वन विज्ञान अध्ययन संस्थानको ४१ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७९
Ban Campus News

पोखरा, ६ असोज । वन विज्ञान अध्ययन संस्थान, पोखराले बिहीबार ४१ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । क्याम्पसले वार्षिकोत्सव अवसरमा सम्मान, बधाई, छात्रवृत्ति प्रदान तथा सांस्कृतिक कार्यक्रम गरेकाे हाे ।

वार्षिकोत्सवमा वर्ष उत्कृष्ट वर्ष शिक्षकबाट सहप्राडा ठाकुर शिलवाल, वर्ष उत्कृष्ट कर्मचारीबाट कार्यालय सहयोगी शम्भुराज घमाल र सर्वोत्कृष्ट विद्यार्थी सम्मानबाट विकेश जोजिजुलाई सम्मान गरियो । यसैगरी छात्रा ज्योति शर्मा, प्रतिभा पौडेल र मनीषा सुवेदीलाई २० हजार छात्रवृत्ति उपलब्ध गराइएको छ ।

यस्तै क्याम्पसको श्रीवृद्धिमा विभिन्न कालखण्डमा योगदान पु¥याउने शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरियो । सम्मानित हुनेमा प्राडा ऋदिषकुमार पोखरेल, प्राडा सन्तोष रायमाझी, कर्मचारी योगमाया केसी, मुख्य प्राविधिक सहायक केवलकिशोर यादव, कार्यालय सहयोगीद्वय कृष्णबहादुर घलान र कृष्णबहादुर खत्री हुन् ।

वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्ने हिमालय आँखा अस्पतालसँगै विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने शिक्षक तथा विद्यार्थी बधाई तथा सम्मान गरियो । उनीहरुलाई प्रमुख अतिथि प्राडा माधवप्रसाद कार्की, क्याम्पस प्रमुख विनोदप्रसाद हेज्यु लगायतले सम्मान गरे ।

कार्यक्रममा प्राडा माधवप्रसाद कार्कीले पछिल्ला समयको बहुआयामिक चुनौतीबीच जलवायु परिवर्तन लगायत क्षेत्रमा टेवा पु¥याउने जनशक्ति तयार गर्नुपर्ने सुझाव दिए । विद्यार्थीले पनि आफूले जानेको ज्ञान व्यवहारमा उतार्न सुझाव दिए । क्याम्पस प्रमुख हेज्युले क्याम्पसको श्रीवृद्धिका लागि शिक्षक, कर्मचारी र विद्यार्थीको अथक मेहनत र परिश्रम गरेकोमा प्रशंसा व्यक्त गरे । आगामी दिनमा पनि निरन्तरता दिंदै क्याम्पसलाई अब्बल बनाउनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, प्राध्यापक संघ सभापति उदयकुमार सिंह, कर्मचारी संघ सभापति मिलनबहादुर थापा, विद्यार्थी गुणस्तर समितिका संयोजक नवीन पाण्डे लगायतले बालेका थिए ।

त्रिविअन्तर्गत आंगिक यस क्याम्पसमा हाल स्नातक (बिएससी फरेस्ट्री) र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा ५ सय ४८ विद्यार्थी अध्ययनरत छन् । स्नातकोत्तर तहमा वन, सामुदायिक वन, प्राकृतिक स्रोत व्यवस्थापन तथा ग्रामीण विकास र जलाधार व्यवस्थापन कार्यक्रम सञ्चालन छन् ।

वन, प्राकृतिक स्रोत व्यवस्थापन एवं जैविक विविधतासम्बन्धी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०३८ असोज ६ मा क्याम्पस स्थापना भएको हो । यहाँ ४४ शिक्षक र ४२ कर्मचारी छन् ।

पोखरा–१५ स्थित हरियोखर्कमा वन क्षेत्रसहित १ हजार ५ सय ७० रोपनीमा फैलिएको यो आवासीय क्याम्पस हो । क्याम्पसभित्र विद्यार्थीको बसोबासका लागि १० वटा छात्रावास, शिक्षक तथा कर्मचारीका लागि एकल र सामूहिक गरी ३८ आवास छन् । यसै वर्ष पुनर्निर्माण प्राधिकरणमार्फत १५ करोड रुपैयाँको लागतमा २ वटा महिला छात्रावास र स्नातकोत्तर तहको एक शैक्षिक भवन निर्माण हुँदैछ । निर्माणका लागि परामर्शदाता छनोट भई गुरुयोजनासहित आवश्यक सर्भे पूरा भइसकेको छ ।

पाहुनाको आवास सुविधाका लागि अतिथिगृह छन् । खाना र खाजाका लागि क्याम्पसभित्रै चमेनागृह सञ्चालित छ । डिप बोरिङ प्रविधिमार्फत भूमिगत पानीलाई प्रशोधन गरी पिउने व्यवस्था गरिएको छ । शैक्षिक तथा प्रशासनिक प्रयोजनका लागि शैक्षिक, प्रशासनिक, पुस्तकालय, प्रयोगशाला, वन पैदावार संग्रहालय छन् । सभाहल, विभागीय भवन, विद्युत्, पानी, सवारीसाधन पार्किङस्थल खेलमैदान छन् । क्याम्पसले वन अनुसन्धान नर्सरीमा डिभिजन वन कार्यालय कास्कीलगायत संस्थासँगको सहकार्यमा वार्षिक रुपमा विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी निशुल्क वितरण गर्छ । विद्यार्थीलाई वनसम्बन्धी अनुसन्धान तथा प्रयोगात्मक अभ्यासका लागि क्याम्पस परिसरदेखि कास्कीका विभिन्न ठाउँ र अन्य जिल्लामा अनुसन्धानस्थल स्थापना गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width