अन्जन र उषा दोहोरो मनोनयनमा

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७९
nominations-final niranjan 2

पोखरा । १९ औं संस्करणको पल्सर स्पोर्टस् अवार्डमा फुटबलका अन्जन विष्ट र भलिबलकी उषा भण्डारी दोहोरो विधाको मनोनयनमा परेका छन् । उनीहरु यसअघि नै पिपल्स च्वाइस अवार्डको मनोनयमा परेका थिए ।
फागुन २३ मा काठमाडौंमा हुने अवार्डको विभिन्न ४ विधाको मनोनयन सार्वजनिक हुँदा उनीहरु फरक विधामा मनोनयमा परेका छन् । वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा अन्जनसँगै क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, फुटबलका किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दहाल परे ।

वर्षको युवा खेलाडीमा उषासँगै फुटबलका मनिष डाँगी र प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी र ब्याडमिन्टनकी रसिला महर्जन परेका छन् ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले ४ विधाको मनोनयन मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । सार्वजनिक भएका अन्य २ विधामा वर्षका उत्कृष्ट महिला खेलाडी र प्रशिक्षक छन् । उत्कृष्ट महिला खेलाडीमा क्रिकेटकी रुविना क्षत्री, सीता रानामगर, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल, एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयन परेका छन् ।

उत्कृष्ट प्रशिक्षक मनोनयनमा बक्सिङका दीपक महर्जन, फुटबलका अब्दुल्ला अल्मुताइरी, पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्ट छन् । पिपल्स च्वाइस अवार्डमा क्रिकेटका आसिफ सेख, पौडी डुवाना लामा र टेनिसकी अभिलाषा विष्ट पनि मनोनयनमा परेका थिए ।

अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्स जर्नालिस्ट अवार्डको विजेता भने अवार्ड कार्यक्रमकै दिने घोषणा गरिने मञ्चले जनाएको छ ।
वर्ष पुरुष, महिला, युवा, पिपुल्स च्वाइस र प्रशिक्षक गरी ५ विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width