शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७९
Satyamohan

पोखरा । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पनि पुष्टि भएको थियो ।

अहिले उनको पार्थिक शरीर किष्ट अस्पतालको प्रांगणमामा श्रद्धाञ्जलीका लागि राखिएको छ । जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीको उपचारकै सिलसिलामा आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।

वि.सं. १९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका थिए । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् । उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको हो । २०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो । जोशीप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width