सुकिलो योगदानको चहकिलो सम्मान

२ लाख राशिको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार किरण खरेललाई

विजय नेपाल
वैशाख २३, २०८०
kiran kharel

पोखरा ।  गीतकार किरण खरेल ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ बाट सम्मानित भएका छन् ।

पोखरामा शनिबार आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सो पुरस्कार अर्पण गरे । २ लाख रुपैयाँ राशिको यो पुरस्कार नेपाली संगीत क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार भएको आयोजक पोखरेली युवा सांस्कृतिक परिवारको दाबी छ ।

पुरस्कार ग्रहण गर्दै ८५ वर्षीय गीतकार किरण खरेलले, ‘नेपाली गीतसंगीतका धरोहर अम्बर गुरुङको सुकिलो योगदानको चहकिलो सम्मान’ हो भने । पहिलो पटक नै पुरस्कारका लागि आफूलाई योग्य ठानेकोमा आभार व्यक्त गर्दै उनले यो अविष्मरणीय र गौरवको क्षण भएको बताए ।

फिल्म ‘माइतीघर’ को यो हो मेरो प्राणभन्दा प्यारो गीतका रचयिता किरणले सयभन्दा बढी फिल्ममा गीत लेखिसकेका छन् । उनका कालजयी गीतको मुर्छना सधैं गुञ्जिँदो छ । १९९५ सालमा काभ्रेपलाञ्चोका खरेलथोकमा जन्मिएका उनले १९ वर्षको छँदा २०१४ सालमा ‘ए दूरका सितारा’ गीत रेकर्ड गराएका उनका ४ गीतिसंग्रह प्रकाशित छन् । शनिबार नै ‘ए दूरका सितारा’ संग्रह विमोचन भयो । जिन्दगीलाई जित होइन हारले स्वागत गरी, नमान लाज यसरी, वनमा फुल्यो फूलैफूल, लुकुँ लुकुँ लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा, कसले चो¥यो मेरो मन, मन्दिरमा छ कि मूर्तिमा माया, हिमालको काखमा छ सानो मेरो गाउँ लगायत गीत उनैले लेखेका हुन् । २०३९ सालमै छिन्नलता पुरस्कार प्राप्त गरेका उनले गोरखा दक्षिण बाहु लगायत दर्जनौं पुरस्कार तथा सम्मान पाएका छन् ।
नेपाली गीतसंगीत क्षेत्रका सदावहार खरेलले नै परम्परागत गीति लेखनको मानक भत्काएका थिए । गीतमा आधुनिकताको प्रयोगको सुरुआत उनैबाट सुरु भएको बताउँछन्, साहित्यकार सरुभक्त । नेपाली साहित्यमा काव्यलेखनलाई जसरी महत्व दिइन्छ, गीत लेखनलाई त्यत्तिकै महत्व नदिएको उनले बताए । ४ वेदमध्ये सामवेद गीतिवेदको रुपमा रहेको उल्लेख गर्दै सरुभक्तले यसको महत्व प्लेटोको पालामा पनि उत्तिकै रहेको बताए । नेपाल संगीत नाट्य एकेडेमीका पूर्व कुलपति समेत रहेका प्रतिभा छनोट समिति संयोजक सरुभक्तले ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ को अक्षयकोषमा हालसम्म करिब १८ लाख जम्मा भएको बताए ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले अम्बर गुरुङलाई गीतसंगीतको ‘सगरमाथा’ भनी चिनाए । किरण खरेललाई प्रकृतिमा रम्न सक्ने र गीतको साम्राज्य खडा गरेका धरोहर हो भने । ‘संसार लय छ, त्यसैले गति छ,’ श्रेष्ठले भने, ‘किरण खरेलका गीतमा पनि त्यस्तै भेटिन्छ । गीतमा संवाद गराउन सक्ने सामथ्र्य छ ।’

अम्बर र किरणको पोखरेली साइनो
२०२४ सालमा अम्बर गुरुङ र किरण खरेल पोखराको एउटा कार्यक्रममा सहभागी हुन आएका थिए । ‘रुपरेखा संगीत’ कार्यक्रममा भाग लिन दार्जिलिङबाट अम्बर गुरुङका साथका शान्ति ठटाल, अरुणा लामा, शरण प्रधान, गोपाल योञ्जन, रञ्जित गजमेर लगायतका स्रष्टा आएका थिए । त्यो कार्यक्रमका सञ्चालनको जिम्मा उनै किरणले लिएका थिए । त्यसबेला उनी रेडियो नेपालमा कार्यरत थिए । किरणभन्दा केही महिनामात्र जेठा अम्बर गुरुङको स्मरण गर्दै उनले अम्बर गुरुङ नेपाली गीतसंगीतका धरोहर भएको चिनाए ।

नेपाल संगीत नाट्य एकेडेमीका संस्थापक कुलपति अम्बर गुरुङ नेपाली गीतसंगीतका धरोहर हुन् । नेपाली राष्ट्रगानका संगीतकार उनको स्मरणमा पोयुसापले अम्बर गुरुङ राष्ट्रिय संगीत कोषको स्थापना गरी नेपाली सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने स्रष्टालाई सम्मानको सुरुआत गरेको पोयुसाप अध्यक्ष उपेन्द्र पौडेलले बताए । २०७२÷७३ सालतिर विक्रम गुरुङको नेतृत्वमा भेटेरान ग्रुप अफ हङकङले आयोजना गरेको कार्यक्रमबाट बचत करिब ५ लाखबाट कोषको सुरुआत भएको हो । त्यस्तै नेपालय, नेपथ्य, पलेटी, गण्डकी प्रज्ञा प्रतिष्ठान समेत गरी विभिन्न शुभचिन्तकले कोषमा रकम सहयोग गरेका हुन् । आगामी दिनमा कोषलाई कम्तीमा २५ लाखसम्म पु¥याउने सरुभक्तले बताए ।

कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, अम्बर गुरुङका सुपुत्र राजु गुरुङ, पोयुसाप सचिव डा. चैतन्य अधिकारीले अम्बर गुरुङको नाममा स्थापित पुरस्कार किरण खरेललाई अर्पण गर्दा पुरस्कार आफैंमा पुरस्कृत भएको उल्लेख गरे ।
२०३४ सालमा स्थापित पोयुसाप नेपाली साहित्य, संगीत र कला क्षेत्रमा क्रियाशील छ । संस्थाले गत महिना मात्र पोखरेली कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को रथारोहण गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width