गण्डकीमा दलको अंकगणित : पहिले जित, अहिले हार

प्रकाश ढकाल
मंसिर ९, २०७९
Congress UML Moist

पोखरा । गएको २०७४ सालको आमनिर्वाचनमा गण्डकी प्रदेश सभाअन्तर्गत एमाले पहिलो पार्टी हो । एमालेले १७ प्रत्यक्ष र १० समानुपातिक सिटसहित २७ सिट जितेको थियो । दोस्रो पार्टी कांग्रेसको निकै कम सिट थियो । कांग्रेसले प्रत्यक्षतर्फ माओवादीको भन्दा कम सिट जितेको थियो ।

कांग्रेसको प्रत्यक्षमा ६ र समानुपातिकमा ९ सहित १५ सिट थियो । माओवादीले ९ सिट प्रत्यक्ष र ३ सिट समानुपातिक गरी १२, राष्ट्रिय जनमोर्चाको प्रत्यक्षमा २ र समानुपातिक १ गरी ३ तथा तत्कालीन नयाँ शक्ति पार्टीको १ प्रत्यक्ष र १ समानुपातिक सिट थियो । स्वतन्त्रको १ सिट थियो ।

यो निर्वाचनमा केही यस्ता नतिजा आएका छन्, जहाँ पहिले जितेको पार्टीले अहिले विरासत जोगाउन सकेन । पहिले एमालेले चुनाव जितेको गोरखा क्षेत्र १ (ख) मा अहिले कांग्रेस विजयी भयो । बाँकी ३ सिट पुरानै निरन्तरता भयो ।

तनहुँमा अघिल्लो चुनावमा कांग्रेसले कुनै सिट जितेको थिएन । अहिले २ सिट थपेको छ । अघिल्लो पटक कांग्रेस लमजुङमा ‘निल’ भएकोमा अहिले २ सिट हात पा¥यो । बागलुङका सबै सिट पहिले कांग्रेसले गुमाएको थियो । यो चुनावमा चारै सिट जित्न सफल भयो । २०७४ को चुनावमा एमालेको ‘क्लीन स्वीप’ यसपालि कांग्रेसले फिर्ता लियो ।

अघिल्लो चुनावमा कांग्रेसले जितेका ठाउँमा अहिले एमाले विजयी भएका क्षेत्र पनि छन् । तर त्यहाँ कांग्रेसका उम्मेदवार थिएनन् । नवलपुर क्षेत्र २ (क) पहिले कांग्रेसले जितेको हो । अहिले यहाँ एमाले विजयी भएको छ । यो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार प्रतिस्पर्धामा थिए । पहिले माओवादीले जितेको तनहुँ २ (क) मा अहिले एमाले विजयी भयो । माओवादीले नै जितेको स्याङ्जा क्षेत्र १ (क), कास्की क्षेत्र १ (क) र ३ (क) मा एमाले विजयी भएको छ । यो तीनै क्षेत्रमा अहिले पनि माओवादीकै उम्मेदवार थिए ।

प्रदेशसभातर्फ गण्डकीका ३६ निर्वाचन क्षेत्रमध्ये १० क्षेत्रमा पहिलेकै सांसद दोहोरिन खोजेका थिए । तीमध्ये आधा सांसदमात्रै दोहो¥याएर चुनाव जितेका छन् । तनहुँ क्षेत्र १ (ख) बाट माओवादीका हरिबहादुर चुमानले चुनाव जितेका छन् । कास्की क्षेत्र २ (ख) बाट कांग्रेसका बिन्दुकुमार थापा, नवलपुर १ (ख) बाट एमालेकै रोशन गाहा थापा, मनाङ (ख) बाट राजीव गुरुङ (दीपक मनाङे) दोस्रो पटक अनुमोदित भए ।

गठबन्धन तितरवितर भएका कारण नतिजामा फरक

एमालेका मुस्ताङ (क) का उम्मेदवार इन्द्रधारा विष्ट र (ख) का चन्द्रमोहन गौचन, तनहुँ १ (क) का रामबहादुर गुरुङ पराजित भए । गौचन समानुपातिक सांसद हुन् । स्याङ्जा क्षेत्र २ (क) का मोहन रेग्मीको मतगणना सुरु भएको छैन भने कास्की ३ (ख) का राजीव पहारीको गणना पनि सकिएको छैन । विगतमा दुवै जना एमालेबाट विजयी भएका थिए । अघिल्ला सांसद रहेका कास्की १ (क) मा माओवादीका दीपक कोइरालाको पनि गणना सकिएको छैन ।

पहिलेको चुनावमा एमाले र माओवादीको गठबन्धन थियो । अहिले गठबन्धन टुटेर माओवादी कांग्रेसको साथ लाग्यो । त्यसैले पनि अघिल्लो चुनावका सहयात्री अहिले प्रतिस्पर्धी बनेका छन् । गठबन्धन तितरवितर भएका कारण नतिजामा फरक परेको हो । त्यतिमात्रै होइन, अघिल्लो पटक प्रदेश सांसद भएर कार्यकाल बिताएकाहरु अहिले संघमा प्रतिस्पर्धा गर्दा केही पराजित भएका छन् । एमाले गोरखा १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामशरण बस्नेत अघिल्लो पटक सोही क्षेत्रको (ख) बाट निर्वाचित भएका थिए । तनहुँ २ का एमाले उम्मेदवार किरण गुरुङ अघिल्लो चुनावमा सोही क्षेत्रको (क) बाट निर्वाचित भएका थिए । अहिले उनी प्रतिनिधि सभा सदस्य बन्न सकेनन् ।

गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ अहिले लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित भए । उनी यसअघि लमजुङ (ख) बाट चुनाव जितेका थिए । कास्की १ का एमाले उम्मेदवार मनबहादुर गुरुङ अघिल्लो पटक सोही क्षेत्रको (ख) बाट जितेका सांसद हुन् भने प्रतिनिधि सभा सदस्यमा कास्की ३ का माओवादी उम्मेदवार रामजी बराल ‘जीवन’ पहिले क्षेत्र ३ (क) बाट जितेका थिए । उनीहरुको गणना सकिएको छैन ।

अघिल्लो चुनावमा प्रतिनिधि सभाअन्तर्गत गण्डकीका १८ मध्ये कांग्रेसले १ सिटमात्रै जितेको थियो । नवलपुर १ मा डा. सशांक कोइराला अहिले पनि सोही क्षेत्रबाट निर्वाचित भए । कांग्रेसले आफ्नो जीत जोगाउँदै थप ८ सिटमा जीत निकालेको छ ।

तनहुँ र नवलपुरका दुवै क्षेत्र, गोरखा १, मनाङ, मुस्ताङ, म्याग्दीमा कांग्रेस उम्मेदवार विजयी भइसकेका छन् । स्याङ्जाको नतिजा आएको छैन । माओवादीले चुनाव जितेको लमजुङ अहिले एमालेलाई सुम्पियो । अघिल्लो पटक एमालेले जितेका ६ सिट गुमाइसकेको छ । अझै केही सिटको नतिजा आउन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width