धान दिवसले सम्झाएको धान

अर्जुनदेव ज्ञवाली, नारायणप्रसाद पाठक, अमृत रेग्मी
असार १५, २०८०
Roipai

पृष्‍ठभूमि
यस वर्षको २० औं राष्ट्रिय धान दिवस यहि असार १५ गते शुक्रबारको दिन ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्‍ने नाराका साथ मनाइँदै छ । धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महिना कृषि कार्यका लागि विशिष्ट महत्वको छ । धान दिवसलाई रोपाइँ दिवस पनि भन्‍ने गरिन्छ । यसै दिनलाई दही चिउरा खाने दिनको रुपमा समेत लिइन्छ । नेपालीको प्रमुख खाद्यन्‍न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग जोडिएको छ । नेपालमात्र होइन विश्‍व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्‍न बाली हो । विश्‍वका झन्डै ४ अर्ब जनसंख्याको आधारभूत खाद्यान्‍न चामल हो । नेपालमा धानको महत्व मानिसको जन्म देखि मृत्यूसम्मको सामाजिक तथा सांस्कृतिक संस्कारको रुपमा महत्व छ । यसरी हेर्दा धानको आर्थिक, सामाजिक, सांस्कृतिक सबै खालको महत्व रहेको पाउन सकिन्छ ।

धानखेतीको परिदृश्‍य

भनिन्छ कृषि नेपाली अर्थतन्त्रको आधार स्तम्भ हो । कुल ग्राहस्थ्य उत्पादनको करिब १ चौथाइ हिस्सा कृषि क्षेत्रले ओगट्छ । कृषि आफैंमा नेपाली अर्थतन्त्रको मूल हिस्सा हो भने कृषि उपक्षेत्रको सबै भन्दा बलियो हिस्सा धान खेती हो किनभने धान खेतीले मात्रै कुल ग्राहस्थ्य उत्पादनमा ५ प्रतिशत र कृषितर्फको कुल ग्राहस्थ्य उत्पादनमा करिब १५ प्रतिशत हिस्सा ओगटेको छ । नेपालमा करिब ३० लाख ९१ हजार हेक्टरमा जमिनमा खेती गरिन्छ जसमध्ये करिब आधाआधि क्षेत्रफलमा धान खेती गरिएको पाइन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २०७९ को धान उत्पादनको तथ्यांकलाई हेर्दा वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा धान लगाइएको क्षेत्रफलमा झिनो वृद्धि (०.२६ प्रतिशत) भई कुल क्षेत्रफल १४ लाख ७७ हजार ३ सय ७८ हेक्टर भए तापनि उत्पादन र उत्पादकत्व क्रमश: ८.७ र ७.८ प्रतिशतले घट्न गई क्रमश: ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टन र ३.५ मेट्रिकटन प्रति हेक्टर रहेको छ । यसले धान आयातको अहिलेको अवस्थालाई झनै चिन्ताजनक बनाउन सक्ने देखिन्छ ।

नेपालमा कुल धान खेती हुने भूगोलमध्ये अधिकतम धान उत्पादन तराईका जिल्लाहरूमा हुने गर्छ । कुल उत्पादनको करिब ७० प्रतिशत हिस्सा नेपालको तराई भूभागमा हुने भएकाले गर्दा तराईलाई नेपालको खाद्यान्‍न भण्डारको संज्ञा समेत दिइन्छ । देशको कुल भूभागको सबैभन्दा धेरै क्षेत्रफल (४२ प्रतिशत) ओगट्ने पहाडमा कुल धान उत्पादनको जम्मा २६ प्रतिशत हिस्सा रहेको छ भने बाँकी ४ प्रतिशत धान उत्पादन हिमाली भूभागमा हुने गर्छ । त्यस्तै, नेपालमा धानको उत्पादनको प्रवृति हेर्दा वर्षे धानले करिब ९३ प्रतिशत हिस्सा ओगटेको छ भने चैते धानले जम्मा ७ प्रतिशत हिस्सा ओगटेको पाइन्छ ।

