युवा रोजे मुस्ताङीले

प्रकाश ढकाल
मंसिर ६, २०७९
Mustang Election

पोखरा । चुनावमा डेब्यु प्रतिस्पर्धा । तीनै क्षेत्रमा निवर्तमान सांसद प्रतिस्पर्धी । त्यसमाथि एमाले ‘गढ’ हिमालपारिको जिल्ला मुस्ताङ ।

यहाँको प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सिटमा चुनाव जित्ने एमाले आकलन थियो । स्थानीय तहको निर्वाचनदेखि पछिल्ला गतिविधिले पनि एमालेलाई निकै बलियो सावित गरेको थियो । मुस्ताङका ५ स्थानीय तहमध्ये एउटा पालिकाको अध्यक्षमात्रै जितेको कांग्रेस पनि मुस्ताङ चुनाव जित्नेमा आशावादी थिएन । वर्षौंदेखि राजनीति गरेर खारिएका एमाले हेभिवेट उम्मेदवारका अगाडि ‘निम्छरो’ आकलन गरिएका कांग्रेसका तीनै उम्मेदवारले मुस्ताङलाई कांग्रेसको ‘गढ’ बनाए ।

कांग्रेसले चुनाव नजित्ने देखेपछि तीनै जना ४० वर्षभन्दा कम उमेरका युवालाई टिकट दियो । एमालेका उम्मेदवार भने तीनै जना ५० वर्ष कटेका ।

आइतबारको निर्वाचनमा पहिलोपल्ट अन्तिम मतपरिणाम सार्वजनिक हुँदा प्रतिनिधि सभा सदस्यमा कांग्रेसका २९ वर्षका योगेश गौचन थकालीले बाजी मारे । उनको जीत निकै रोचक छ । उनले एमालेका निवर्तमान सांसद प्रेम तुलाचनविरुद्ध उम्मेदवारी दिएका थिए । तुलाचन यस्ता व्यक्ति हुन्, जो लामो समय रोमी गौचनले कांग्रेसमा अवसर नदिएको असन्तुष्टीमा कांग्रेस छोडेर २०७४ को निर्वाचनमा एमाले प्रवेश गरे । उनी एमाले छिरेनन् मात्रै विपक्षी पार्टीबाट उनै रोमीलाई पराजित समेत गरे ।

योगेशले अहिलेको निर्वाचनमा ६० वर्षका तुलाचनलाई हराएर संसदीय ढोकामात्रै खोलेनन्, आफ्नै बाबुलाई हराउनेविरुद्ध चुनाव जितेर २०७४ को बदला लिए । योगेश उनै रोमीका छोरा हुन् । उनले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिस्पर्धी तुलाचनले ३ हजार ७८ मतमात्रै पाएका छन् । रोमीले लामो समय मुस्ताङको राजनीति गरे । पछिल्ला निर्वाचनमा उनीविरुद्ध कांग्रेसका नेता कार्यकर्ता नै एकजुट हुन थालेपछि विस्तारै उनको ‘क्रेज’ कमजोर हुँदै गयो । उनकै कारण धेरै कांग्रेसीहरु पार्टी छोडेर एमालेमा लागे । कांग्रेसकै असन्तुष्टलाई समेटेर एमालेले २०७४ मा मुस्ताङलाई आफ्नो किल्ला बनायो । अहिले पनि मुस्ताङको चुनावका लागि रोमीलाई नै कांग्रेसले आधिकारिक टिकट दिएको थियो । उनले आफ्नो टिकट छोरालाई थमाए । भारतमा स्नातकोत्तर पढेर आएका योगेश पर्यटन व्यवसायी हुन् ।

यसपालि मुस्ताङमा युवा उमेरको ‘कार्ड’ ले अप्रत्यासित रिजल्ट निकालेको छ । मुस्ताङबाट विजयी भएका योगेशमात्रै होइन, तीनै सांसद ४० वर्ष भन्दा कम उमेरका छन् । प्रदेश सभा (क) बाट चुनाव जितेका नम्डु गुरुङ ३३ वर्ष टेके । उनले निवर्तमान प्रदेश सभा सांसद इन्द्रधारा विष्टलाई हराएर संसदमा डेब्यु गरे । उनी गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजित भएका थिए । अहिले नम्डुले १ हजार ४८ मत पाए भने निकटतम् प्रतिस्पर्धी विष्टले ७ सय ९३ मत पाए । उनका प्रतिस्पर्धी विष्ट समुदायमा चिनिएका उम्मेदवार हुन् । ५३ वर्षका विष्ट चुनाव जितेर प्रदेशको मन्त्री हुने दाउमा थिए ।

कांग्रेसले चुनाव नजित्ने देखेपछि तीनै जना ४० वर्षभन्दा कम उमेरका युवालाई टिकट दिएको थियो

प्रदेश (ख) मा कांग्रेसका विकल शेरचन निर्वाचित हुँदा एमालेका चन्द्रमोहन गौचनले लज्जास्पद हार व्यहोरे । लामो समय एमाले मुस्ताङ धानेका र पार्टी अध्यक्ष भएर काम गरेका उनी अघिल्लो चुनावमा समानुपातिकतर्फबाट प्रदेश सभा सांसद थिए । विकलले गौचनलाई १ सय ५८ मतअन्तरले हराएका हुन् । शेरचनले २ हजार ७ सय २३ मत ल्याउँदा गौचनको पक्षमा २ हजार ५ सय ६५ मत आएको छ । विकल कोरियाबाट फर्केर राजनीतिमा जोडिएका थिए । उनी जनसम्पर्क समिति दक्षिण कोरियामा आवद्ध कांग्रेसको सक्रिय राजनीतिमा थिए । विकल ३९ वर्षका भए भने चन्द्रमोहन ५५ वर्षका हुन् ।

योसँगै मुस्ताङमा कांग्रेसले क्लिन स्वीप पारेको छ । मुस्ताङमा ‘बा’ पुस्तालाई पाखा लगाएर यु–४० अर्थात् ४० वर्षभन्दा कम उमेरका उम्मेदवार विजयी भएका हुन् । मुस्ताङमात्रै होइन, देशका अधिकांश निर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा युवा पुस्ताका उम्मेदवार हावी भएका छन् । वृद्ध उमेरका प्रतिस्पर्धी हराएर युवा उमेरका उम्मेदवार संसद छिर्ने सम्भावना धेरै क्षेत्रमा देखिन्छ ।

मनाङमा टेक र मुनिन्द्र निर्वाचित

मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

४ हजार ४ सय ९१ मतगणनामा उनले एमालेका पोल्देन छोपाङ गुरुङलाई झण्डै ३ सय मतान्तरले पछि पारेका छन् । अब ४ सयमात्र मत गन्न बाँकी भएकोले उनको जीत सुनिश्चित भएको हो ।

टेकले २ हजार ३ सय ७४ मत ल्याउँदा पोल्देनले २ हजार ९५ मत ल्याएका छन् । २०७४ सालको चुनावमा छोपाङले टेकबहादुर हराएका थिए ।

यसअघि, मनाङ प्रदेश सभा (क) बाट कांग्रेसका मुनिन्द्रजंग गुरुङ सांसदमा विजयी भएका छन् । उनले एमालेका राजन गुरुङलाई ३ सय ३० मतअन्तरले हराएका हुन् । मुनिन्द्रको १ हजार २ सय ५५ मत आउँदा राजनले ९ सय २५ मतमात्रै पाए ।

जिल्लाको प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसकेका हुन् । राजीव गण्डकीका युवा तथा खेलकुद मन्त्री समेत हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width