बिउबिजन विधेयक : हाइब्रिड बिउ उत्पादन गर्न अनुमति चाहिने

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०८०
krishi samiti

पोखरा । गण्डकी प्रदेशमा व्यावसायिक रुपमा वर्णशंकर (हाइब्रिड) बिउ उत्पादन गर्ने किसान वा समूहले अनुमति लिनुुपर्ने प्रावधान राखेर प्रदेश बिउबिजन सम्बन्धी विधेयक प्रस्ताव गरिएको छ । प्रदेश सरकारले संसदमा दर्ता गराएको उक्त विधेयकमाथि अहिले संसदको सामाजिक विकास तथा कृषि समितिमा छलफलका क्रममा छ । घरायसी प्रयोजनका लागि हाइब्रिड बिउ उत्पादन भने अनुमति लिनुपर्ने छैन ।

यसैगरी, मूल वा स्रोत बिउ उत्पादन र बिउबिजनको जातीय विकास तथा सम्बद्र्धनका लागि पनि अनुमति लिनुर्ने व्यवस्था विधेयकमा गरिएको छ । प्रदेशमा परम्पराकालदेखि नै प्रयोग र अवलम्बन गरिँदै आएको स्थानीय बाली, जात वा प्रजातिको बिउबिजनमा कृषकको स्वामित्व, जात, छनोट, संरक्षण र वितरणको अधिकार रहने गरी विधेयक तयार गरिएको छ ।

प्रदेशमा बिउबिजन सम्बन्धी नीति निर्धारण गरी कार्यान्वयन गर्न बिउबिजनका सम्बन्धमा प्रदेश सरकारलाई आवश्यक परामर्श दिन र संघीय ऐनले तोकेका काम गर्न कृषि मन्त्रालयको सचिवको अध्यक्षतामा प्रदेश बिउबिजन समिति राखिने भएको छ । बिउबिजन उत्पादन, प्रशोधन तथा परीक्षण गरी गुणस्तरीय बिउको उपलब्धतामार्फत बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषकको सुविधा तथा आर्थिक हित कायम राख्न भन्दै गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश बिउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेको हो ।

प्रस्तावित विधेयक परिमार्जनका लागि समितिले बुधबार कृषिविज्ञहरुसँग राय लिएको छ । लामो समयदेखि कृषिको नीति निर्माणमा लागेका मदन थापा, बेनीबहादुर बस्नेत र बालकृष्ण गिरीले विधेयकमा समेटिनुपर्ने विषयहरु सुझावका रुपमा राखेका छन् ।

प्रदेशमा बिउबिजनसम्बन्धी परीक्षणका लागि प्रयोगशालाको प्रबन्ध गरिने व्यवस्था समेट्न उनीहरुले सुझाव दिए । स्थानीय तहमा गुणस्तरीय बिउबिजन उत्पादन र बिक्री वितरणमा सहज बनाउन सकिने, सामुदायिक बिउबिजन बैंक स्थापनाका लागि आवश्यक प्राविधिक र नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरुको सुझाव छ । बिउबिजनसम्बन्धी प्रदेशस्तरीय वासलात तयार गरेर त्यसैका आधारमा आधारमा बिउबिजनको उत्पादन र व्यवस्थापन गर्न सहज हुने विज्ञहरुले सुझाएका छन् । कार्यक्रममा सहभागीले रैथाने बिउ संरक्षण गर्दै उत्पादत्व बढानुपर्नेमा जोड दिए ।

कार्यक्रममा समितिका सदस्य विन्दुकुमार थापा, अशोककुमार श्रेष्ठ, वेदबहादुर गुरुङ, भक्तबहादुर कुँवर, राजीव गुरुङ, महेश भट्टराई, दिलमाया पौविले विधेयकमा थप्नुपर्ने विषय र अहिलेकोे परिवेशका बारेमा भनाइ राखे ।

सामाजिक विकास तथा कृषि समितिका सभापति फणीन्द्र देवकोटाले विधेयकमाथि घनीभूत छलफल गरिने बताए । कृषकको जीवनस्तर, खाद्य सुरक्षासँगसमेत सम्बन्धित रहेकाले समितिले यो विधेयकलाई बढी प्राथमिकतामा राखेको उनको भनाइ छ । विज्ञको राय लिएपछि अब कृषकलगायत अन्य सरोकारवालासँग पनि छलफल गरिने सभापति देवकोटाले बताए ।

आफ्नै कामसँग मन्त्री असन्तुष्ट

गण्डकी मुख्यमन्त्रीको सपना देखेका नवलपुरका महेन्द्रध्वज जिसी अघिल्लो चुनावमा सफल नभए पनि २०७९ को चुनावमा विजयी भए । संसदीय दलको नेताका लागि उनको नाम आए पनि पछि हटे ।

स्याङ्जाका भोजराज अर्याललाई पछि पार्दै गोरखाका सुरेन्द्रराज पाण्डे दलको नेता बने । सरकार गठनका बेला जिसीको नाम अर्थमन्त्रीका लागि चर्चामा थियो । सपथ खानेबेलामा उनी कृषिमन्त्री भए । कृषि मन्त्रालयको जिम्मा पाउनु त्यो पनि चौथो वरियतामा । उनी त्यसैबेलादेखि असन्तुष्ट थिए ।

उनी मन्त्री जिसीले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूले के काम गरेको छु भन्ने आफैंलाई थाहा नभएको बताएका छन् । सामाजिक विकास तथा कृषि समितिले बिउबिजन विधेयकमा विज्ञको सुझाव लिन बुधबार बसेको बैठकमा मन्त्री जिसीले भने, ‘कृषिमन्त्री भएपछि कृषिमा केके काम गर्नुभयो भनेर सोध्छन्, तर के गरे भन्ने म आफैंलाई थाहा छैन ।’ मन्त्रालयका सचिव र कर्मचारीलाई पनि के काम गरियो भन्ने थाहा नभएको उनको भनाइ थियो ।

मन्त्री जिसीले कृषिमा नीतिगत तहमै व्यापक छलफल गरेर अघि बढ्नु पर्नेमा जोड दिए । ‘हामी उडेर काठमाडौं पुग्ने कुरा गर्छौं, तर गाडीमा चढेर ब्याक गियरमा हिंडेको जस्तो भएको छ,’ उनले भने ।

मन्त्रालयबीच समन्वय नहुँदा प्रदेश सरकारको काम नभएको अनुभव उनले सुनाए । एकातिर सिंचाइको आवश्यकता पर्ने तर अर्कोतिर कुलो बनाउने कामले कहिल्यै लक्ष्यमा नपुगिने मन्त्री जिसीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width