कर फिर्ताको निर्णयमा गण्डकी कांग्रेसको स्वागत

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
nc gandaki

पोखरा । नागरिकको मागलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले करका दर समायोजन गरेकामा नेपाली कांग्रेस गण्डकीले स्वागत गरेको छ । जनतालाई अप्ठ्यारो पर्ने गरि बढाइएको करमा पुनरावलोक गर्न गरेकामा प्रदेश समितिको आज आइतबार बसेको पदाधिकारी बैठकले सरकालाई धन्यवाद दिएको हो ।

मुख्यमन्त्रीसँग समन्वय नै नगरी अर्थमन्त्री रामजीप्रसाद बरालले करका दरमा व्यापक हेरफेर गरेपछि चौतर्फी विरोध भएको थियो । कांग्रेस प्रदेश समितिले पनि विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएको थियो । प्रदेश नीति तथा योजना आयोगले गरेको सिफारिस समेत बेवास्ता गर्दै अर्थमन्त्रीले एकतर्फीरुपमा कर बढाएपछि संसदमा समेत व्यापक विरोध भएको थियो । अर्थमन्त्रीले भने प्रगतिशील कर प्रणाली अनुसार आफू चलेको प्रतिक्रिया दिँदै आएका छन् ।

करको पुरानै अवस्थामा ल्याउनका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्थमन्त्रीलाई निर्देशन दिए पनि उनले बेवास्ता गर्दै आएका थिए । मुख्यमन्त्री पोखरेलको निर्देशनमा प्रदेश सचिव रामप्रसाद आचार्यको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा करका दरमा हेरफेर भएको हो ।

घरजग्गा रजिस्टे«शन, नामसारी, भाडाका गाडीमा सवारी कर र भाडाका सवारीका लागि दिइने कर छुटमा पुनरावलोकन गर्ने गरी असोज ६ मा बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।
यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशले मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्ष्य गरी विभिन्न निर्णय गरेको छ ।

प्रदेशको आज बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारहरु र नेपाली कांग्रेसलाई विजयी गराउनका लागि नेपाली कांग्रेसका गण्डकी प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेको संस्थाहरु र भातृसंगठन तथा शुभेच्छुक संस्थाले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल तथा विविध निर्णय गरेको हो ।

गण्डकी प्रदेशलाई समृद्धि प्रदेश निर्माण गर्ने उद्देश्य पूरा गर्न र निर्वाचन गतिविधिहरुलाई प्रभावकारी बनाउन आर्थिक परिचालन समिति संयोजकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ, घोषणा पत्र तयारीमा महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र प्रचार–प्रसार समितिमा किरणबावु श्रेष्ठलाई संयोजक तोकिएको प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले जानकारी गराए ।

साथै, विपी स्मृति पुस्तकालय सञ्चालन समितिको संयोजकमा प्रा.डा.कुशुमाकर न्यौपाने र अक्षयकोष तथा पुरस्कार व्यवस्थापनको संयोजकत्वमा प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)लाई तोक्ने निर्णय गरिएको छ ।

त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा तयार गरिने घोषणापत्रमा गण्डकी प्रदेश मातहतका जिल्लावासीको जीवनस्तर परिवर्तनका लागि समस्या र समाधान समेटी सम्बोधन गरिनुपर्ने विषयवस्तुका बारेमा जिल्ला कार्यसमितिहरुसँग राय सुझाव माग गर्ने समेत निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width