सरकार बनाउन पहलमा कांग्रेस गण्डकी

आदर्श समाज सम्वाददाता
पौष ४, २०७९
congress gandaki

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको पोखरामा आइतबार बसेको बैठकले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षमा बसेको बैठकले प्रदेशमा गठबन्धनमा संलग्न दलहरुको बहुमत भएकोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

निर्वाचनमा गण्डकी प्रदेश भित्रका जिल्लामा भएका गतिविधिका बारेमा छलफल भई निर्वाचनका सन्दर्भमा भएका कमीकमजोरीका विषयमा जिल्लाबाट प्रतिवेदन प्राप्त भइसकेपछि समीक्षा गरिने बताइएको छ ।

नेपाली कांग्रेसबाट गण्डकी प्रदेशमा प्रत्यक्षमा १८ जना निर्वाचित भएका छन् । समानुपातिकबाट ९ जना चयन भए । कांग्रेसबाट प्रदेशसभामा प्रत्यक्षतर्फ २१ क्षेत्रमा उम्मेदवार थिए । यस्तै प्रतिनिधिसभा सदस्यतर्फ १२ क्षेत्रमा कांग्रेसका उम्मेदवारमध्ये १० जना विजय हासिल गरेका छन् ।

बैठकमा पार्टीको निर्देशन अनुरुप कांग्रेसका उम्मेदवारलाई असहयोग गर्ने र गठबन्धनलाई समेत असहयोग गर्ने कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई कारबाहीका लागि जिल्लाबाट विवरण माग्ने समेत निर्णय गरेको प्रवक्ता मधु बास्तोलाले बताए ।

यस्तै, कांग्रेस संसदीय दलको नेताको निर्वाचन गर्नुपर्ने र यसका लागि नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ४ को ३ मा प्रदेश समितिले बनाएको निर्वाचन समितिले निर्वाचनको प्रक्रिया निर्धारण तथा निर्वाचन सम्पन्न गर्ने छ भन्ने प्रावधान रहेकोले आगामी हुने नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि निर्वाचन समिति बनाउन पदाधिकारीहरुलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको छ ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको समेत उपस्थिति थियो । बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले जिज्ञासा राखेको समितिका सदस्य एवम् प्रचारप्रसार समिति उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width