विस्मृतिमा अन्नपूर्ण प्रथम हिमाल

आदर्श समाज सम्वाददाता
जेठ २१, २०८०
Annapurna Aarohan Diwash News Photo

पोखरा । अन्नपूर्ण प्रथमले हिमाल आरोहणको गर्विलो इतिहास बोकेको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण प्रथम आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेका थिए । उनको साथमा थिए, लुई लिचेनेल ।

जबकि त्यसको ३ वर्षपछि मात्रै सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरो चुमेका थिए । नेपालमा हिमाल आरोहणको ७३ वर्ष पुगेको छ । हर्जोगले अन्नपूर्णमा पाइला टेकेकै दिनलाई पछिल्ला वर्षमा अन्नपूर्ण दिवसरुपमा मनाइँदै आएको छ । यही अवसरमा शनिबार अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले गरेको कार्यक्रममा आरोही मौरिसलाई सम्झिँदै अन्नपूर्णको चिन्ता गरियो ।

जलावायु परिवर्तनको मारमा यतिबेला सबैभन्दा हिमाल परेको चिन्ता सरोकारवाला गर्छन् । चाँदी झंै टलक्क टल्कने हिमालका चुचुरामा सिजनमै पर्याप्त हिउँ नपर्दा कालापत्थरमा परिणत भइरहेका छन् ।
गण्डकी प्रदेशकि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशील सिंखडाको हिमाल जोगाउन र प्रवद्र्धनमा भूमिका खेल्ने प्रतिबद्धता छ । अन्नपूर्ण हिमाल गण्डकीको कला, संस्कृति र पर्यटन जोडिएको बताइन् । ‘अन्नपूर्ण हाम्रो गौरव हो, सम्पत्ति हो । यसलाई अझै प्रवद्र्धन गर्न अब सरकारले के गर्ने भन्ने विषयमा गण्डकी प्रदेश सरकारको चासो रहन्छ,’ उनले भनिन् ।

पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले पर्यटनलाई आयआर्जनसँग जोड्नुपर्ने बताइन् । पोखराको पर्यटन हिमालमा निर्भर रहेकाले हिमाल बचाउन महानगर चिन्तित रहेको उनको भनाइ छ ।

पर्यटन व्यवसायी लक्की कार्कीले अन्नपूर्ण हिमाल गण्डकी प्रदेशको समृृद्धिको कोशेढुंगा भएको बताइन् । पछिल्लो समय हिमाल जोगाउन चुनौती सिर्जना भएको सुनाइन् । जलवायु परिवर्तनको असर हिमालमा पर्दा पर्यटन व्यवसाय धरासायी बन्ने निश्चित रहेको उनको भनाइ छ ।

मौरिस हर्जोगले अन्नपूर्णमा पाइला टेकेकै दिन ३ जुनलाई अन्नपूर्ण दिवसरुपमा मनाइने गरिन्छ

नेपाल पर्वतारोहण संघ अध्यक्ष नीमा नुरु शेर्पाले जलवायु परिवर्तन हिमाल कालापत्थरमा बन्नेमा सहमत छन् । कसरी असर कम सकिन्छ विषयमा गम्भीर बन्नुपर्नेमा उनको जोड छ ।

पर्वतीय पर्यटनलाई सरकारले नचिनेको शेर्पाको गुनासो गरे । ‘यदि सरकारले चिनेको खण्डमा हामी कसैसँग पनि भर पर्न पर्दैैन । हाम्रो प्रतिस्पर्धी पनि नभएको । हामीले गर्न सक्ने, हाम्रो पहिचान बन्ने र नेपालीलाई नै चिनाउन सक्ने पेसको रुपमा स्थापित गर्न सक्छौं’, उनले सुनाए । पर्वतीय पर्यटनका क्षेत्रमा ४ पुस्ताको योगदान रहेकै कारण अहिलेको स्थितीमा आएको बताए ।

अन्नपूर्ण आरोहणले गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको तर प्राथमिकतामा नपरेकोमा गुनासो छ । पर्वतीय पर्यटनको विकास नभए समग्र पर्यटन क्षेत्र पछाडि पर्ने पर्यटनकर्मीले बताए ।

नेपाल पर्वतारोहण संघ गण्डकी अध्यक्ष शेषकान्त शर्माले अन्नपूर्ण गण्डकी प्रदेशको सम्बृद्धिको आधार बन्नुपर्ने बताए । अन्नपूर्ण जेठो हिमाल भए पनि किलर माउन्टेनको परिचय बनाएकै कारण आरोही कम भएको उनको अनुमान छ ।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले गण्डकी प्रदेशको समृद्धिको आधार हिमश्रृंखला भएको बताए ।

पोखरा पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानले अन्नपूर्ण आरोहणकै कारण पोखरा र हिमाल आसपासको पर्यटन प्रबद्र्धन भएको बताइन् ।

सन् २०२१ अप्रिलमा ६ जना नेपाली महिला आरोहीले अन्नपूर्ण हिमाल आरोहण गर्दै नयाँ कीर्तिमानी बनाएका थिए । २०७८ बैशाखमा गोरखाकी पूर्णिमा श्रेष्ठले पनि अन्नपूर्ण चढिन् ।

गएको बैशाख २ गते कतारी राजकुमारी शेखा अस्मा अलथानीले अन्नपूर्ण प्रथमको आरोहण गरेकी थिइन् । सन् १९७८ मा १ अमेरिकी र १ चेकोस्लोभाकियाकी महिलाले अन्नपूर्णको सफल आरोहण गरेका थिए । देवी र जेठो हिमालको उपमा पाएको अन्नपूर्ण प्रथमको चुचुरोमा पाइला राख्न लालयित आरोही वर्सेनि बढ्दैछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width