पोखरा। नेपाल क्रिकेट संघ (क्यान) मा विद्यमान विवादबीच पोखरामा बसेको संघको बोर्ड बैठकले महत्वपूर्ण विभिन्न निर्णय गरेको छ । क्यानका विभिन्न १३ निर्णयमध्ये सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि अध्यक्षको राजीनामा मागमा विषयले क्यान पुनः एकपल्ट निलम्बन खतरामा परेकोमा चिन्ता व्यक्त गरिएको छ ।
पोखरामा मंगलबार बसेको क्यानको बोर्ड बैठकले नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सनकुमार झालाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै संघको वार्षिक साधारणसभामा आगामी फागुन १४ र १५ गते सुर्खेतमा गर्ने भएको छ । संघको विशेष साधारणसभामा भने आगामी २०८० जेठभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरिएको छ ।
यसैगरी, क्यानले सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको लागि १८ पुरुष र १२ महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ । जसमा ज्ञानेन्द्र मल्ल ग्रेड ‘बि’ मा परेका छन् ।
ग्रेड ‘ए’ अन्तर्गत रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशीफ शेख परेका छन् । ग्रेड ‘बि’मा मल्लसहित आरिफ शेख, कुशल भूर्तेल छन् भने ग्रेड ‘सि’ मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन् ।
महिला खेलाडीमा करारमा पर्नेमा १२ मध्ये ग्रेड ‘ए’ मा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन् । ग्रेड ‘बि’ मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य तथा ग्रेड ‘सि’ मा कविता जोशी, बिन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे, अप्सरी बेगमलाई करारमा राख्ने निर्णय गरिएको हो ।
बुधबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गर्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दले थप २ जिल्लालाई मान्यता दिएको छ । बागलुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने निर्णय गर्दै अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेस गर्ने बताइएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णयसमेत बैठकले गरेको छ । नावालिका बलात्कार आरोप खेपिरहेका लामिछानेलाई २ साताअघि उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
यसैगरी, पूर्व प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीको संयोजकत्वमा संघका एन्टि करप्सन अफिसर रितेश सिंह र थप १ जना सदस्य पछि मनोनयन गर्ने गरी ३ सदस्यीय क्यान इन्टिग्रेटी कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपाल टी–२० प्रतियोगिता सम्पन्न भइसकेकोले गभर्निङ काउन्सिल बिघटन गरेको छ भने सेभेन थ्रि स्पोर्टस् प्रालिसँगको सम्झौतालाई निरन्तरता दिन नसक्ने स्थिति भएकोले आगामी साधारणसभामा निर्णयार्थ पेस गर्ने निर्णय गरेको अध्यक्ष चन्दले जनाए ।
संघमा कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको राजीनामा बोर्डले अनुमोदन गर्दै सो पदमा दुर्गाराज पाठकलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । स्पट फिक्सिङमा संलग्न खेलाडी र व्यक्तिहरुको आरोप पुष्टीपश्चात आइसिसी र क्यानको कोड अफ कन्डक्ट बमोजिम कारबाही अघि बढाइने भएको छ ।
क्यानमा हाल निर्वाचित १५ सदस्यमध्ये ५ जनाले नेपाल टि–२० लिगको विषयलाई लिएर अध्यक्ष लगायत कार्यसम्पादन समितिका सदस्यको राजीनामा माग गर्दै पोखरा बैठक बहिस्कार गरेकोमा क्यान फेरि निलम्बनको खतरामा जाने महसुस गर्दै चिन्ता व्यक्त गरिएको छ । केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, करण महतरा क्षत्री, सञ्जयराज सिंह, अमीतवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले बैठक बहिस्कार गर्दै मंगलबार पत्रकार सम्मेलन गरेका थिए ।
आगामी दिनमा कमीकमजोरी सच्चाउँदै एकजुट भएर अघि बढ्नका लागि सहकार्यमा जान बैठकले असन्तुष्ट पक्षलाई आग्रह गरेको छ । एभरेस्ट प्रिमियर लिगका संचालक आमीर अख्तर लगायतले क्यान र अध्यक्ष चन्दको नाममा सर्वोच्चमा दायर गरेको रिट फिर्ता लिन पनि क्यान बैठकले आग्रह गरेको छ ।
राजीनामा माग्नु गलत: अध्यक्ष चन्द
क्यान अध्यक्ष चतुरबहादुर चन्दले राजीनामा माग गर्नु गलत भएको भन्दै प्रक्रियामा आउन आग्रह गरेका छन् । ‘क्यानको झगडाले निलम्बनको खतरामा पर्नु हुँदैन,’ पत्रकार सम्मेलनमा चन्दले भने, ‘हामीहरु मिलेर जान तयार छौं । असन्तुष्ट पक्षलाई वार्ताको टेबलमा आउन आग्रह गर्दछौं । विरोधमात्र गरेर हुँदैन । बैठकमा बस्नु पर्यो ।’
काठमाडौंमा ब्यानर बनाएर यहाँ आएर पत्रकार सम्मेलन गर्नुले नियत प्रष्ट भएको उनको टिप्पणी छ । नेपाली क्रिकेट ध्वस्त पार्ने खेल हो भन्दै उनले फेरि निलम्बनको खतरामा रहेको बताउँछन् । मैले फोन गरेर आउन भने तर आउँछु भनेकाले आएनन् ।
‘नेपाली क्रिकेट ग्रासरुट ध्वस्त भयो । यु–१९ गएको २०१६ देखि १९ सम्म निलम्बन थियो । ग्रासरुट यु–१६ हुँदै भएन । यु–१९ नहुँदा ग्रासरुट ध्वस्त हुन पुग्यो । जिल्ला, क्षेत्रबाट क्रिकेट भएन । तलबाट बच्चा आउन सकेनन् भने नेपाली क्रिकेट उँभो लाग्दैन,’ उनले चिन्ता व्यक्त गरे । क्यान विवादमा रुमल्लिइरहेको विषयमा उनले दक्षिण एशियामा सरकार चलाउन सजिलो होला, तर संघ चलाउन गाह्रो छ भने ।
आफू पदका लागि कहिल्यै पनि राजनीति नगर्ने चन्द दाबी गर्छन् । सुदूरपश्चिमको मान्छेले क्यानलाई ब्यालेन्स ल्याएको हो भन्दै उनले आफू बाहेक अरुले यसरी ब्यालेन्समा ल्याउन नसक्ने बताउँछन् । क्यानका सदस्यले विशेष साधारणसभा बोलाउन माग गरे आफूहरु ३५ दिनभित्र बोलाउन तयार रहेको उनको भनाइ छ । क्यानमा हाल ८० साधारण सदस्य छन् । त्यसमध्ये कुल सदस्य संख्याको ३३ प्रतिशतले विशेष साधारणसभा बोलाउन सक्ने प्रावधान छ । संघका ७ केन्द्रीय सदस्यले नेपाल टी–२० लिगको विषयलाई लिएर अध्यक्ष चन्दको राजीनामा मागेका थिए ।
यस्तै, कार्यवाहक सचिवबाट राजीनामा दिएका प्रशान्तविक्रम मल्लले आफू संघमा नहुँदा संघको हित उन्नति हुन्छ भने सदा तयार रहेको बताए । उनले कार्यसमिति बैठकमा आफ्नो राजीनामा दिएका थिए ।
Related News
सम्बन्धित समाचार
एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जितलाई पितृशोक
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
अनलाइन पत्रकार संघ गण्डकीमा गणेश बराल
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
माइनस डिग्रीमा माछा उत्पादन
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९