चुरोट खोलमा चाङ कविताहरु लेखें: केपी ओली

आदर्श समाज सम्वाददाता
पौष ८, २०७९
image_6483441 (2)

पोखरा, ७ पुस । ‘बीस सालमा मैले अर्काको साइकल सिकें । साइकल पनि नचला बिग्रन्छ भन्थे । जुनसुकै काम पनि मेरो रुचिको कुराभित्र पर्छ । त्यसकारण हाम्रो जीवनमा आवश्यक पर्ने प्रचलित कुरामा रुचि राख्छु ।’

नेपालका पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली फेवाताल किनारमा आफ्नो लामो राजनीतिक करियरबाहेकका किस्सा सुनाउँदै थिए ।

आफ्नो स्वास्थ्यबारे उनले भने, ‘दुई मिर्गाैला प्रत्यारोपण गर्दा, पाँचसात ओटा अप्रेसन गर्दा पनि असशक्त भइनँ । तर हरेक कुरामा म एकदमै सशक्त छु भनेर पनि भन्दिनँ । सशक्तता खाली मनको कुरा हो । भावनाको कुरा हो । मैले आफ्नो भावना अभिव्यक्त गरें । त्यो भावना गलत छैन, सही छ ।’

बुककर्म फाउण्डेसन आयोजनामा पोखराको बाराहीघाटमा जारी १० औं नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन उनी पत्रकार अखण्ड भण्डारीसँग गैरराजनीतिक विषयमा गफिंदै थिए । पत्रकार भण्डारीको जिज्ञासामा ओलीले यसरी भन्दै गए–

भाग्यमानीको २ वटा अर्थ हुन्छ । एउटा भगवान्ले गरिदिएको, भगवान्ले बनाइदिएको, भगवान्ले कमाइदिएको भन्ने । अर्को आफ्नै कमाइ, मेहनत र परिश्रमले होइन स्वतः आइलागेको । साह्रै राम्रो संयोग । कुनै सकारात्मक उपलब्धि स्वतः आइलाग्यो भने पनि भाग्यमानी भन्छौं हामी । यसै त भगवान्ले गराइदिने कुराका राम्रा नराम्रा पक्षहरु छन् ।

मेरो देशमा अब किड्नी ट्रान्सप्लान्ट, अर्गान ट्रान्सप्लान्टजस्ता सर्जरी पनि यी भएका छन् । सर्जरी गर्ने विज्ञ नेपालमा जन्मिएका छन् । त्यतिखेर म प्रधानमन्त्री थिएँ । प्रधानमन्त्रीजस्तो मान्छेले पनि सुविधा खोज्दै अन्त जानु परेन । मैले भरोसा गरें, आफ्नो देशलाई, आफ्नो अस्पताललाई । मैले आफ्ना डाक्टर र नर्सहरुलाई भरोसा गरें । म सफल भएको छु । त्यसैले यो देशले विकास गर्न सक्छ । म छानेर नेपालमा जन्मिएको होइन । तर यो देशमा जन्मिनु, यो शिव भूमिमा जन्मिनु, यो बुद्धभूमिमा जन्मिनु, यो व्यास भूमि, यो विद्वानहरुको भूमिमा जन्मिनु असाध्यै भाग्यमानी लाग्यो मलाई । त्यसरी मैले आफूलाई भाग्यमानी मानें र गीतमा लेखें ।

मिर्गौला प्रत्यारोपण गर्ने बेला प्रधानमन्त्री थिएँ र सरकारले मेरो उपचार खर्च बेहोथ्र्याे । तर बाहिर जाँदा ३० देखि ५० लाखसम्म साधारणतया खर्च हुन्थ्यो । त्योभन्दा बढी पनि हुन्थ्यो । तर नेपालमा आफैंले मेहनत गरेर त्यो सुविधा र उत्कृष्टता हामीले प्राप्त गरेका छौं । नेपालमै डाक्टरहरु त्यो क्षमता राख्नुहुन्छ ।

