पोखरामा मिर्गौला रोगसम्बन्धी सचेतना

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०७९
Kidney

पोखरा । मिर्गौला पीडित सरोकार समाज नेपाल कास्की र विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था (नेलम्बो) नेपालको संयुक्त आयोजनामा पोखरामा मिर्गौला रोगसम्बन्धी सचेतना कार्यक्रम भएको छ ।

कार्यक्रममा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले मानव जीवनमा मिर्गौलाको ठूलो महत्व रहेको भन्दै मिर्गौला स्वास्थ राख्न खानपान र जीवनयापनमा ध्यान दिन आग्रह गरे । उनले आफ्नो वडाले अघि सारेका विकास र जनसेवाका कामबारे पनि सो अवसरमा चर्चा गरे ।
कार्यक्रममा मिर्गौला रोग लागेमा शरीर सुनिने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने, खाना रुची कम हुने, वाकवाकी लाग्ने, शरीरमा रगत कम भएर सेतो हुँदै जाने, शरीरको छला गाढा कालो भएर जाने, श्वास फेर्न गाह्रो हुने लगायत लक्षण देखिने चर्चा गरिएको थियो ।

त्यसका लागि रक्तचाप र मधुमेहको नियमित परीक्षण गरी नियन्त्रणमा राख्नुपर्ने, स्वस्थ व्यक्तिले पनि बर्सेनि रगत र पिसाबको जाँच गर्नुपर्ने, सन्तुलित भोजनको सेवन गरी प्रशस्त पानी पिउनुपर्ने, जथाभावी औषधी प्रयोग गर्न नहुने, नियमित शारीरिक व्यायम गरी शरीको तौल नियन्त्रणमा राख्नुपर्ने र सही श्रोतबाट सूचना लिनुपर्ने समाजका संरक्षक उपेन्द्रराज गौतमले बताए । उनले यो रोग लागे चिकित्सकको सल्लाहबमोजिम समयमा नै रोगमाथि नियन्त्रण राख्ने कोशिस गर्नुपर्ने, मिर्गौला फेल भएमा सकेसम्म प्रत्यारोपण गर्नुपर्ने र प्रत्यारोपण सम्भव नभए हेमोडाइलाइसिस सेवा लिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेलम्बो नोपलका फन्डिङ र पार्टनरसिप को–अर्डिनेटर डा. श्रीकिशन कोइराला र सोही संस्थाका संचालक समिति उपाध्यक्ष सरोज कोइरालाले पनि बोलेका थिए । मिर्गौलापीडित सरोकार समाज नेपाल कास्की अध्यक्ष सञ्जयकुमार रानाभाटको अध्यक्षतामामा भएको कार्यक्रममा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. अमृत केसी, लामो समयदेखि डाइलाइसिस गरिरहेका उपेन्द्रराज गौतम र मिर्गौला प्रत्यारोपण गरेका प्रदीप गुरुङले मिर्गौला रोग र मिर्गौला स्वस्थ राख्न गर्नुपर्ने कार्यबारे चर्चा गरेका थिए ।
कार्यक्रम संचालन कमलप्रसाद गुरुङले गरेका थिए ।

कार्यक्रममा नवीन माविका विद्यार्थी, सृजनाशील महिला समूह पोखरा ४ गणेशटोल, जनहित महिला समूह पोखरा ४ कालिमाटी, सर्वेश्वर नारी समूह पोखरा ४ गैह्रापाटन, मिस नेवाः पोखरा पुचः पोखरा ४ रामकृष्ण टोल, समाजसेवा समिति पोखरा ४ चिप्लेढुंगा र नेपाल आदर्श महिला समूह पोखरा ४ को उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width