बेद बहादुर गुरुङ : पालिकाबाट प्रदेश

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७९
shyam

पोखरा । वेदबहादुर गुरुङ खासमा श्यामको नामले चर्चित छन् । उनको जन्म २०२७ सालमा नामर्जुङमा भएको हो । राजनीतिक करियर भने २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रको ‘कु’ विरुद्धको आन्दोलनसँगै भयो । उनी त्यसबेला सडक आन्दोलनमा उत्रिए । पछि २०६२/०६३ सालको आन्दोलनमा उनले अग्रणी भूमिका नै खेले । प्रहरीको लाठ्ठीले घाइते भए । त्यसबेला २१ दिन हिरासतमा बिताएका थिए ।

२०६४ मा एमाले कास्की जिल्ला कमिटी सदस्य बनेका उनी ०६६ मा जिल्ला सचिवालय सदस्य, २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् निर्वाचित सदस्य बने । २०६८ देखि एमाले गण्डकी अञ्चल कमिटी सदस्य बनेका उनी २०७४ पछि नेकपा गण्डकी प्रदेश कमिटी सदस्यको रुपमा काम गरे । गत वर्ष एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बने । नेपाल लोकतान्त्रिक तमु संघको संस्थापक संयोजक र संस्थापक महासचिव उनी हालका अध्यक्ष पनि हुन् ।

२०७४ सालको स्थानीय तहको चुनावमा मादी गाउँपालिका अध्यक्षमा निर्वाचित भए । अध्यक्ष छँदा उनले त्यस क्षेत्रका सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार निर्माण, नीति निर्माणमा महत्वपूर्ण काम गरेको स्थानीय ऋषिराम दाहाल सम्झिन्छन् ।

श्यामको अर्को परिचय कलाकार पनि हो । राजनीतिसँगै लामो समय कलाकारितामा लागेका उनले थुप्रै गुरुङ सिनेमामा अभिनय र निर्देशन गरेका छन् । विशुद्ध गुरुङ सिनेमा बनाएर गुरुङ जातिको संस्कार संस्कृति जोगाउन योगदान पुर्‍याएका छन् । सिनेमामात्र नभई गुरुङ संस्कार संस्कृतिमाथि लेख, रचना, गीत संगीत सिर्जना गरेका छन् । २०५२ सालमा बनेको गुरुङ चलचित्र कुहिरो भित्रबाट अभिनय सुरु गरेका उनले त्यसपछि गोठालो खेले । उनले आफ्नै निर्देशनमा हाम्रो गाउँ घर नामक गुरुङ चलचित्र बनाए । हालसम्म दर्जनांै चलचित्र निर्माण गरेका उनले गुरुङ फिल्म एसोसियसनमा २ कार्यकाल अध्यक्ष भई जिम्मेवार सम्हालेका थिए । आफ्नो भाषा, संस्कार अनि संस्कृति जोगाउन योगदान दिएका छन् ।

अहिलेको चुनावमा श्यामले ८ सय ६७ मतान्तरले जीत हात पारेका हुन् । उनले १२ हजार ६ सय ६१ र उनका निकटतम् प्रतिस्पर्धी पाँचदलीय गठबन्धनबाट कांग्रेसका उम्मेदवार दीपक गुरुङले ११ हजार ७ सय ९४ मत प्राप्त गरे । राप्रपाका महेन्द्रबहादुर कार्कीले ३ हजार ६ सय ५६ मत पाए ।

Related News

सम्बन्धित समाचार

hero news full width