उत्पादन र आयातको अवस्था

नेपाल सरकारले चालु (२०७९/८०) आर्थिक वर्षमा धान लगायत प्रमुख खाद्यान्‍नको आयातमा ३० प्रतिशतले कमी ल्याउने लक्ष्य तथा घोषणा गरेको थियो । संयोग भनौं या के भनौं, देशको अर्थ व्यवस्थामा देखिएको बाह्य प्रभावलाई न्यूनीकरण गर्न नेपाल सरकारले गरेको आयातमा कडाई र रुस युक्रेन युद्धको कारण विश्‍व खाद्यान्‍न बजारमा देखिएको गहुँको अधिक मागलाई व्यवस्थित गर्नका लागि भारतले गहुँ निर्यातमा गरेको कडाइका कारण चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म खाद्यान्‍न आयातमा ३३ प्रतिशत कमी आएको थियो ।

करिब ३ दशक पहिलाको धान निर्यातकर्ताको रुपमा आफ्नो पहिचान बनाएको देशले आयातकर्ताको पहिचान बनाउँदै गएको छ । पछिल्लो समयमा धानको आयात किन बढ्दै गएको छ त ? यसका पछाडिका मुलभूत कारणहरू निम्नानुसार रहेका छन् । जनसंख्यामा भएको वृद्धिसँगै खाद्यान्‍नमा देखिएको बढ्दो माग, खानेबानीमा आएको परिवर्तन (उत्पादित मोटा चामल भन्दा आयातित मसिना र बास्नादार चामल प्रति उपभोक्ताको बढ्दो अभिरुची र दुई छाक भात खाने संस्कार), सडक सञ्‍जालको विस्तारसँगै सुधारिएको खाद्यान्‍न वितरण प्रणाली र बजार केन्द्रको बढ्दो विकास, उपभोक्ताको क्रयशक्तिमा देखिएको वृद्धि, भू–उपयोगमा आएको परिवर्तन, सहर केन्द्रित बसाइसराइँ र बाँझो जग्गा, पछिल्लो २० वर्षमा ०.३६ प्रतिशतले धानखेतीको क्षेत्रफलमा आएको संकुचन, उच्च उत्पादन लागत, कृषकको न्यून प्रतिस्पर्धात्मक क्षमता र न्यून उत्पादन उत्पादकत्व जस्ता कारणहरू मुख्य छन् ।

दुई छाक भातको संस्कारलाई अंगीकार गर्ने हो भने दुई बाली धान खेती गर्नुपर्छ ।

उत्पादन र उत्पादकत्वलाई सोझो रुपमा प्रभाव पार्ने तत्व भनेको लगाइने बालीको जात प्रमुख हो । नेपालमा धानको उत्पादन र उत्पादकत्व तुलनात्मक रुपमा न्यून हुनुमा यहाँ लगाइने धेरैजसो जातहरू (८५ प्रतिशत) खुला सेचित हुनु पनि एक हो । उत्पादन र उत्पादकत्वको तथ्यांक एकातिर छ भने, अर्कोतिर खाद्यान्‍न वासलातको । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रर्वद्धन केन्द्र, ललितपुरको २०७६ को उपभोग्य खाद्यान्‍नको वासलातको तथ्यांक हेरी प्रदेश अनुसारको खाद्यान्‍नको माग आपूर्तिको विश्‍लेषण गर्दा बागमती प्रदेश बाहेक सबै प्रदेशहरू खाद्यान्‍न बचतको अवस्थामा रहेको पाइएको छ । अत्याधिक जनसंख्या र सहरीकरणको कारण खाद्यान्‍नको माग बढी हुन गई बागमती प्रदेशमा खाद्यान्‍न न्यून भएको पुष्‍ट्याई केन्द्रको रहेको छ । जे होस् उपलब्ध तथ्यांकलाई मात्र हेर्ने हो भने एकातिर नेपालमा वार्षिक करिब १६ लाख मेट्रिक टन खाद्यान्‍न बचतको रुपमा रहेको देखिन्छ भने अर्कोतिर, नेपालको करिब २१ प्रतिशत घरपरिवारमा पर्याप्‍त खानेकुराको अभाव रहेको तथ्यांक पनि भेटिन्छ ।

अब के गर्ने त ?

