संसदमा स्वतन्त्रको निरन्तरता

रासस
मंसिर ११, २०७९
samsad-web_large

काठमाडौं । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा हालसम्म प्रतिनिधिसभामा ५ र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट २ मा किरणकुमार साह, रौतहट ३ मा प्रभु साह र बर्दिया २ मा लालवीर चौधरी निर्वाचित भएका छन् । प्रदेशसभातर्फ मधेस प्रदेशमा सबैभन्दा बढी ६ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । लुम्बिनीमा ३, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १÷१ स्वतन्त्र उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

मधेसको सप्तरी २ मा अनिरुद्रकुमार सिंह, महोत्तरी २ मा सुरिताकुमारी साह, सर्लाही १ मा जवाहरलाल कुशवाहा, रौतहट १ मा केशव राय, बारा १ मा शारदा शङ्करप्रसाद कलवार र पर्सा १ मा प्रमोदकुमार जयसवाल निर्वाचित भएका छन् ।
मनाङ २ मा राजीव गुरुङ, रुकुमपूर्व १ मा सुरल पुन, रोल्पा २ मा दीपेन्द्रकुमार पुन मगर, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) १ मा खड्ग बस्नेत, कर्णालीको जुम्ला १ मा देवेन्द्रबहादुर शाही तथा सुदूरपश्चिमको डडेलधुरा २ मा ताराप्रसाद जोशी निर्वाचित भएका छन् ।

०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा १ तथा प्रदेशसभामा ३ वटा प्रदेशमा १/१ जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । प्रदेश १, मधेस र गण्डकीमा १/१ जना स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए ।

लोकतान्त्रिक मुलुकमा राजनीतिक दल नै निर्णायक शक्ति भए पनि मुलुकको निर्वाचनको इतिहासमा स्वतन्त्र उम्मेदवारको उपस्थित पनि निरन्तर रहेको देखिएको छ । मुलुकमा प्रजातन्त्रको पुनःबहालीपछि आमनिर्वाचन २०४८ देखि हालसम्मका निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको उपस्थिति रहँदै आएको देखिएको छ ।

२०४८ को आवधिक निर्वाचनमा २ सय १९ स्वतन्त्रसहित २० राजनीतिक दलका १ हजार ३ सय ४५ उम्मेदवार प्रतिस्पर्धामा थिए । उक्त निर्वाचनमा ३ स्वतन्त्रसहित २ सय ५ जना विजयी भएका थिए ।

यसपालिको निर्वाचनमा हालसम्म प्रतिनिधिसभामा ५ र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी

सो निर्वाचनमा नेपाली कांग्रेस १ सय १०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ६९, संयुक्त जनमोर्चा ९, नेपाल सद्भावना पार्टी ६, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) ३, नेपाल मजदुर किसान पार्टी २, नेपाल कम्युनिस्ट पार्टी (प्रजातान्त्रिक) २, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) १ र तीन स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगको अभिलेखमा देखिन्छ ।

२०५१ को मध्यावधि निर्वाचनमा २४ राजनीतिक दलका तर्पmबाट १ हजार ५७ र स्वतन्त्र ३ सय ८५ उम्मेदवार थिए । तीमध्ये राजनीतिक दलका तर्पmबाट १ सय ९८ र स्वतन्त्र ७ जना निर्वाचित भए । सो निर्वाचनमा एमाले ८८, कांग्रेस ८३, राष्ट्रिय प्रजातन्त्र पार्टी २०, नेपाल मजदुर किसान पार्टी चार, नेपाल सद्भावना पार्टी तीन र सात स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका थिए ।

२०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४० राजनीतिक दलका तर्पmबाट १ हजार ६ सय ५ र स्वतन्त्र ६ सय ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । उक्त निर्वाचनमा भने कुनै पनि स्वतन्त्र उम्मेदवार विजयी भएनन् । २०५ सदस्यीय प्रतिनिधिसभाका सबै सदस्य राजनीतिक दलका तर्पmबाट निर्वाचित भएका थिए ।

उक्त निर्वाचनमा कांग्रेस १ सय ११, एमाले ७१, राप्रपा ११, नेपाल सद्भावना पार्टी ५, राष्ट्रिय जनमोर्चा ५, संयुक्त जनमोर्चा १ र नेमकिपाले १ स्थान जितेको थियो ।

२०६४ को संविधानसभा सदस्य निर्वाचनमा ७४ दल दर्ता भएका थिए । तीमध्ये प्रत्यक्षतर्फ ५४ दलका ३ हजार १ सय ३० उम्मेदवारले भाग लिएका थिए । सो निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा (माओवादी) १ सय २०, कांग्रेस ३७, एमाले ३३, मधेसी जनअधिकार फोरम नेपाल ३०, तराई मधेस लोकतान्त्रिक पार्टी ९, सदभावना पार्टी ४, जनमोर्चा नेपाल २, नेपाल मजदुर किसान पार्टी २, राष्ट्रिय जनमोर्चा १ र स्वतन्त्र उम्मेदवार २ स्थानमा विजयी भएका थिए ।

०७० को दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ कांग्रेस १ सय ५, एमाले ९१, एकीकृत नेकपा (माओवादी) २६, राष्ट्रिय प्रजातन्त्र पार्टी ३, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ४, मधेसी जनअधिकार फोरम नेपाल २, तराई–मधेस लोकतान्त्रिक ४, सद्भावना पार्टी १, नेमकिपा १, तराई–मधेस सद्भावना पार्टी नेपाल १ र स्वतन्त्र उम्मेदवार २ स्थानमा विजयी भएका थिए ।

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ९ राजनीतिक दल र १ जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । सो निर्वाचनमा प्रत्यक्षतर्फ एमाले ८०, कांग्रेस २३, माओवादी केन्द्र ३६, राजपा नेपाल ११, संघीय समाजवादी फोरम नेपाल १०, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति पार्टी १÷१ तथा एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width