त्यसस्तरको ज्ञान, अभ्यास, उपकरण सबै हामीसँग उपलब्ध छ । हामीले विकास गरेका छौं भने पद ओहोदाको कारणले महँगो पैसा तिर्न बाहिर जानु पर्दैन । ती चिज हामी यहाँ गर्न सक्छौं भने फेसनका रुपमा टाउको दुख्यो कि विदेश कुद्न पर्दैन ।

जीवन भनेको, सिंगो जीवनको कुरा गर्दा, म बच्चा थिएँ, किशोर युवा, अधवैशी भएँ, अहिले पनि अधवैशे अधवैशे नै छु । बाँचीबर्ती रहे बुढो हुनु पनि अनिवार्य नै छ । म बिरामी भएपछि साथीहरुले चिन्ता गर्नु भयो । मैले एकपल्ट साथीहरुलाई यो कुरा भनेको थिएँ । मेरो हजुरआमा १०१ वर्षमा बित्नुभयो । मेरो हजुरबुबा पनि सय वर्ष पुगनपुग हुँदा बित्नुभयो । हेर्दाहेर्दै मेरो बुबा बुढोबुढो देखिन थाल्नुभयो । अहिले पनि म त्यही भन्छु । मेरो बुबा हुनुहुन्छ र २/४ किलोमिटर अहिले पनि हिंड्नु हुन्छ । मेरो स्वास्थ्यभन्दा उहाँको अलि राम्रो छ । न सुगर न केही । खाना बार्नु पर्दै उहाँलाई । अझै हिंड्नु हुन्छ । स्वास्थ उहाँको राम्रो छ । बुबा अलि बुढो बुढो हुन थाल्नु भएको छ ।

साहित्यका रसजस्तै अथवा संगीतका स्वर, सुर र तालजस्तै विविधता हुन्छ जिन्दगीमा 

जीवन भनेको एउटामात्रै उमेर होइन । म बालक हुँदाको, म किशोर हुँदाको पनि हो । उमेर भनेको विभिन्न समयको हो नि त । जीवनको रंगजस्तै जीवनका रस पनि विभिन्न प्रकारका हुन्छन् । क्यानभासका रंगजस्तै वा साहित्यका रसजस्तै अथवा संगीतका स्वर, सुर र तालजस्तै विविधता हुन्छ जिन्दगीमा ।

मैले कयौं वर्षसम्म खाना बनाएको छु । मलाई छिम्कन, निफन्न, सार्न सबै आउँछ । राजनीति गर्ने मान्छेले के खानु पर्दैन ? भ्याएसम्म, सकेसम्म रमाउनु पर्दैन ? संसारमा केही दुखी मान्छे हुन्छन् जो कहिल्यै मुस्कुराउँदैनन् । कहिल्यै प्रसन्न चित्त हुँदैन मानौं यो संसारको सबै पिर चिन्ता उसलाई मात्रै भएको होस् । आफ्नो भागको पिर, आफ्नो भागको चिन्ता, आफ्नो भागको कर्तव्य हुन्छ । हामीले काम कर्तव्य आफ्नो भागको गर्ने हो । मैले जे काम गर्नुपर्छ कामचोर नभई नठगीकन गर्नुपर्छ । र मैले प्रसन्न चित्त रहनुपर्छ । बाजा बजाउने, गाउने, नाच्ने ठाउँ, देउसी खेल्ने ठाउँ भेटियो भने धुमधुम्ती बस्ने होइन । त्यहाँ नाच्ने हो ।

