लेखनाथ साहित्य प्रतिष्ठानको प्रतिभा छनोट समिति

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०८०
lekhnath paudel

पोखरा । लेखनाथ साहित्य पुरस्कार–२०८० वितरणका लागि प्रतिभा छनोट समिति गठन भएको छ ।

लेखनाथ साहित्य प्रतिष्ठान पोखराको बुधबार बसेको बैठकले प्रतिष्ठान सचिव एवं प्राज्ञ कृष्णप्रसाद पौडेलको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो । सदस्यमा सल्लाहकारत्रय डा. प्रतिभा पाण्डे, डा. शुक्रराज अधिकारी र कृष्णप्रसाद बास्तोला छन् ।

प्रतिष्ठान अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा बसेको बैठकले सोही समितिलाई कुन्तीदेवी साहित्य पुरस्कार–२०८० का लागि पनि प्रतिभा छनोटको जिम्मेवारी दिएको छ ।

लेखनाथ साहित्य पुरस्कारको राशि ५० हजार र कुन्तीदेवी साहित्य पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

२०६७ सालबाट वितरण सुरु भएको लेखनाथ साहित्य पुरस्कार पहिलो पटक नेपाली शिक्षा परिषद् काठमाडौंलाई प्रदान गरिएको थियो । सो पुुरस्कारबाट २०६८ मा प्राडा बासुदेव त्रिपाठी, २०६९ मा मदनमणि दिक्षित, २०७० मा जनकविकेशरी धर्मराज थापा, २०७१ मा डा. मोदनाथ प्रश्रित, २०७२ मा मुकुन्दशरण उपाध्याय, २०७३ मा बालकृष्ण पोखरेल सम्मानित भएका थिए ।

यसैगरी, २०७४ मा संस्कृतिविद् डा. जगमान गुरुङ, २०७५ मा भाषाविद वसन्तकुमार शम्र्मा नेपाल, २०७६ मा बैरागी काइँला, २०७७ मा सरुभक्त, २०७८ मा रमेश खकुरेल र २०७९ मा चूडामणि बन्धु सम्मानित भएका थिए ।
यस्तै, २०७९ बाट वितरण सुरु भएको कुन्तीदेवी साहित्य पुरस्कारबाट पहिलो पटक लोकगायिका हरिदेवी कोइराला सम्मानित भएकी थिइन् । लेखनाथकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको स्मृतिमा उनको परिवारबाट उक्त पुरस्कार स्थापना भएको हो ।

लेखनाथ साहित्य प्रतिष्ठान पोखराले लेखनाथ जयन्तीकै दिन हरेक वर्ष पुस १५ गते लेखनाथ जन्मस्थल अर्चलेमा आयोजित समारोहबीच उक्त पुरस्कार वितरण गर्दै आएको छ ।

साथै प्रतिष्ठानले लेखनाथ जयन्ती उपलक्ष्यमा लेखनाथ जन्मस्थलस्थित कविशिरोमणि आधारभूत विद्यालयका विद्यार्थीलाई कुन्तीदेवी छात्रवृत्तिअन्तर्गत विद्यालय पोशाक वितरण गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width