निसिमको सपना निमेषभरमै चुँडियो

धनबहादुर गुरुङ
असाेज ३१, २०७९
Nisim Thapa Story Photo 1

पोखरा । प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्वर्ण पदक जित्ने सपना आइतबार निमेषभरमै चुँडियो । खेलाडी भएपछि घाँटीमा पदक झुन्ड्याउने सपना सबैले बुन्छन् । पदकको आशा बोकेका निसिमको सपना भने अधुरै रह्यो । आइतबार पोखराको आकाशमा उड्दाउड्दै उनको प्राणपखेरु उड्यो । उनको मृत्युपछि नेपालको प्याराग्लाइडिङ खेलले एक उत्कृष्ट खेलाडी गुमायो । थापा परिवारको एक्ला सन्तानलाई प्याराग्लाइडिङले हावामा सधैंका लागि उडायो ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टका खेलाडी थिए, २६ वर्षीय निसिम । उनी नवौंका लागि त्रिभुवन आर्मी क्लबमा करारमा अनुबन्ध भएका हुन् । प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ शनिबारबाटै सुरु भएको हो । शनिबार निमिसले उत्कृष्ट प्रदर्शन गरेका गरेका थिए । आइतबार अझै आफ्नो कौशल देखाउँदै उपाधि चुम्ने सपना बुनेर उनले आइतबार पहिलो उडान गरेका थिए ।

सराङकोटबाट टेक अप गरेको निसिमको ग्लाइडको एक भागलाई हावाले खुम्च्याइदियो । करिब ५०/६० मिटरमाथि पुगेका उनको ग्लाइड फनफनी घुम्यो र जमिनतिर खस्दै बजारियो । दुर्घटनामा परेका निमिसलाई तत्कालै उपचारका लागि अस्पताल पु¥याइयो । तर डाक्टरले प्राण गइसकेको जानकारी गराए । यसरी आकाशमा उडेका निमिसको जमिनमा बजारिदैं प्राण गयो । प्रत्यक्षदर्शीकाअनुसार उडेको ५ मिनेट हाराहारीमा निसिम दुर्घटनामा परेका हुन् । दुर्घटनाको कारण भने खुलेको छैन ।

उनी उड्नुभन्दा अघि मौसम र हावाको गति परीक्षण गर्न एपीएफका प्रशिक्षक सुरेन गुरुङ उडिसकेका थिए । त्यसपछि मात्र खेलाडीमध्ये निसिम उडेका हुन् । उनी उडेको केही समयपछि हेर्दा ग्लाइडर दुर्घटनाको अवस्थामा पुगेको सुरेनले बताए । ‘ग्लाइडर कोल्याप्स (ग्लाइडर खुम्चिने अवस्था) भएर घुमेको थियो । उचाइ नभएपछि ग्लाइडर खोल्न नपाउँदै जमिनमा ठोकिहाल्यो,’ सुरेनले सुनाए ।

प्रत्यक्षदर्शीकाअनुसार उडेको ५ मिनेट हाराहारीमा निसिम दुर्घटनामा परेका हुन् । दुर्घटनाको कारण भने खुलेको छैन

मौसम सफा भएकाले पाइलटहरूले मौसमलाई दुर्घटनाको कारण मानेका छैनन् । कहिलेकाहीं ग्लाइडरको एउटा भागमा हावाको चाप परिरहँदा पाइलटले मेसो पाउँदैनन् । त्यस्तोबेला ग्लाइडर खुम्चिन्छ । यही कारण दुर्घटना भएको अनुमान गरिए पनि यकीन छैन । उचाइमा भएको भए उनको आसपास भएकाले रेस्क्यु ग्लाइडर फाल्न मिल्थ्यो । तर, निसिम जमिनकै नजिक रहँदा र आसपास अरु नहुँदा उद्धार गर्न सक्ने समय भएन ।

निसिम पोखराकै एउटा प्याराग्लाइडिङ कम्पनीमा व्यावसायिक उडान पनि गर्थे । उनले प्याराग्लाइडिङ गर्न थालेको ९ वर्ष भएको थियो । यससँगै इन्डोनेसिया, कोरिया, भारतका प्रतियोगितामा निसिम सहभागी भएका थिए । निसिमको वल्र्डकप नै जित्ने सपना रहेको उनका प्याराग्लाइडिङ पाइलट साथी अर्जुन बरालले सुनाए । ‘उनको सपना, योजना सम्झनामात्रै रह्यो,’ उनले भने ।

गोरखा घर भएका निसिम पोखरा–१० अस्पताल चोकका बस्दै आएका छन् । निसिमका बुबा प्रकाश थापा भूपू शिक्षक हुन् । पोखरामै रिच वाटर मन्टेसरी चलाइरहेकी सावित्री मोक्तान र थापाले एक्लो सन्तान गुमाएका छन् । उनको निधनले सिंगो पोखरेली प्याराग्लाइडिङ क्षेत्रलाई नै स्तब्ध बनाएको नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष सुनीलबहादुर भट्टराईले बताए ।

पोखरामा जारी प्रतियोगितमा त्रिभुवन आर्मी, एपीएफ, गण्डकी, कर्णाली र प्रदेश नम्बर १ सहभागी छन् । शनिबारको खेलका आधारमा आर्मीको रेकर्ड राम्रो छ । निसिम आर्मीबाटै आठौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङअन्तर्गत क्रस क्रन्ट्री विधामा पनि सहभागी थिए । त्यतिबेला आर्मीले रजत पदक जितेको थियो । तर, निसिमको निधनसँगै प्रतियोगिता अनिश्चित बनेको छ भने नागरिक उड्डयन प्राधिकरणले नेपालभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध पनि लगाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width