धान र भातमा आधारित हाम्रो खाद्य संस्कारलाई निरन्तरता नै दिने हो भने हामीसामु दुईवटा विकल्पहरू छन् । पहिलो विकल्प उत्पादन वृद्धि हो भने दोस्रो विकल्प उत्पादकत्व वृद्धि । उत्पादन वृद्धि गर्नका लागि अन्य कुरा यथावत वा सकारात्मक रहेको अवस्थामा धान खेतीको क्षेत्रफल विस्तार गर्दै मूलत चैते धान (जसको उत्पादन वर्षे धानको तुलनामा २०–२५ प्रतिशतले बढी छ) लाई प्रर्वद्धन गर्नु आवश्यक रहेको छ । उत्पादकत्व वृद्धिको विषयलाई हेर्दा धान खेतीमा उन्‍नत बीउ र प्रविधिको प्रयोग गरी न्यून प्रति एकाई लागत र क्षेत्रफलबाट अधिकतम उत्पादन लिनुको विकल्प देखिँदैन । यसरी उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा दिने हो भने हाल देशमा देखिएको करिब ५ लाख टन चामलको वार्षिक मागलाई पूर्ति गर्नका लागि हालको उत्पादकत्व (३.४ मेट्रिकटन प्रति हेक्टर) लाई बढाएर कम्तीमा ४.१५ मेट्रिकटन प्रति हेक्टर बनाउनु आवश्यक रहेको छ ।

उपरोक्त विकल्पलाई रणनीतिगत गरी व्यावहारिक बनाउनका लागि देहायका उपायहरू अवलम्बन गर्नु आवश्यक देखेका छौं । पहिलो उपाय, दुई छाक भातको संस्कारलाई अंगीकार गर्ने हो भने दुई बाली धान खेती अवलम्बन गर्ने, त्यसका लागि दुई छाक भात र दुई बाली धान खेती रणनीति उत्तम ठहर्छ । दोश्रो उपाय, एक छाक मात्र भात खाइ अर्को छाक भात बाहेकको वस्तु खाने हो भने सबैभन्दा उत्तम विकल्प भनेको एक छाक भात एक छाक रैथाने बाली उत्तम रणनीति ठहर्छ । जसले गर्दा खाद्यान्‍नमा देखिँदै गएको परनिर्भरता हट्दै गई स्थानीय र रैथाने बाली उपभोगले खाद्य र पोषण सुरक्षामा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । किनभने नेपालमा खाद्य महत्व बोकेका करिब २ हजार ५ सय प्रकारका रैथाने बालीहरू पाइन्छन् । जसले उन्‍नत बालीको जातीय विकासमा महत्वपूर्ण भूमिका खेल्छन् साथै उत्पादन र उत्पादकत्व वृद्धि गर्न समेत मद्दत गर्छन ।

उल्लिखित रणनीति र विकल्पको कार्यान्वयनका लागि अवलम्बन गर्नुपर्ने अन्य विषय र व्यवस्थाहरू निम्‍नानुसार हुन सक्छन् ।

