गण्डकीका मुख्यमन्त्री पाण्डेले भने : मलाई सलामी र स्कटिङ चाहिँदैन

आदर्श समाज सम्वाददाता
जेठ १२, २०८०
chief mimister (1)

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आफूलाई जिल्लाको सीमा क्षेत्रसम्म लिन र पुर्‍याउन जाने आउने गरी स्कटिङको कार्यका साथै सलामी दिने प्रथा बन्द गर्न निर्देशन दिएका छन् । उनले लमजुङ जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै त्यस्तो बताएका हुन् ।

कार्यालय प्रमुखहरुलाई निर्देशन दिने क्रमको अन्त्यमा उनले भने, ‘एक दुई कुराहरू म अनुरोध गर्न चाहन्छु, कि मलाई सलामी दिने, म आउँदा– जाँदा जिल्लाको सीमाक्षेत्रसम्म लिन र पु¥याउन प्रहरी स्कटिङमा जान पर्दैन । साथै, सलामीको काम पनि नगर्नु होला ।’ गृहमन्त्रालयकै मन्त्री आउँदा तपार्इंको जागिरको प्रश्न रह्यो भने त्यो बेग्लै हो अन्यथा मेरा लागि भनेर त्यसका लागि समय, पेट्रोल र जनशक्ति खर्च नगर्नु होला उनले जोड दिँदै दोहो¥याएर भने ।

जिल्लाका समस्या समाधान गर्ने सन्दर्भमा चेपे खोला ए जलविद्युत आयोजनाले राइनासटारको सिँचाइमा पार्न सक्ने प्रभावका बारेमा आफू परिचित भएको जानकारी उनले दिए । ‘त्यो जलविद्युत आयोजना रहेको ठाउँ मेरो निर्वाचन क्षेत्र पनि हो, मैले त्यो आयोजनाको मुहानमै पुगेर पनि हेरेको छु । मेरो बाह्य आँखाले सिँचाइ आयोजनाको मुहानमाथि जलविद्युत आयोजनाबाट निकास हुने पानी खस्छ भन्ने विश्वास गर्न सकेको छैन । तर आयोजनाका प्राविधिकहरूले मुहानभन्दा माथि नै पानी खस्छ भनेर जिद्धि कसेका छन् । यदि त्यसो भएन भने ‘यो आयोजना पनि रहन्न र तिमीहरूको साथमा हामी पनि हुन्नौं’ भनेको छु ।’ उनले भने, ‘त्यो सम्पन्न नहुँदासम्म भन्न सकिने भएन तर मैले प्रष्टसँग आयोजनाका प्रवद्र्धकहरूलाई भनेको छु कि भोलि आयोजना सम्पन्न भएपछि बोली फेर्न पाउन्नौं ।’

उनले कार्यालय प्रमुखहरूलाई निर्देशन दिने क्रममा भने, ‘अहिले संघीयता, प्रदेशका बारेमा पनि प्रश्न उठाउन थालिएको सुनिन्छ । यो लहड, रहर वा चाहनाले मात्र आएको होइन, यसका पछि लामो बलीदानीको इतिहास छ ।’ त्यो सेवाग्राहीलाई हामीले दिने सेवामा के कति सहजता, पारदर्शिता र सुशासनको छनक सर्बसाधारणले गर्न सक्छन् त्यसमा पनि निर्भर गर्छ, सेवाग्राही सन्तुष्ट भएमा मात्र बल्ल हामीले सेवा दिएको अर्थ रहन्छ यसतर्फ लाग्नु होला उनले भने । ३ तहका सरकार छन् र सबैको दायित्व फरक फरक छन् । उनले भने, ‘जुन तहको कार्यालय भएता पनि जनतालाई दिने सेवा हो, हामीले जनतालाई दिने सेवा के कति सहज वा सेवाको सुविधाको पहुँच के कति सहज छ भन्नेमा ध्यान दिनु पर्छ ।’

उनले विपद व्यवस्थापनका लागि प्रदेश सरकारसँग १० करोड र जिल्लामा १० लाख रुपैयाँ हुनुपर्छ भन्ने हाम्रो धारणा छ, त्यो अनुसार काम हुन्छ, विपदका सामग्रीको आवश्यकता के कति छ माग गर्न भनिसकेको स्मरण गराए ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उनले जिल्लाको वस्तुगत स्थिति र केही समस्या तथा चुनौती, अभाव आदिका बारेमा प्रकाश पारेका थिए । उनले उदीपुर सडक खण्डलाई ड्राइभर्सनबाट सञ्चालन गर्न नसकेमा लमजुङको उत्तरी क्षेत्रमात्र नभई मनाङमा समेत नाकाबन्दी हुने स्थिति छ भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गरे । त्यस्तै, विपद व्यवस्थापनको सन्दर्भ पनि उजले उठाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width