आविष्कारमा अब्बल अभिनाश

धनबहादुर गुरुङ
चैत्र ४, २०७९
Abinash Story Photo

पोखरा । पोखरा ८ नागढुंगाका अभिनाश अधिकारी साधारण मानिसजस्तो देखिए पनि राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । तर, खुट्टा खुम्च्याउँदै यताउता गर्न भने उनलाई कुनै समस्या छैन । जन्मिएको केही महिनादेखि नै उनको खुट्टामा समस्या देखिएको थियो । अहिले उनी २० वर्ष लागे । हँसिलो अनुहार, मिलनसार व्यवहार अनि अथक मेहनत उनको परिचय हो ।

निकै मेहनती उनी नयाँ नयाँ खोजमा रुचि राख्छन् । त्यही कारण उनी २० वर्षको उमेरमै आफूलाई आविष्कारकको परिचय थप्न सक्षम बने । उनले गुराँस सिएनसी मेसिन बनाएका छन् । पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनले मेसिनबाट काठमा बुट्टा भर्न र शिलालेख तयार गर्न सकिने मेसिन आविष्कार गरेका हुन् ।

इन्जिनियरिङ पढे पनि मेसिन आविष्कार गर्ने प्रेरणा आफ्नै बुा शिवबहादुर अधिकारी भएको बताउँछन् । ‘मेरो आफ्नै घरमा गुराँस आर्टस् थियो । सानैदेखि बाबाले काम गरेको देखिरहन्थँे,’ उनले भने, ‘बाबाले सिएमसी मेसिन चलाउनुहुन्थ्यो । त्यो बिग्रेपछि इन्डियाबाट बनाउने मान्छे आएर हजारौं रुपैयाँ लिएर जान्थे । अनि यही बनाउन पाए पैसा बच्थ्यो भनेर यो बनाउने सोच पलायो ।’ ४ कक्षा पढ्दादेखि नै डिजाइन गर्न थालेकाले यस काममा पहिलेबाटै भिजेको उनले सुनाए ।

घरमा भएको मेसिन बिग्रँदा बनाउन आउने प्राविधिकले काम गर्दा हेरेर त्यहाँ प्रयोग हुने सामानबारे जानकारी लिएपछि झनै सहज भएको उनले सुनाए । विद्यालय पढ्दादेखि नै इन्जिनियरिङमा आफ्नो रुचि भएकाले पनि उनमा केही नयाँ गर्ने सोच पलायो । सोहीअनुसार अघिल्लो वर्षमा सानो खालको सिएमसी मेसिन बनाएको बताए । ‘अघिल्लो वर्ष सानो खालको यही मेसिन बनाइयो । अनि त्यसपछि यत्तिकै बस्न मन भएन,’ उनले भने, ‘त्योभन्दा ठूलो पनि बनाउन सकिन्छ भनेर सुरु गरेँ ।’

काम सुरु गरेको १ महिनामै मेसिन तयार गर्न सकेको उनको भनाइ छ । आफू अशक्त भएकै कारण गोरख निखिल इन्जिनियरियङका प्राविधिहरुले सहयोग गरेको अधिकारीले जानकारी दिए । ‘मैले काम सुरु गरेको १ महिनामा बनाएर सकेको हुँ । यसका लागि आवश्यक सामान मेड इन चाईना र अलिबाबा डटकमबाट मगाएँ,’ उनले भने, ‘यसबाट काठमा थ्रीडी, टुडी बुट्टा, थ्रीडी टुडी साइनबोर्ड, शिलालेख र मायाको चिनो बनाउन सकिन्छ ।’

अन्तर्राष्ट्रिय बजारमा १२–१४ लाख पर्छ । आगमी दिनमा मेसिन ४ लाखसम्ममा बनाउने अभिनाशको योजना

मेसिनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक उद्घाटन गरे । मेसिन अनावरणसँगै काठबाट बन्ने मायाको चिनोका लागि परनिर्भर हुनुपर्ने अवस्था नआउने उनको भनाइ छ । ‘मायाको चिनो खरिदमा मात्रै नेपालबाट करौडौं रुपैयाँ बाहिर जान्छ । अरुप्रति हामी कति आश्रित हुने ? स्थानीय स्रोत साधनलाई प्रयोग गरेर हामीले पनि त मेसिन निर्माण गर्न सक्छौं भन्ने लाग्यो । फलस्वरुप उक्त मेसिन निर्माण गरे । मैले आफूले पढेको विषयलाई व्यवहारमा उतार्ने प्रयास गरेको हुँ ।’, अभिनाशले भने ।

मेसिन निर्माणलाई उनले निरन्तरता दिने बताए । ‘एउटा मेसिन निर्माण गरेर मात्र बस्दिनँ । यसको बजारीकरणमा सबैले साथ दिए अन्य मेसिनहरु पनि निर्माण गर्दै जानेछु । आशा छ सबैको सहयोग मिल्नेछ,’ उनले भने । करिब ६ लाखको लागतमा बनेको मेसिन ४ लाखसम्ममा बनाउने उनको योजना छ । यसको अन्तर्राष्ट्रिय बजारमूल्य १२ देखि १४ लाख पर्ने उनले सुनाए ।

मेसिनको अनावरण गर्दै पोखराका मेयर धनराज आचार्यले अभिनाशले आफूले पढेको विषयलाई व्यवहारमा उतार्न गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे । महानगरले सभागृहमा बिजनेस प्रोमोसन सेन्टर स्थापना गरेको र नयाँ व्यवसायीलाई प्रोत्साहन गर्दै आएको जानकारी दिए । अभिनाशले निर्माण गरेको मेसिनलाई बजारीकरण गर्न महानगरपालिकाले सहज वातावरण मिलाउने मेयर आचार्यले आश्वासन दिए ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अभिनाश जस्ता प्रतिभालाई पोखराले संरक्षण गर्नुपर्नेमा जोड दिए । गुराँस आर्टस्का निर्देशक अभिनाशका बुबा शिवबहादुर अधिकारीले आफूले १८ वर्ष पहिले भारतबाट मेसिन मगाएर काम थालेको र अहिले छोराले मेसिन बनाएर सार्वजनिक गर्न पाउँदा खुसी लागेको उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width