अन्यौलमा एन्फाको ‘ड्रिम प्रोजेक्ट’

धनबहादुर गुरुङ
असाेज ४, २०७९
ANFA Dream Project Photo

पोखरा । ‘ध्यानाकर्षण गराएको सम्बन्धमा । तस्बिर आफंै बोल्छ । अखिल नेपाल फुटबल संघ मुकदर्शक किन ?’

गण्डकी प्रदेश फुटबल संघ महासचिव रमेश कार्की सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्छन् । कास्कीको भिंडाबारीमा एन्फाको ड्रिम प्रोजेक्ट टेक्निकल सेन्टर निर्माणमा भएको ढिलाइप्रति उनको कडा टिप्पणी थियो ।

उनी अगाडि लेखेका छन्, ‘नेपालको नमुना तथा सागकै उत्कृष्ट अनि गण्डकी प्रदेशको मुहार नै फेर्ने बहुचर्चित फुटबलको ड्रिम योजना निर्माण र त्यसको प्रभावकारी र सफल कार्यान्वयन गर्ने हामी सबै नेपालीको दायित्व हो ।’ योजना निर्माण कार्यान्वयनको पूर्ण तयारी भैसकेको योजनालाई जसरी पनि कार्यान्वयन गर्नुपर्ने उनको जोड छ ।

तर अखिल नेपाल फुटबल संघको तेस्रो बैठकमा पनि एजेन्डामा समावेश नगरी बोलपत्र आव्हान भएको महिनौं बित्दासमेत केही कुरा बाहिर नल्याउनु भित्रभित्रै षड्यन्त्र हुन खोजेको संज्ञा दिएका छन् । उनले एन्फाको नवनिर्वाचित टिमले ड्रिम प्रोजेक्टको योजना जुनसुकै बहनामा बिथोल्ने प्रयास गरे नेपाली फुटबल बिकासमा ठूलो दुर्घटना उनको चेतावनी छ ।

आयोजना परेपछि स्थानीय र प्रदेश सरकारले पनि सहयोग गरेको उक्त आयोजनाबारे कुनै जानकारी नदिनु न्यायपूर्ण नभएको गण्डकी प्रदेश फुटबल संघका प्रथम उपाध्यक्ष मिलन गुरुङले बताए । गुरुङ आफू एन्फा कास्की अध्यक्ष हुँदा नै शिलान्यास गर्ने भनेर निकै लागेका थिए । तर, बोलपत्र आह्वान गरेपछि एन्फाको अधिवेशन भएको थियो । अधिवेशनले काम रोकिएसँगै एन्फामा नेतृत्व परिवर्तन भयो । कास्कीमा गुरुङको ठाउँमा उज्ज्वल रञ्जितले नेतृत्व सम्हाले ।

नेतृत्व परिवर्तनपछि प्रोजेक्टबारे कसैले चासो नदिएको खेलकुदप्रमीको गुनासो छ । एन्फा जिल्ला अध्यक्ष रञ्जित आफैं पनि सो प्रोजेक्टको फाइल नभेटेको प्रतिक्रिया दिन्छन् । ‘यसको बारेमा मलाई थाहा नै छैन भन्न त मिलेन, यो केन्द्रको कुरा हो । एकपटक कुरा गर्ने कि भन्ने भएको छ,’ उनले भने, ‘यसको डकुमेन्ट मसँग केही पनि छैन ।’

चार चरणमा सकिने फिफाको ड्रिम प्रोजेक्टको पहिलो चरणको कामका लागि १७ करोड ५५ लाख विनियोजन भएको थियो

निर्वाचित भएको लामो समयसम्म कास्कीले कुनै चासो नदेखाएपछि प्रदेशले केन्द्रमा ध्यानाकर्षण गराउने सल्लाह भएको एन्फा प्रदेश प्रथम उपाध्यक्ष गुरुङले जानकारी दिए । ‘डकुमेन्ट केन्द्रमा छ, यसमा हामी प्रदेश समितिले ध्यानाकर्षण गराउने कुरा भएको छ,’ उनले भने, ‘एन्फा अध्यक्षज्यूलाई मौखिकरुपमा त भनेको छु, उहाँले ल हुन्छ त भन्नुहुन्छ तर काम सुरु गर्ने अत्तोपत्तो छैन ।’

यस्तो छ ड्रिम प्रोजेक्ट

विश्व फुटबल महासंघ (फिफा) ले दक्षिण एसियाकै सबैभन्दा ठूलो लगानीको एन्फालाई दियो । फिफाको ड्रिम प्रोजेक्ट एन्फाले कास्कीको भिडाबारीमा बनाउने योजना अगाडि बढायो । उक्त स्थानको एन्फा टेक्निकल टिमले स्थलगत निरीक्षणसमेत गरेर भ्याए । सबै तरिकाले उक्त स्थल प्रोजेक्टका लागि योग्य ठहरियो । मिनी रंगशालासहितको ‘एन्फा टेक्निकल सेन्टर’ का लागि डिपिआर तयार भयो ।

फिफाको ड्रिम प्रोजेक्ट एन्फाले ४ चरणमा काम सक्नेछ । पहिलो चरणको कामका लागि १७ करोड ५५ लाख रुपैयाँ विनियोजन भएको छ । पहिलो चरणमा अभ्यास मैदान, छात्राबास, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षा गार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने काम रहेको छ । ५ हजार दर्शक क्षमतासहितको प्यारापिटयुक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, २ कृत्रिम मैदान, २ बालुवा मैदान, स्विमिङ पुल, रेष्टुरेन्ट, पुस्तकालय, जिमहल तथा सभाहल रहने योजनामा रहेको छ । उक्त योजना पूरा गर्न ८० देखि ९० करोडसम्म लाग्ने अनुमान छ ।

सो आयोजनाको लागि गएको पुस ३ मा भिंडाबारीमै वातावरणीय प्रभाव मूल्यांकनअन्तर्गत सार्वजानिक सुनुवाइ भएको थियो । २०७६ सालमा नेपालले प्रोजेक्ट पाएसँगै कास्कीमा बनाउने योजना अघि बढेको थियो । अर्को वर्ष प्रोजेक्ट शिलान्यास गरिने बताइए पनि कोरोना महामारीले अघि बढ्न सकेन । योजनाको चौथो वर्ष अर्थात् २०७९ सालमा आएर बल्ल बोलपत्र आह्वान भयो । तर, एन्फाको नयाँ नेतृत्वले कुनै काम सुरु भएको जानकारी दिएको छैन ।

प्रोजेक्टको शिलान्यास नभए तापनि माछापुच्छे« गाउँपालिकाले भने खोलाले कटान हुन सक्ने क्षेत्रमा २ सय मिटरसम्म बाँध लगाउने काम सुरु गरिसकेको छ । करिब ५ सय रोपनीमा बन्ने फिफाको ड्रिम प्रोजेक्टमा गाउँपालिकाले समेत सहयोग गरेको हो । उक्त जग्गा जोगाउन एक छेउमा करिब १ किलो मिटरसम्म रिटर्निङ वाल (बाँध) लगाउन आवश्यक थियो । गाउँपालिकाले २ सय ५० मिटर वाल लगाएको छ ।

स्थानीय पालिकासँगै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थलगत अवलोकन गरेर प्रदेश सरकारले सहयोग गर्ने आश्वासन समेत दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width