  • धान प्रर्वद्धनका लागि उपयुक्त मसिनो तथा बास्नादार धानका जातहरूको लागि अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र (इरी) सँग नेपाल कृषि अनुसन्धान परिषद्‍ मार्फत प्राविधिक सहयोग लिने ।
  • चैते धान काट्ने समयमा हुने वर्षाले पाकेको धानलाई क्षति नगरोस भन्‍नाका लागि उत्पादन स्थलमा धान सुकाउनका लागि सोलार ड्रायरहरूको व्यवस्था गर्ने ।
  • नेपालमा धानखेतमा औसत नाइट्रोजन ४६ केजी, फस्फोरि २६ केजी र पोटास १० केजी प्रति हेक्टर प्रयोग भएको पाइन्छ । यसलाई वृद्धि गरी सिफारिस बमोजिम तीनवटै मलहरू १००:३०:३० पुर्‍याउनु जरुरी छ । यसका साथै, माटोको सन्तुलित व्यवस्थापनका लागि समेत प्रांगारिक मलको रुपमा हरियो मल प्रर्वद्धन कार्यक्रमलाई जोड्ने ।
  • गुणस्तरीय र उन्‍नत जातको बीउको प्रयोग गर्ने जसको प्रयोगको कारणले मात्र पनि २० देखि २५ प्रतिशत सम्म उत्पादनमा वृद्धि हुन जान्छ । तसर्थ, राष्ट्रिय स्तरमा धानमा गुणस्तरीय बीउको प्रतिस्थापन दर वृद्धि गर्ने ।
  • सिँचाइ अर्को महत्वपूर्ण पाटो रहेको छ । नेपालमा खेती गरिने क्षेत्रफलको करिब एक तिहाई अर्थात करिब १० लाख हेक्टर क्षेत्रफलमात्र सिंचित क्षेत्रफलको रुपमा रहेको छ । धान खेती हुने करिब १५ लाख हेक्टर मध्ये बाँकी ५ लाख हेक्टरमा सिँचाइको सुविधा पुगेको छैन, जहाँ आकाशे पानीको भरमा खेती भइरहेको छ । नेपालको प्रमुख खाद्यान्‍न बालीको रुपमा रहेको धानबाली लगाइने क्षेत्रफलको करिब एक तिहाई क्षेत्रफलमा आकाशे पानीको भरमा खेती गर्नु निकै दुखदायी कुरा हो । जसलाई यथासक्य सिँचाईको व्यवस्था गर्नु आवश्यक रहेको छ । विशेषत चैते धानको लागि फागुन देखि जेठ अन्तिमसम्म सिँचाइका लागि निरन्तर पानी हुने सुनिश्चितता गर्ने ।
  • धानबालीमा आधारित कृषिको व्यावसायीकरण, आधुनिकीकरण र औद्योगिकरणका लागि कृषकलाई सरल र सहज वित्तीय साधनको पहुँच सुनिश्‍चित गर्नु अर्को महत्वपूर्ण विषय छ । त्यस्तै, धान उत्पादनको लागतलाई घटाउन जमिनको चक्लाबन्दी कार्यलाई प्राथमिकता दिई यान्त्रिकीकरणमार्फत व्यावसायीकरणमा जोड दिने ।
  • बजार व्यवस्थापन अर्को महत्वपूर्ण विषय बनेको छ । एकातिर उत्पादित उपजको वितरण प्रणाली सुदृढ गर्दै उपजको बजार मूल्यलाई सन्तुलित राखिराख्‍नु, अर्कोतिर कृषकको न्यूनतम मुनाफा सुनिश्चित गर्दै कृषकलाई थप उत्पादन र बजारीकरण तर्फ प्रोत्साहित गर्नु महत्वपूर्ण छन् । बजार व्यवस्थापनको विषयले उपभोक्ताको माग र आपूर्तिको विषयलाई समेत समेट्ने भएकोले विशेषत धान बालीको विषयमा कुरा गर्दा उपभोक्ताको माग अनुसारका मसिना र बास्नादार जातहरूको विकास गरी खेती गर्नु अहिलेको आवश्यकता बनेको छ । बजारीकरणकै सन्दर्भमा, सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण तथा धान खरिद गर्ने कार्यलाई नियमित, पारदर्शी र भरपर्दो बनाइ निरन्तरता दिने ।

मुख्य लेखक ज्ञवाली वरिष्‍ठ कृषि विकास अधिकृत, सह–लेखकद्वय: पाठक कृषि अर्थ विज्ञ र रेग्मी बाली विकास अधिकृत हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width