म दुर्गम गाउँमा जन्मिएको हो । मेरो गाउँमा भर्खर बाटो पुग्यो । बिजुली र बाटो पुगेको २÷४ वर्ष भयो । अझै राम्ररी पक्की भइसकेको छैन बाटो । राणा शासनपछि तुरुन्तै विद्यालय पुग्यो । शिक्षामा खासै पछाडि होइन तर विकासका अरु मापदण्डमा धेरै पछाडि हो । मेरो ठाउँ यस्तो हो जहाँ सपना देखिथ्यो, तर ठूलो सपना देखिंदैन थियो । हाम्रोतिर एक मानाको बन्दोबस्त भन्ने चलन थियो । कोही छोरी माग्न आयो एक मानाको बन्दबस्त छ कि छैन भन्ने हुन्थ्यो । यो नै ठूलो सपना थियो । सफा खाना खानु पर्छ भने थाल त माझ्नु पर्छ । नमाझीकन कसरी सफा हुन्छ । माझ्ने काम सानो सफामा खाने काम ठूलो । काम सानो सफा खाना खाने काम ठूलो । कसरी ? मैले मेलो पाएको थिइनँ ।

सानै उमेर आमा बित्नु भएकोले पनि थुप्रै काम सिकियो । मलाई गाउँघरमा बाती काट्नेदेखि लिएर, टपरी दुना बात्ने, कामदेखि लिएर, गुन्द्रीको भत्यौरी, तान बुन्नेदेखि लिएर गजुरा सुकुल बुन्नेदेखि पराल खोसेला सबका पिरा बनाउन आउँछ । जुन काम देख्यो म त्यो सिक्ने मान्छे हो । यहाँ पोखरा जेलमा बस्दा कपडा बुन्ने काम पनि गरें । मन परेका दिदी बहिनीहरुलाई सारी बनाएर पठाइ पनि दिन्थें, कहिले कहिले ।

आफैंले लगाउने लुगा पनि बुन्थें । कमिज सुरुवाल काट्न सिलाउन आउँछ । जेलमा हुँदा आफैं काट्थें, आफैं सिउँथे । मैले लगाउने कमिज सुरुवाल आफैंले काटेका हुन्थें । सिलाउन पायो भने । म जे काम पनि सिक्न रुचि राख्थें र कुनै काम सानो ठूलो भन्ने लाग्दैनथ्यो कहिले पनि । पछिसम्म पनि म खाना बनाउने काम गरिराख्छु । अहिले पनि, खाना बनाउन बढ्तै समय लाग्छ । त्यसैले म भाँडा माझ्छु ।

साथीहरुसँग जेलमा बस्दा पनि भाडा माझ्ने काम गर्थेँ । छोटो समयमा काम सिद्धिन्छ भने र म भाँडा माझ्थें । विद्यार्थी हुँदा, युवा हुँदा, नेता हुँदा कहिले गोठालागोठाली भेटिए भने उनीहरुसँग पनि म रमाएर बस्थें । खोला देख्नै हुँदैनथ्यो । पौडी खेल्न मिल्नेखालको खोलामा पौडी खेल्थेँ । मेरो एकदमै रोजाइको काम पौडी हुने गथ्र्यो । खेलकुदमा एकदम रुचि राख्थें । त्यसैले तपाईंले घर गृहस्थीमा आफूलाई चाहिने काम आफैं गर्न सक्छु । म पाइलट हुन पाइनँ त्यसैले मलाई उडाउन आउँदैन ।

मैले गाडी चलाउन २०२६ सालमा सिकें । सिक्ने कुरामा पछि परिनँ । म साधारण ठिटै हुँदा खेरी १७÷१८ वर्षको हुँदा गाउँमा त्यसबेला जेएमसी भन्ने दोस्रो विश्वयुद्धको थोत्रो ट्रक पाइन्थ्यो । ह्यान्डलबाट घ्वाइँघ्वाइँ घुमाएर स्टार्ट गर्नुपर्ने । त्यसैबाट मैले ड्राइभिङ सिकेको हुँ । मलाई जे देख्यो त्यही सिक्नुपर्ने । त्यसैले जुनसुकै काम पनि मेरो रुचिभित्र पर्छ । हाम्रो जीवनमा अवाश्यक पर्ने काम सबै काम गर्छु ।

