहरुले विभेद भोगेका छन् । समाज परिवर्तनका लागि हिंड्ने भन्ने तर समस्या जकडिएर बसेको छ,’ उनले भने, ‘जनताबाट निर्वाचित जनप्रतिनिधिले नै विभेद गर्छन् । उनीहरुले त विभेद गर्नेलाई कारबाही पो गर्नुपर्ने हो ।’
संस्कारका नाममा मान्छेलाई पशुभन्दा तल्लो दर्जामा राखिएको भन्दै स्थानीयले गुनासो पोखे । ‘हामीलाई हेलाँहोचो गर्ने कस्तो संस्कार हो त्यो ? हामीलाई मान्छे भएर जिउन गाह्रो छ, मान्छेलाई त्यसको चिन्ता छैन,’ स्थानीय राजु नेपालीले भने, ‘२१ औं शताब्दीमा छौं तर व्यवहार अझै ढुंगेयुगकै छ । अब घरबाट निस्केपछि छिमेकीका घर पनि आफ्नै घरजस्तो हुनुपर्छ ।’

वडा ६ का अध्यक्ष टेकनाथ गौतम सार्वजनिक समारोहमा सँगै बसेर खाँदैमा मात्रै छुवाछूत अन्त्य नहुने तर्क गर्छन् । ‘सबैको दैलो ठेलोबाट भित्र पसेर चुलोसम्म जान पाउँछ कि पाउँदैन ? हामी बोल्दा मिठो बोल्छौं तर सहभोज कार्यक्रम हरेक व्यक्तिको चुलोमा जबसम्म प्रवेश हुँदैन, तबसम्म सफल हुँदैन,’ उनले भने, ‘दैलो कटेर चुलोमा पुग्नुपर्छ । त्यसको आँट अब हामीले गर्नुपर्छ ।’ माछापुच्छ«ेका अन्य वडाले पनि सहभोज कार्यक्रम राखेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width