चिनियाँ पर्यटकको प्याराग्लाइडिङ उडान

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०८०
Chinese Tourists

पोखरा। नयाँ वर्षको पूर्व सन्ध्यामा गत बिहीबार चार्टर्ड उडानमार्फत काठमाडौं उत्रिएका १ सय ८१ चिनियाँ पर्यटकमध्ये झण्डै आधा पर्यटकले मंगलबार पोखरामा प्याराग्लाइडिङ गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसहित चिनियाँ पर्यटक पोखरा २४ स्थित मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ गरी फेवातालको सिरान पामेमा अवतरित भएको नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए ।

कोभिड–१९, आर्थिक मन्दी र यती एअरलाइन्सको जहाज दुर्घटनाका कारण सुस्ताएको पोखराको पर्यटन चयायमान बनाउन यसप्रकारको गतिविधिले टेवा पुगेको अध्यक्ष भट्टराईले बताए । पर्यटकलाई बाजागाजासहित खादा लगाएर स्वागत गरिएको हो । प्याराग्लाइडिङ गर्नु पूर्व चिनियाँ टोलीलाई मुख्यमन्त्री अधिकारी र ना अध्यक्ष भट्टराईले स्वागत गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताएको पोखराको पर्यटनमा चिनियाँँ टोेलीको आगमन र प्याराग्लाइडिङ लगायतका गतिविधिले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । उनले प्याराग्लाइडिङसँगै पोखरामा भएका अन्य साहसिक गतिविधिमा पनि पर्यटकलाई जोड्न सके साहसिक पर्यटनमार्फत पर्यटन भित्रयाउन सकिने विश्वास व्यक्त गरे । पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तब्य भएको जनाउँदै राज्य र नीजि क्षेत्रको सहकार्यबाट पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेका उनको भनाइ थियो ।

घोडेपानी र घान्द्रुक क्षेत्रको पदयात्रा सकेर फर्किए लगत्तै ठूलो समूहका चिनियाँ पर्यटकले प्याराग्लाइडिङ गरेर रमाएका हुन् । कोरोना महामारीपछि चीन सरकारले फागुन २६ गतेबाट नेपाललाई पनि आफ्नो गन्तव्य सूचीमा राखेको थियो । नेपाल गन्तव्य मुलुकमा परेपश्चात चार्टर्ड उडानमार्फत नेपाल आउने यो पहिलो समूह बनेको छ । उनीहरु नेपाल बिग माउन्टेन ट्राभलमार्फत नेपाल आएका हुन् ।

नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको लागि प्याराग्लाइडिङ प्रमुख आकर्षणमध्ये एक हो । अंग्रेजी नयाँ वर्ष २०२३ को पहिला दिन १७ पुसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएपछि सराङकोटबाट हुँदै आएको पोखराको प्याराग्लाइडिङ १ माघदेखि मान्द्रेढुंगा सारिएको थियो । सराङकोटबाट प्याराग्लाइडिङ उडान विन्दु मान्द्रेढुंगा सरेपछि पर्यटक चाप कम भएको र मान्द्रेढुंगामा प्रदान गरिएको क्षेत्र साँघुरो समेत भएका कारण यसलाई विस्तार गर्न सरकारी पहल जरुरी भएको ना अध्यक्ष भट्टराईले सुनाए ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५ सय ३४, २०२० मा १९ हजार २ सय ५७, २०२१ मा ६ हजार १ सय ९६ र २०२२ मा ५ हजार ५ सय ९५ चिनियाँँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नयाँ वर्षसँगै नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्न थालेपछि पर्यटन क्षेत्रमा समेत उर्जाको संचार भएको व्यवसायीले बताएका छन् । यसबाट नेपाली अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास उनीहरुको रहेको छ ।

चिनियाँँ पर्यटकलाई गत साता यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँँ राजदूत छन् सङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मी लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरेका थिए । हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर चिनियाँँ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width