घर नजिकै दमिनी आमाको घर थियो । हाम्रो घर अगाडि बस्नुहुन्थ्यो । कैची चलाउँदा उहाँले बिग्रन्छ भन्नु हुन्थ्यो । उहाँको काम गरेको हेर्थे । फलामको कतर्नो बल्टुले बाँधेको छ तर बिग्रन्छ भन्नुहुन्थ्यो । बिग्रने ठावै छैन, छोयो भने बिग्रन्छ भन्नुहुन्थ्यो । कहिले कहिले सोध्थें, के भएर बिग्रिन्छ आमा यो ? तर मेरो स्वभाव कस्तो भने चलाउँ चलाउँ हुन्थ्यो । तर उहाँले तिम्रो चाल ठिक छैन त्यता हेर्दैछौ भन्ने ।

साहित्यको कुरा गर्नुपर्दा म त्यबेला पोखरा जेलमा थिएँ । पोखरामा खर्पन बोक्ने चलन थियो जस्तो लागेको थिएन । पोखरा जेलको गेटमा १ जना खर्पनमा साग बोकेर आएँ । मैले उनलाई देखेपछि उनी भएर यो कविता लेखें । म त जेलभित्र बन्दी थिएँ । मै भएर त म यो कविता लेख्न सक्तैनथें । मैले आफूलाई खर्पन बोक्नेमा परिणत गर्नुपथ्यो । मैले त्यो व्यक्तिको रुपमा आफूलाई रुपान्तरित गरेर यो कविता लेखेको थिएँ । कविता लेख्नुअघि मैले खर्पन बोकेको मान्छेको चित्र बनाएँ । त्यसपछि कविता लेखें । मेरो बानी के छ भने उहिले भूमिगतकालदेखि जहाँजहाँ पुग्यो मेरो लेखाइ, कहिले कथा, कहिले निबन्ध, कहिले कविता, कहिले गीत लेख्दा बोकेर हिंड्न सम्भव हुँदैनथ्यो । जहाँ पुग्थें त्यहाँ लेख्थे त्यहीं छोड्थें । अहिले माननीय हुनुभएको छ, केआर खम्बुजी । जो २६, २७ सालको आन्दानकारी हुनुहुन्थ्यो ।

पछि, त्रिभुवन विश्वविद्यालयमा ३५/३८ सालसम्मै त्यहाँको सबैभन्दा परिचित विद्यार्थी उहाँ नै होला । सम्पर्कसूत्र उहाँ नै होला । त्यस्तो चिनिएको व्यक्तित्व हुनुहुन्थ्यो । पछि उहाँले जर्मनीबाट पिएचडी गर्नुभयो । उहाँसँग मेरो लामै संगत भएको थियो । उहाँ विराटनगर आउँदा माधव नेपाल पनि त्यही कलेजमा पढ्नु हुने रहेछ । केआर खम्बुले नै मलाई माधव नेपालसँग परिचय गराउनुभएको थियो । उहाँसँग पनि मेरा कतिपय कविता छुटेका रहेछन् । उहाँको संस्मरण पछिल्लो समय निस्कियो, छायाका लस्करहरु । पिएचडीपछि उहाँ क्याम्पसमा पढाउँदै गर्दा नेत्रज्योति गयो । त्यस स्थितिमा उहाँले छायाका लस्करहरु लेख्नुभएको हो । त्यो पुस्तकमा मेरो अर्को एक जना साथी, जसकोमा मैले दुईचार पटक आश्रय लिएको थिएँ । उहाँकोमा मैले कविताहरु छोडेको रहेछु । र, त्यतिबेला मैले मेरो नाम कालीचरण भनेर लेखेको रहेछु, भूमिगतकालमा । त्यो कविताहरु छापिएको छ । ती कविता प्रकाशनका लागि भूपनिधि पन्तलाई धन्यवाद ।

