कांग्रेस गण्डकीको विभिन्न समिति

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७९
congress gandaki

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि विभिन्न समिति गठन गरेको छ ।

प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको बैठकले घोषणापत्र तयारी समिति संयोजकको जिम्मा महामन्त्री विष्णुप्रसाद लामिछानेलाई दिएको छ । घोषणापत्रमा गण्डकी प्रदेशमातहतका जिल्लावासीको जीवनस्तर परिवर्तनका लागि समस्या र समाधान समेटी सम्बोधन गरिनुपर्ने विषयवस्तुबारे जिल्ला कार्यसमितिसँग राय सुझाव माग गर्नेसमेत निर्णय गरेको छ ।

यस्तै, प्रचारप्रसार समितिमा अर्का महामन्त्री किरणबाबु श्रेष्ठलाई संयोजक तोकेको छ भने आर्थिक परिचालन समिति संयोजकमा प्रदेश कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ रहेको प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले जानकारी गराए ।

बिपी स्मृति पुस्तकालय संचालन समिति संयोजकमा प्राडा कुशुमाकर न्यौपाने र अक्षयकोष तथा पुरस्कार व्यवस्थापनको संयोजकत्वमा प्रवक्ता मधुलाई तोक्ने निर्णय गरिएको छ । बैठकले जनतालाई अप्ठ्यारो पर्ने गरी ल्याएको करमा पुनर्वलोकन गर्न समितिले गरेको निर्देशनलाई गण्डकी प्रदेश सरकारले सम्बोधन गरेकोमा धन्यवाद व्यक्त गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव आगामी मंसिर ४ मा हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width