पिएनमा निर्वाचन फेरि अनिश्चित

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७९
pn-campus

पोखरा । चैत ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पृथ्वीनारायण (पिएन) क्याम्पसमा हुन सकेन । विद्यार्थी विवाद अदालतसम्म पुगेपछि आन्तरिम आदेशसँगै निर्वाचन अन्यौलमा परेको थियो । पछि अदालतले निर्वाचनका लागि निर्देशन दिएपछि क्याम्पसले सोमबार निर्वाचन तालिका सार्वजनिक ग¥यो । तर, तालिका पुनः सार्वजनिक हुँदा पनि अन्यौलता कायमै छ ।

लामो समयदेखि क्याम्पसमा जारी तालाबन्दी र अदालतमा पुगेको रिट निवेदन फिर्ता भएसँगै चुनावी हुने निश्चित भएको हो । क्याम्पसको निर्वाचन समितिको सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै चुनावी माहोल गर्माएको छ । निर्वाचन समितिले चैत २९ मा मनोनयन दर्ता र वैशाख ३ गते मतदानको मिति तोकिएको छ । यसअघि निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला तोडेर प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको थियो । स्थगित निर्वाचन पुनः संचालन गर्ने क्याम्पस प्रशासन र विद्यार्थी समूहबीच सहमति भएको हो ।

तर, एक समूहले मंगलबार बेलुका निर्वाचन कार्यालय र क्याम्पस प्रशासनमा ताला लगाएपछि निर्वाचन पुनः अन्यौलतामा धकेलिएको निर्वाचन अधिकृत प्राडा विकास केसीले जानकारी दिए । निर्वाचन गर्न खोलिएको स्थानमा अनेरास्ववियु (विप्लव), अनेरास्ववियूले पुनः ताला लगाएपछि निर्वाचनको प्रक्रिया अघि नबढेको उनले बताए ।

तालिका अनुसार मंगलबार मतदातासूची उपर दाबी विरोधको कार्यक्रम थियो । तर, ताला लागेपछि त्यो काम अघि नबढेको उनले जानकारी दिए । मंगलबारको प्रक्रिया अघि नबढेपछि अर्को चरणमा जान नसकिने उनले बताए । तालिकाअनुसार बुधबार मनोनयन दर्ता, बिहीबार नामावली प्रकाशन र दाबी विरोधको प्रक्रिया गरी अन्तिम नामावली प्रकाशनको कार्यक्रम थियो । सबै प्रक्रिया सकेर बैशाख ३ मा मतदान मिति तोकिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width