म त लेख्यो, छोड्यो, हिंड्यो । त्यसमा कसैले मसला बेचोस् कि जेसुकै गरोस् । कुनै अर्थ राख्दैनथ्यो । म सुरक्षित गर्न सक्दिनँथे । जेलमा अनेक कृति लेखें । सयौं कविता लेखें तर जेलमा खोसिन्थ्यो, लुटिन्थ्यो । लेखेर के गर्ने खोसेर लैजान्थ्यो भनेर निरास हुन्थें । अलिअलि हतोत्साहित पनि भएको हो । लेखेर के गर्ने ? दुख ग¥योे लुटेर लग्यो । त्यसपछि कुनै ग्रहण ग्रन्थ लेख्नेतिर लागिएन । छोटा निबन्ध र फुटकर मात्रै लेखें।

यसै प्रसंगमा पोखरा जेलमा हुँदाखेरी कतिपय यस्ता कविता लेखेको हुँला । भूपनिधि पन्तजी जो २०४२ सालको आन्दोलनमा उहाँलाई पनि पक्रेर ल्याएको थियो । अलिक समय जेलमेट हुनुभएको थियो । मैले लेखें, छोडें वा उहाँले यत्तिकै राख्छु भनेर माग्नुभयो मलाई याद छैन । तनहुँका भन्ज्याङ पत्रिकाका सम्पादकसँग चिनजान भएको थियो । भन्जाङका सम्पादक विश्वबन्धु भण्डारी, त्यस पत्रिकाका सुरुवातकर्ता । भन्जाङ पत्रिका निकाल्दा उहाँ पनि जेल परेकोले त्यहीं चिनजान भयो । उहाँको भूपनिधिजीसँग कुरा भएछ । अनि मसँग पनि केपी ओलीको कविता छ भनेर कुरा भएछ । यो कविता भन्ज्याङ, पहिले अखबारजस्तो, बिस्तारै साहित्यिक पत्रिकामा उहाँले प्रकाशित गर्नुपर्छ । त्यसपछि यो खर्पन कविता चर्चामा आयो । ४१ सालमा लेखिएको यो कविता ३५ वर्षपछि भूपनिधिजिले उजागर गरिदिनुभयो ।

मैले पेन्सिलले स्केच बनाएर पेन्सिलले नै लेखेको कविता हो । मैले कविता लेख्ने भूपी शेरचनको कविताजस्तो लेख्छन्, हेर्छन् फेरि केर्छन् भन्ने कविताजस्तो मेरो बानी छैन ।

मेरो महाकाव्यबारेमा त्यो अलिकति सिद्धिन बाँकी थियो । करिब ६ महिना मेरो रचना लुटपाट भएको थिएन । त्यो ६ महिनाको बीचमा खण्डकाव्य, महाकाव्य, फुटकर रचनाहरु लेखिरहन्थेँ । एउटाचाहिँ १६ खण्डसम्म लेखिसकेको थिएँ, त्यो लुटियो । त्यो लुटिएपछि त्यतापट्टि नलागौं भन्ने भयो । त्यो एकदम प्रचलित नाम राखिएको थियो । आमा बित्नु भयो । ३ वर्षदेखि अहिलेसम्म म आमाको चेहरा सम्झिरहन्छु । ३ वर्षको उमेरमै आमा गुमाकोले होला आमा शब्दप्रतिको आत्मीयता विशेष छ । अरुलाई पनि यस्तै हुन्छ होला । त्यसकारण त्यो महाकाव्यको नाम ‘आमा’ नै राख्न मन लागेको थियो । तर त्यो लुटेर लगियो, अब इतिहासको कुरा भयो ।

मलाई धेरै आउँछ तर अरुकोसँग मिल्दैन । मेरो आफ्नै मौलिक पारा छ ।

मलाई एक पटक हार्मोनियम बजाउन बस्दा एक जना साथीले सोध्नु भयो, ‘हार्माेनियम बजाउन आउँछ ? भनेर । मैले ‘आउँछ’ भनें । हार्माेनियमको पछाडिबाट थिच्नु पर्छ । अगाडिबाट हावा दिएपछि बजिहाल्छ नि । मेरो जस्तो बजाउने तरिका बेग्लै छ । अरुकोसँग मिल्दैन । मलाई धेरै आउँछ तर अरुकोसँग मिल्दैन । मेरो आफ्नै मौलिक पारा छ ।

