दौंतरी शृंखलामा गफिए दीपक–जीवनसागर

आदर्श समाज सम्वाददाता
असाेज २७, २०८०
Dautari 2 newssd

पोखरा । तालैतालको सहर पोखरामा अनेकतालका कार्यक्रम भइरहन्छन् । साहित्यिक क्षेत्रसँग सम्बन्धित संस्थाहरुले शनिबारका लागि कार्यक्रम राख्न पालो नै लगाउनुपर्छ । नेपाली लेखक संघ, गण्डकीले साहित्यिक क्षेत्रमा नौलो अभ्यास थालेको छ । जसलाई उसले नाम दिएको छ ‘दौंतरी’ । संस्थाले गत चैतमा कार्यक्रमको शुभारम्भ शृखलामा साहित्यकार सरूभक्त र तीर्थ श्रेष्ठलाई मञ्चमा उभ्याएको थियो । शनिबार स्रष्टाहरू दीपक समीप र जीवनसागर भण्डारी दौंतरीमा गफिए ।

संस्थाको इतिहास, दौंतरी कार्यक्रमको विशेषता र दौंतरी शृंखलामा उभिँदै गरेका स्रष्टाहरू दीपक समीप र जीवनसागर भण्डारीको छोटो परिचयसँगै कार्यक्रमको थालनी गरे संस्थाका महासचिव सञ्जीव पौडेलले । त्यसलगत्तै उनले शृंखलाका दौंतरी सर्जक दीपक जीवनसागर भण्डारीलाई मञ्चमा गए । उनीहरूलाई मञ्चमा खादा लगाएर स्वागत गरे साहित्यकार सरूभक्त र तीर्थ श्रेष्ठले । संस्थाका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले दौंतरी कार्यक्रमको मेलो अघि बढाए ।

अधिकारीले दीपक र जीवनसागर भण्डारीका एक एक थान मुक्तक वाचन गरे । ४० कोे दशकको अन्तिमतिरबाट छापा माध्यममा मुक्तकलेखनबाट उदाएका साहित्यकार दीपक समीप र पचासको दशकसँगै साहित्य लेखनमा लागेका जीवनसागर भण्डारीका सिर्जना लेखन र मित्रताका आयामलाई अधिकारीले एकपछि अर्को गर्दै कोट्याउँदै गए । मुक्तक र गफगाफ सँगसँगै अगाडि बढाइएको कार्यक्रममा स्रष्टाद्वय समीप र भण्डारीले ३/३ मुक्तक वाचन गर्दै बिचबीचमा विविध सन्दर्भ प्रस्तुत गरेका थिए । रोचक सन्दर्भ र प्रभावशाली मुक्तकको समन्वयले कार्यक्रमलाई निकै स्वादिलो तुल्याएको थियो ।

तेस्रो शृंखलामा क्रियाशील कविद्वय अल्पज्ञानी र सञ्जीव पौडेललाई दौंतरीमा गफिने छन्

लमजुङमा जन्मेर पोखरामा आएका समीप र कास्की जिल्लामै जन्मेर साहित्य साधनामा लागिरहेका भण्डारी पोखराका साहित्यिक गतिविधिमा निरन्तर सक्रिय र स्थापित सर्जक हुन् । साथमा मित्रताभित्रका विविध सन्दर्भ ठट्यौली पाराले राख्दै कार्यक्रमको माहौललाई रमाइलो तुल्याएका थिए । बीचबीचमा अन्तर्सम्बन्धका केही गुह्य पक्षलाई कोट्याउने काम डा. अधिकारीले गरिरहेकै थिए । हलमा उपस्थित दर्शकहरू निकै चाख मानी मानी यी सबै कुरा सुनिरहेको देखिन्थ्यो । गफगाफले रमाइलो बनाएको माहौललाई मुक्तक वाचन गर्दा निकै गम्भीर पनि तुल्याउँथे समीप र भण्डारी । उनीहरूले देशभक्ति, राजनीति, सामाजिक विकृति, भ्रष्टाचार, माया प्रेम, समसामयिक सन्दर्भ एवं शृंगारिक विषयका पन्ध्र पन्ध्रओटा मुक्तक वाचन गरेका थिए ।

पूरै एक घण्टासम्म दुई जना मित्रका सिर्जना र अनुभव सुनेपछि फेरि मञ्चमा देखा परे कार्यक्रम सञ्चालक सञ्जीव पौडेल । उनले सल्लाहकार विश्व सिग्देल र नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठमार्फत दौंतरी सर्जक एवम् कार्यक्रमका सहयोगीहरूलाई मायाको चिनो प्रदान गरे ।

संस्थाले आगामी शृंखलामा त्यसभन्दा पछिल्लो पुस्तामा क्रियाशील कविद्वय अल्पज्ञानी र सञ्जीव पौडेललाई उभ्याउने घोषणा संस्थाले गरेको छ । कार्यक्रमका स्रष्टा दीपक समीपले सञ्जीव पौडेललाई र जीवनसागर भण्डारीले अल्पज्ञानीलाई खादा लगाएर शृंखला हस्तान्तरण गरे । यस सँगसँगै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै संस्थाका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले कार्यक्रमको समापन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width