गोमा पराजुलीको आत्मकथा ‘भीरको बाटो’

आदर्श समाज सम्वाददाता
असाेज १३, २०८०
bhirko bato

पोखरा । गोमा पराजुलीले लेखेको आत्मसंस्मरण ‘भीरको बाटो’ हालै पोखरामा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । कास्कीकै पहाडी गाउँमा जन्मे हुर्केर पोखराको गैरापाटनमा युवासँग वैवाहिक सम्बन्धमा जोडिएकी गोमाले जीवनमा आफूले गरेका संघर्षका विविध पाटा पुस्तकमा समेटेकी छन् ।

मध्यम आर्थिक अवस्थाको पहाडे व्राह्मण परिवारमा जन्मेकी उनको बिहे पनि पोखराकै सामान्य परिवारमा भयो । गोमाले सानै उमेरदेखि छोरी भएकै कारण आमाबाबुबाट भएको विभेददेखि बिहेपछिका सकसलाई पुस्तकमा गुथेकी छन् । सासुससुराको बुहार्तनदेखि मदिरामा मस्त रहिरहने पतिको व्यवहार खपेर उनीले बिताएको जीवनको कथा पढ्दा आङ नै जिरिंग पार्ने खालको छ ।

संघर्ष गरिन्, आफ्नै मेहनतबाट छोराहरुलाई राम्रो विद्यालयमा पढाइन् । दुवै छोराको बिहे पनि गराइदिइन् । छोरा बुहारी आआफ्नो गरिखान सक्ने भए । बिरामी पतिको निधन भए पनि छोराबुहारीबाट उनलाई ठूलो आश थियो । तर भइदियो उल्टो । बिहेपछि छोराहरुको व्यवहार फरक भयो । आमालाई सहनै नसक्ने खालका झुटा आरोप लगाएर चरित्रमाथि नै प्रश्न उठाए । आमाको मन हो, सहेरै बसेकी थिइन् । दुखले गरेर कमाएको सम्पत्तिमाथि नै छोराहरुले धावा बोले । आमालाई मुद्दा हाले । पहिला अदालतभित्रै क्यान्टिन चलाउँदा धेरैलाई सघाएकी गोमा आफै प्रतिवादी भएर अदालत छिर्नुपर्ने अवस्था आयो ।

छोराह?लाई अंश दिइसकेपछि गोमालाई लाग्यो, अब आफ्नै जिन्दगी जिउनुपर्छ । ५३ वर्षको उमेरमा स्कुल भर्ना भइन् । ससना बालबालिकालाई साथी बनाइन् । यसले उनलाई २ तरिकाले सहज भयो । पहिलो त बालबालिकासँग दिन बिताउन सहज भयो, दोस्रो अक्षर चिन्न पाइयो । पहिला स्कुटर चलाउने गोमाले गाडी चलाउन सिकिन् । अहिले उनी सहजरुपमा पोखराका सडकमा गाडी गुडाएर ओहोरदोहोर गर्छिन् ।

यी र यस्तै संघर्षका कथा ‘भीरको बाटो’ मा समेटिएको छ । परिवर्तनका लागि कार्य नेपाल कास्की र गोमा फाउन्डेसनको आयोजनामा तथा स्टडी सर्कल सोसाइटी, पोखराको संयोजनमा गत साता पोखरामा उक्त पुस्तकको परिचर्चा समेत गरिएको छ । कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले भीरको बाटोमा गोमाले आफूले जीवनमा भोगेका सबै पाटाहरु खुलाएको बताए । महिलाले सञ्चालन गरेका अधिकांश व्यवसाय तथा सेवा क्षेत्रमा सफल भएको दाबी गर्दै कोइरालाले सत्य बलियो हुने जनाए ।

साहित्यकार दुर्गाबहादुर शाह (बाबा) ले मानिसलाई दुख पर्दा भीरको बाटो पुस्तकले आत्मविश्वास बढाउने बताए । स्टडी सर्कल अध्यक्ष लामिछानेले एउटी आमाले खाइनखाइ छोराहरु हुर्काएर बुढेसकालमा उनीह?बाटै अपहेलित हुनुपर्ने अवस्था दुखदायी रहेको बताइन् ।

आफूले खनेको बाटोमा हिँड्न पाउनु पनि ठूलो सन्तुष्टिको कुरा भएको बताउँदै लेखक पराजुलीले यही बाटाका अनेक मोडमा भोगेका अनुभवलाई पुस्तकको आकार दिएको उल्लेख गरिन् । ५३ वर्षको उमेरमा विद्यालयमा भर्ना हुँदा जीवनको सबैभन्दा खुसीको दिन भएको उनले स्मरण गरिन् । कार्यक्रममा सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष कविता श्रेष्ठ, सञ्चारकर्मी कन्चन थापाले पुस्तक र लेखिका पराजुलीका विषयमा बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै