मधेशका सभामुखको टोली महेन्द्रगुफामा

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८१
Speaker

पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् ।

गण्डकी प्रदेश सभाको निमन्त्रणामा यस क्षेत्रको भ्रमणमा रहेका सभामुख मण्डलसहितको टोलीले आइतबार गुफा भ्रमण गरेको हो । त्यसक्रममा सभामुख मण्डलले पोखरा सुन्दरताको खानी भएको बताउँदै प्राकृतिक गुफालाई यसको प्राचीनता नमेटिने गरी संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले गुफाको आकर्षणले आफूलाई लोभ्याएको जनाउँदै प्रकृतिको सौन्र्दयतालाई मानव जातिले आत्मबोध गर्नुपर्ने बताए ।

गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले गुफा परिसरमा निर्माणाधीन संरचनाले यसको थप आकर्षण बढ्ने विश्वास व्यक्त गरे । उपसभामुख विनाकुमारी थापाले महेन्द्र गुफा विविधतायुक्त रहेको जनाइन् ।

टोलीले महेन्द्र गुफा सौन्दर्यकरणका विषयमा चासो राखेको थियो । टोलीलाई महेन्द्र गुफा र निर्माणाधीन परियोजनाका विषयमा महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समिति सदस्यसचिव शिशिर पौडेलले जानकारी गराएका थिए ।

सदस्यसचिव पौडेलले महेन्द्र गुफा र चमेरे गुफाको थप विकास तथा सौन्दर्यकरणका लागि गण्डकी प्रदेश सभाका सभामुख र उपसभामुखसमक्ष आग्रह गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग