‘चौरपाखाको विकासमा वडा सकारात्मक’

आदर्श समाज सम्वाददाता
असाेज २, २०७९
shree bhadra

पोखरा । पोखरा १८ स्थित चौरपाखा गाउँको विकासका लागि वडा कार्यालय सकरात्मक रहेको जनप्रतिनिधिले बताएका छन् ।

शनिबारको भेलामा वडा सदस्य नमराज सुवेदीले हिजो चौरपाखाको विकासमा ध्यान नदिइएकोमा दुःख व्यक्त गर्दै अब त्यस्तो नहुने प्रतिबद्धता जनाए । विकट गाउँको विकासका लागि संघीयता आएको उल्लेख गर्दै उनले चौरपाखालाई उज्यालो गाउँ बनाउन वडाले सडक बत्ती सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

वडा सदस्य रमेशबहादुर थापाले पोखराको मुख्यक्षेत्रबाट चौरपाखा नजिक रहेप नि विकट रहेको औंल्याउँदै गाउँसम्म पुग्ने सडक स्तरोन्नति लागि वडा संवेदनशील रहेको सुनाए ।

जनप्रतिनिधिसमक्ष गाउँलेहरुले सडकको स्तरोन्नतिका साथै चौरपाखादेखि मेथलाङसम्म सिढी बाटो निर्माण, काठेपोल विस्थापन साथै गाउँमा एक घर एक धारा कार्यक्रम लागु गरिदिन माग पनि गरे । उनीहरुले मेथलाङसम्म सिढी बाटो निर्माण गर्न सकेको खण्डमा गाउँमा पर्यटकीय चहलपहल बढ्ने उल्लेख गर्दैे जनताको आधारभूत खानेपानीप्रति संवेशनशील बन्न जनप्रतिनिधिलाई सुझाव समेत दिए ।

यसैबीच, भेलाले श्रीभद्र पौडेलको अध्यक्षतामा सौरेखोला चौरपाखा मोटरबाटो निर्माण समिति गठन गरेको छ । समिति उपाध्यक्षमा सञ्जीव अधिकारी, सचिव मैयाँ भूर्तेल अधिकारी, कोषाध्यक्ष लीलारमण भूर्तेल तथा सदस्यमा नवराज अधिकारी (नवीन), पार्वती अधिकारी, इन्द्रप्रसाद अधिकारी, राजुप्रसाद अधिकारी र इन्द्रबहादुर केसी छन् ।

यस्तै, इ.सुनिल अधिकारीको संयोजकत्वमा हरिश्चन्द्र अधिकारी र वडा सदस्य नमराज सुवेदी सदस्य रहने गरी अनुगमन समिति पनि गठन गरेको छ । टंकप्रसाद अधिकारी, रामप्रसाद ज्ञवाली, भगवान् अधिकारी र शिवप्रसाद अधिकारीलाई सल्लाहकार चयन भए । बाटो निर्माण समिति अध्यक्ष टंकप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हरिश्चन्द्र अधिकारीले स्वागत तथा श्रीभद्र पौडेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width