जुनसुकै कुरा पनि रुचि राख्थें । पौडी खेल्न नजान्दै पनि पोखरी हाम फाल्थें । कहिलेकही संकट पनि पर्थें । त्यही संकटबाट सिक्थें । मलाई जिज्ञासा धेरै हुन्थ्यो । त्यसैले चित्रकारिता विद्यालय कहिलेकाही सिकाउने कुरा हुन्थ्यो । नाटक सिकाउने काम पनि हुन्थ्यो । नाटक र चित्रकारितामा केटाकेटी बेलामा भाग लिन्थें । त्यसबेला भाग लिने काम हुन्थ्यो । वक्ृतत्वकला कार्यक्रमहरु हुन्थ्यो । मैले पनि चित्र कोर्ने गथें । कलम वा पेन्सिल जे भेटाए पनि चित्र कोर्ने गर्थें । मैले त्यसबेला पढेको छैन सिकेको छैन । मैले अलि अलि गर्छु ।

सुरुमा गोलघर जेलमा बस्दा निकै दुख थियो । त्यहाँ केही पनि दिइँदैन । पानी खाने भाँडो पनि दिइँदैन । त्यहाँ ठूलो लडाई गरेर माटाको सुराइ झिकाइयो । सिसाको कुनै पनि चिज दिइँदैन थियो । त्यहाँ सबै कुरामा शंका गरिन्छ । दुख दिने नियतले मात्रै लगिन्थ्यो । त्यहाँ पत्रिका, किताब कलम, कागज केही दिइँदैन थियो । रेडियोमा जडान गरेर माइक राखिएको हुन्थ्यो । त्यसबेला म बिरामी परेको थिएँ । त्यसबेला गेटको छेउमा डाक्टरहाँ जाँच गर्न लग्यो । तर त्यस्तो एउटा रमाइलो किस्सा छ । फर्किदा मैले चुरोटको विज्ञापन गर्न खोजेको होइन । तर सत्यकथा भन्न चाहन्छु । गोलघरमा फ्ल्याट चुरोट पाउँथ्यो । त्यो खाएर कसैले फ्याँकेको रहेछ । बाहिर १० खिल्ली चुरोट पाइन्छ भन्ने लेखेको हुन्थ्यो । जेलभित्र मैले चुरोटको खोल भेटेँ । मैले त्यो कागज भेटाएँ । मैले कागज नखेको केही महिना भएको थियो । त्यो चुरोटको खोल भेट्दा वा कागज भेट साथी भेटेजस्तो भयो मलाई । कागज भेट्दा आफन्त भेटाए जस्तो भएको थियो ।

