कागवेनीमा गण्डकी प्रदेशले सहयोग पठाउने, नागरिकको सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०८०
Gandaki cm call meeting for disaster

पोखरा । गण्डकी प्रदेश सरकारले  मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै सरकारी, गैरसरकारी संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गरे ।

आइतबार रातिको बाढीले कागबेनी क्षेत्रका घरहरु बगाउँदा सर्वसाधारण विस्थापित भएपछि दैनिकी असहज बनेको भन्दै मुख्यमन्त्री पाण्डेले सोमबार बिहान प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठक राखेका थिए ।

मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकले राहत व्यवस्थापन र बाढीबाट भत्किएको संरचना ब्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनकालागि मुस्ताङमा इन्धन अभाव भएपछि ३ हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङबाट माग भई आए अनुसार प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्यांकेट पठाउने, बाढीपहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भूसंरक्षण लगायतका कार्यहरुमा गण्डकी प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरुबाट आवश्यक समन्वय, स्रोत साधनको परिचालन र सहजीकरण गर्न बैठकले निर्देशन गरेको छ ।

मौसम प्रतिकुल भएकाले हेलिकप्टरबाट कागबेनीमा राहत पठाउन समस्या भएपछि तत्कालका लागि ट्याक्टरबाट इन्धन, कम्बल, टेन्ट लगायतका सामग्री पठाउने निर्णय बैठकले गरेको हो ।

लगातार झरी पर्दा बाढी, पहिरोबाट पुगेको क्षतिका बारेमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग मुख्यमन्त्री पाण्डेले जानकारी लिएका छन् ।

सोही क्रममा उनले प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत पठाएको विपद् व्यवस्थापन कोषको रकम खर्च गरेर विपद्का विषयमा सर्वसाधारण नागरिकलाई परेको समस्या छिटो समाधान गर्ने गरि अघि बढ्न निर्देशन दिए ।

थप सहयोग आवस्यक परेमा प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले सुरक्षा निकायसहित जिल्लास्थित प्रदेश मातहतका कार्यालयलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width