पृथ्वीजयन्ती धूमधाम मनाइँदै

आदर्श समाज सम्वाददाता
पौष २६, २०७९
Prithvi Jayenti

पोखरा । नागरिक मूल समारोह समितिले ३०१ औं पृथ्वीजयन्तीका कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रिय एकताका प्रतीक राष्ट्रनिर्माता श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती नागरिकस्तरबाट मनाउन लागिएको समितिले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पृथ्वीनारायण शाहबाट नेपाल एकीकरण भएकै कारण सार्वभौम नेपाली हुन पाइएको र राष्ट्र निर्माताको सम्मान गर्नु सबैको दायित्व हो भन्दै समितिले पुस २७ गते पृथ्वीजयन्ती मनाउने निर्णय गरेको हो ।

उक्त दिन सरकारले सार्वजनिक बिदासमेत दिने घोषणा गरिसकेको छ ।

कार्यक्रमअनुसार बिहान ८ बजे सहिद तथा राष्ट्रिय विभूति पार्क, जामुनबोटमा पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्ने र बिहान ११ बजे मानवअधिकार चोक चिप्लेढुंगामा जम्मा भई शोभायात्रामार्फत पृथ्वीचोक पुग्ने कार्यक्रम छ । बिहान ८ बजे गीता मन्दिरमा पृथ्वीनारायण शाहसम्बन्धी कविता वाचन कार्यक्रम पनि राखिएको छ । साढे १२ बजे पृथ्वीचोकमा मूल समारोह आयोजना हुने समितिले जनाएको छ ।

नेपालको झण्डाको साथमा हेलिकोप्टरबाट पोखराको आकासमा पृष्पवृष्टी गरिने

पञ्चेबाजा, भजन चुड्का र सांस्कृतिक कार्यक्रम पनि समेटिएको छ । कार्यक्रममा पृथ्वीनारायणको तस्बिर र नेपालको झण्डाको साथमा हेलिकोप्टरबाट पोखराको आकासमा पृष्पवृष्टीसहित परिक्रमा गरिने छ भने साँझ ५ः३० बजे पृथ्वीचोकमा नै दीप प्रज्वलन गरिने कार्यक्रम संयोजक शंकर खरालले बताए । राष्ट्रिय एकता दिवस मूल समारोह समिति–२०७९ आयोजक र विश्व हिन्दू महासंघ कार्यक्रमको सहआयोजक छ ।

पत्रकार सम्मेलनमा प्राडा दिलबहादुर क्षत्रीले राष्ट्रिय एकता दिवसरुपमा मनाउन लागिएको पृथ्वीजयन्ती कुनै दल र संस्था विशेषभन्दा पनि राष्ट्रको एजेण्डा हुनुपर्ने बताए । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान अवमूल्यन गर्ने व्यक्ति नेपाली हुन नसक्ने उनको तर्क छ ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले नेपालको सांस्कृतिक र भौगोलिक एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका महत्वपूर्ण रहेको बताउँदै सरकारले बिर्सिए पनि नागरिक समाजले शाहको योगदानलाई नबिर्सने बताए ।

राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले नेपालीलाई नेपाली भनेर चिनाउन पृथ्वीनारायणको प्रमुख योगदान रहेको बताए । कार्यक्रम संचालन राप्रपा गण्डकी प्रवक्ता समेत रहेकी कार्यक्रमको प्रचार संयोजक पार्वता पौडेलले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width