पोखरा १३ का १ सय ९ जना विपन्न तथा मजदुरलाई निशुल्क स्वास्थ्य बिमा कार्ड

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०८०
Pokhara 13 News (3)

पोखरा । पोखरा १३ का १ सय ९ जना विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड पाएका छन् । वडा कार्यालय परिसरमा शुक्रबार आयोजित कार्यक्रममा उनीहरुलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरिएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरत खत्रीले उनीहरुलाई निशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरे । उनले निशुल्क स्वास्थ्य बिमा कार्ड विपन्न र मजदुरलाई उपलब्ध गराएपछि अब पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउने बताए ।

‘बिरामी भएपछि पैसा खोज्न जानुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सरकारले नै नागरिकलाई सामाजिक स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराएको हो,’ उनले भने । उनले स्वास्थ्य बिमा कार्डको सदुपयोग गर्नुपर्ने विषयलाई समेत सुझाएका छन् । निशुल्क स्वास्थ्य बिमा कार्डको नवीकरणबाट नेपाल सरकारको ढुकुटीमा १ अर्ब जम्मा हुने तर खर्च भने १० अर्ब रुपैयाँ रहेको उनले जनाए ।

वडाध्यक्ष किरण बरालले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्य स्वरुप वडाका विपन्न वर्गलाई निशुल्क स्वास्थ्य बिमा कार्ड उपलब्ध गराइएको बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हिमालयन आँखा अस्पतालमा बिरामीले निशुल्क स्वास्थ्य बिमा कार्डमार्फत सेवा पाउने वडाले जनाएको छ । स्वास्थ्य बिमा कार्ड वितरणले निम्न वर्गीय वडाबासीका समस्याको समाधान हुने विश्वास वडाको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width