निर्वाचन तयारी : बार लगाउने, तारले छेक्ने

धनबहादुर गुरुङ
मंसिर ३, २०७९
Election Prepare Photo 2

पोखरा । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीका मतदानस्थलमा आवश्यक तयारी तीव्र पारिएको छ । कास्कीका १ सय ५० मतदानस्थलका ३ सय ४४ मतदान केन्द्रमा कर्मचारीले आवश्यक तयारी अन्तिम चरणमा पु¥याएका छन् ।

मतदानस्थलको निर्माण तथा आवश्यक सुरक्षा लगायतका काम तीव्र रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार शुक्रबार नै सबै मतदान केन्द्रमा मतपत्र पु¥याइएको छ । निर्वाचनका लागि खटिएका कर्मचारीहरु निर्वाचन सामग्रीसहित बिहीबार मतदान केन्द्रमा पुगेका थिए । आयोगले मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने लगायतका विषयमा आवश्यक तयारी गरिसकेको जनाएको छ ।

कास्की क्षेत्र ३ अन्तर्गत सामुदायिक भवन बसुन्धरा पार्क मतदान केन्द्रकी निर्वाचन अधिकृत गीता घिमिरे दोरंगाले आवश्यक तयारी गरिएको जानकारी दिइन् । ‘हिजो मतदानका लागि आवश्यक सामग्री ल्याएर आज (शुक्रबार) सर्वपक्षीय बैठक सक्यौं,’ उनले भनिन्, ‘मतपत्र बुझेर भोलि (शनिबार) बिहानैदेखि अन्य तयारीमा जट्ने छौं । सकेसम्म गुनासोरहित बनाएर सक्ने लक्ष्यमा छौं ।’ सो मतदान केन्द्रमा महिला कर्मचारीमात्र खटिएका हुँदा नमुना मतदान केन्द्र बनाउने प्रयास गरिएको छ ।

जिल्लाका ३ ओटै निर्वाचन अधिकृतको कार्यालयमा मतगणना स्थलको समेत तयारी भइरहेको कास्की क्षेत्र ३ अन्तर्गत निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी राजाराम पौडेलले बताए । कास्की क्षेत्र १ को माटेपानीस्थित पशु सेवा कार्यालय, क्षेत्र २ को सभागृह हल र क्षेत्र ३ को जिल्ला समन्वय समिति (जिसस) हलमा मतगणना हुँदैछ ।

निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाउने बताए पनि कास्कीको सबै क्षेत्रमा तारजाली लगाएर मतगणना गरिने सूचना अधिकारी पौडेलले जानकारी दिए । ‘क्षेत्र नम्बर २ को मतगणना २ वटा हलको ४ स्थानमा मतगणना हुँदैछ,’ उनले भने, ‘आज (शुक्रबार) नै २ वटै हलमा तारजाली लगाउने कार्य भइरहेको छ ।’

निर्वाचन आयोगले मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी, अपांगतामैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन निर्देशन दिएको छ । आइतबार देशभर १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलका २२ हजार २ सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्ने छन् ।

निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १ सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

प्रदेशसभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।

कास्कीमा ९ प्रतिनिधि छान्न प्रतिनिधिसभातर्फ ४६ र प्रदेशतर्फ ४५ गरी ९१ उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लामा २ लाख ९१ हजार ५ सय ६८ मतदाता छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width