सरुवा रोग अस्पतालमा थपियो सेवा

धनबहादुर गुरुङ
चैत्र १५, २०७९
Saruwa Rog Hospital Photo 1

पोखरा । गण्डकी प्रदेश सरकारले २०७७ साउन १ देखि पोखराको मोहरियामा संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्यायो । कोरोनाकालमा साविकको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको पालामा गण्डकी प्रदेश सरकार मातहत ल्याइएको थियो ।

आजभन्दा ३ वर्षअघि विश्वभर महामारी रुपमा कोरोना संक्रमण सुरु भएको थियो । २०७७ को वैशाख–जेठमा गण्डकीमा पनि कोरोनाको संक्रमण देखिन थालेको हो । प्रदेश सरकारले प्रदेशभित्रका कोरोना संक्रमितको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै संक्रामक तथा सरुवा रोग अस्पतालको अवधारणा बनायो । राजधानीमा शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल थियो । सोही प्रकृतिको अस्पताल प्रदेशमा पनि आवश्यक ठानी सरकारले लेखनाथ शिशुवामा संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना गरेको हो ।

स्थापनादेखि नै कोरोना संक्रमितको उपचार र आइसोलेसनको काममा केन्द्रित अस्पतालमा धेरैले सेवा लिए । प्रदेशभरकै कोरोना संक्रमित उपचार लिन त्यहाँ पुगे । कोरोनाको दोस्रो भेरियन्ट संक्रमणका समयमा यो अस्पतालमा बिरामीको चाप थियो । संक्रमितले बेड पाएनन् । निको हुँदै गएकालाई होम आइसोलेसनमा बस्न सुझाउँदै नयाँ संक्रमितको उपचारमा अस्पताल तल्लिन थियो । तर, बिस्तारै कोरोना संक्रमित घट्दै गए । अस्पतालमा सेवा लिन जाने पनि घट्दै गए ।

५० शैड्ढयाको अस्पतालमा ५५/६० जना संक्रमित भर्ना भएर बस्ने गरेकोमा घटेर ६/७ जना मात्र भर्ना हुने बिरामी पुग्छन् । सोही अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा सरुवा रोगहरूको उपचारको साथै जनरल स्वास्थ्य सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष नेतृत्व र निगरानीमा चौबिसै घन्टा आकस्मिक र अन्तरंग सेवा, बहिरंग सेवा र बिस्तारित अस्पताल सेवा संचालनमा ल्याइएको बताए । अस्पतालले गत ८ चैतदेखि सूचना जारी गर्दै उक्त सेवा थप गरेको जनाएको हो । ‘हामीले कोरोनाकालमा अलि बढी सरुवा रोग केन्द्रित बनायौं,’ उनले भने, ‘अहिलेचाहिँ सरुवा रोगीहरू आए भने उनीहरूलाई पनि सेवा दिने गरी जनरल सेवालाई पनि प्राथमिकता दिएका छौं ।’

अस्पतालमा जनरल स्वास्थ्य सेवा पूर्णरुपमा सञ्चालन

जनरल सेवाका लागि मेडिकल अधिकृतले जाँच गर्ने सेवाहरू थप गरेको उनले बताए । यसका लागि सार्वजनिक बिदा बाहेक अरु दिन १० देखि ३ बजेसम्म नियमित रुपमा बहिरंग सेवा दिइएको उनले जानकारी दिए ।

संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिस्तारित अस्पताल सेवा कार्यक्रम अन्तर्गत सेवा दिने गरी अघि बढेको उनले बताए । ‘बिस्तारित स्वास्थ्य सेवा कार्यक्रमका लागि सेवा परामर्श शुल्क तोकिएको हुन्छ,’ उनले भने, ‘प्राइभेटमा जस्तो महँगो त हुँदैन त्यहाँभन्दा कम शुल्कमा १० बजेभन्दा अघि र ३ बजेपछि पनि चेकअप सुरु गरिएको छ ।’ यो सेवाका लागि डा. गौचनसहित डा. सन्दीप ओझा र डा. एलिना मास्के तयारी अवस्थामा हुन्छन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.नारायण श्रेष्ठले प्रदेशको अस्पतालबाट सरुवा रोगबाहेक अन्य साधारणदेखि जटिलखालको सेवा प्रदान गर्ने उद्देश्यले थप सेवा सुरु गरेको बताए ।

संक्रामक तथा सरुवा रोग अस्पतालमै २५ बेडको डायलसिस सेवा सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेकाले निकट भविष्यमै सुरु गर्ने डा.गौचनले सुनाए । आगामी दिनमा अस्पतालमा अन्य सेवा थप्दै जाने उनले बताए ।

अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५१ जना कार्यरत छन् । ६ चिकित्सक, १४ स्टाफ नर्स छन् । यस्तै, ल्याबमा ७, फार्मेसीमा ४, एक्स–रेमा ४, नेत्र सहायक १, हेल्थ असिस्टेन्ट १ जना, सिनियर अहेब २ जना कार्यरत छन् । यो संख्या माग अनुपातमा कम हो । ‘५० बेडको हिसाबले यो कर्मचारी संख्या निकै कम हो,’ अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले भने, ‘खास ५० बेडका लागि १ सय २० कर्मचारी आवश्यक पर्छ तर हामीले काम गरिरहेका छौं ।’

२०६० मा महायज्ञ सञ्चालन गरी भौतिक निर्माण थालिएको तत्कालीन लायन्स अस्पतालमा २०६२ देखि सेवा सञ्चालन थालिएको थियो । संघ सरकारको ७ वटै प्रदेशमा संक्रामक रोग अस्पताल बनाउने योजनाअनुसार प्रदेश सरकारको अग्रसरतामा लायन्स सामुदायिक अस्पताललाई ‘संक्रामक तथा सरुवा रोग अस्पताल’ बनाइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width