संयोगले एउटा पेन्सिलको सानो टुक्रो पनि भेटाएँ । मेरो लागि त्यो सुन्दर संयोग थियो । चुरोटको खोल र पेन्सिलको टुक्रा टिप्दा भेट्दा मलाई सबैले हेर्थे । मानसिक रोगी रहेछ क्या हो भनेर हेरे । जे भेटायो त्यही टिप्दै हिंड्छ । सबै जना अचम्मित भए । तर मलाई असाध्यै नियन्त्रण राख्न खोजिन्थ्यो । आफूलाई शासन देखाउन खोज्ने त्यहाँका कामदार थिए । जेलभित्र पनि विभिन्न श्रेणीका नायके हुन्थे । मलाई एकजना कामदारले आफूलाई शासकीय रुपमा देखाउन खोज्जे र मलाई नियन्त्रण देखाउन खोज्थे । तीनको जीवन कहानी सुनेको थिएँ । एकदमै मार्मिक जीवन काहनी थियो । उनी माथि प्रहरी, वकिल लगायत सबैले नभएको कुरालाई पनि भएको बनाएर ठूलो सजायको भागीदार बनाएको थियो । उनको त्यस्तो पीडा थियो । उनको जीवन साँच्चै ठिठलाग्यो थियो । उनको जीवन र परिवारसँग जोडेर हेर्दा निकै मार्मिक थियो । त्यो चुरोटको खोलमा उनकै जीवन सम्झिएर लेखें र उनलाई मैले सुनाए । मैले चुरोटको खोलमा लेखेको कविता सुनाउँदै गर्दा उनी आँखाबाट आँसु खसाल्दै रोए र मलाई त्यो कविता मागे । मैले उनलाई तपाईकै लागि लेखिदिएको भनेर दिएँ । त्यसपछि मलाई चुरोटको खोलको खाँचो भए । त्यसपछि मैले कागज पाएँ । पेन्सिल सिमेन्टमा घोट्दै तिर्खादै लेख्थेँ । त्यसरी लेखनको सुरुवात भयो । पछि चुरोट खोलमा चाङ कविताहरु लेखें । ती जेलर सबै चुरोटको खोलमा देखिएको कविता जतन गरेर राखेका थिए । पछि सबै उठाएर लग्यो । ती जेलर पनि बिते । मलाई तीनले फुलिस्के कागज र पेन्सिल उपलब्ध गराए ।

गोलघरको बाहिरपट्टि लाइबे्ररी छ । त्यसमा केही हजार किताब होलान् । लाइब्रेरीको सदस्य भएपछि दिनमा २/३ ओटा दरले पढ्न सुरु गरें । त्यहाँ उपलब्ध भएका सबै शास्त्र पढेँ । त्यहाँ जे उपलब्ध छ सबै अध्ययन गर्दै गएँ । सबै शास्त्रमा केही न केही ज्ञान हुँदो रहेछ । सबै रुची साथ पढेँ । त्यसले मलाई लाभ नै गर्याे । त्यो लाइब्रेरीको १ वर्ष लगभग सबै पढेर सकेँ । कपितय पुस्तकहरु दोहो¥याएर पनि पढें ।

त्यो लाइब्रेरीको १ वर्ष लगभग सबै पढेर सकेँ ।

अहिले पढ्ने लेख्ने समय रातिमात्रै हो । दिउँसो समय निकाल्छु भनेर सम्भव छैन । म अलि कम सुत्छु । बिहान उठेदेखि व्यस्त हुने भएकोले रातिको समयमा मात्रै अध्ययन गर्छु । लेख्नु भनेको ज्ञानलाई संगठित गर्नु हो । पढ्नु सरसरती सूचना प्राप्त गर्नु हो । तर ज्ञानको रुपमा त्यसलाई संगठित गर्नको लागि लेख्नै पर्छ । ज्ञानलाई संगठित गर्न योजना नै गर्नु पर्छ । नत्र ज्ञान संगठित हुँदैन । कवि हुने भनेको वंैशको उत्तालोपन हो । सामाजिक न्याय, समनता खोज्यो भने वैंशको उत्तालोपन हो । पछि परिपक्व भएपछि सामाजिक न्याय, समानता किन चाइयो, समृद्धि किन चाइयो ?

कुराकानीको अन्त्यतिर उनले यसपालिको विश्वकप निकै रुचीपूर्वक हेरेको सुनाए । उनले भने, ‘म अर्जेन्टिनाको पक्षमा थिएँ । तटस्थ ढंगले अर्जेन्टिनाको । मौका मिल्दा पहिले खेल्थें । बुझ्छु पनि नियम पनि आउँछ । पास दिएको मिल्यो मिलेन भनेर पनि बुझ्छु । यस पटकको फाइनल म पनि उठेर हेरें । युवा उमेर उठेर हेरिन्थ्यो । तर म उठेर हेरें । खेलको सेन्टिमेन्टसँग बगेको थियो । खेल पनि राति भएकोले काम माया मार्नु पनि परेन । त्यसैले राति खेल हेर्न पाउँदा निकै आनन्द आयो ।’

Related News

सम्बन्धित समाचार

hero news full width