गठबन्धनको सिट बाँडफाँट : गण्डकीमा कांग्रेसलाई १० सिट

प्रकाश ढकाल
भाद्र ३१, २०७९
Gandaki-Map

पोखरा । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि सत्ता गठबन्धनबीचको चुनावी तालमेलले निरन्तरता पाउने भएको छ । सत्तारुढ दलबीच प्रतिनिधिसभाका लागि सिट बाँडफाँट लगभग टुंगिएको छ ।

१८ सिट रहेको गण्डकीका १५ सिटमा सर्वसम्मत बाँडफाँट भएको छ भने ३ सिट भाग लगाउन बाँकी छ । देशभर १ सय १० सिटभन्दा बढीमा सहमति जुटेको नेताहरुले बताएका छन् ।

आगामी असोज २ र ३ मा समानुपातिकतर्फको बन्दसूची पेस गर्नुपर्ने भएकोले त्यसअघि बाँकी सिट बाँडफाँट नहुने बताइएको छ । एउटा दलको मात्रै दाबी रहेको वा अर्को दलले छोड्न सहमति जनाएको क्षेत्रको सिट बाँडफाँट भएको कार्यदलका नेताहरुले बताएका छन् ।

गण्डकीका १८ सिटमध्ये कास्की–३, नवलपुर–२ र गोरखा–१ नम्बर क्षेत्रको टुंगो लागेको छैन । टुंगिएको १५ सिटमध्ये १० सिट नेपाली कांग्रेसले पाएको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) लाई ३ तथा नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई १–१ सिट परेको छ । टुंगिन बाँकी कास्की–३ मा कांग्रेस र माओवादी दुवैको दाबी छ भने नवलपुर–२ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादी तथा गोरखा–१ मा कांग्रेस र माओवादीले अडान छाडेका छैनन् ।

स्रोतका अनुसार गोरखा–१ मा माओवादीले नै पाउने पक्काजस्तै छ । कास्की–३ माओवादी र नवलपुर–२ एकीकृत समाजवादीले पाउन सक्नेछ ।

कास्की–३, नवलपुर–२ र गोरखा–१ बाहेक टुंगिएका १५ सिटमध्ये कांग्रेसलाई १०, माओवादीलाई ३ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई १–१ सिट

एउटामात्रै निर्वाचन क्षेत्र रहेका मनाङ, मुस्ताङ, पर्वत र म्याग्दीमा कांग्रेसका उम्मेदवार रहने छन् भने लमजुङमा माओवादीले टिकट पाउने छ । यस्तै, तनहुँका २ वटै क्षेत्र, स्याङ्जाका दुवै क्षेत्र, नवलपुर क्षेत्र नम्बर–१, कास्की क्षेत्र–१ कांग्रेसले पाउने भएको छ । माओवादीले गोरखा–२, लमजुङ र बागलुङ–२ मात्रै पाएको छ ।

एकीकृत समाजवादीले कास्की–२ र राष्ट्रिय जनमोर्चाले बागलुङ–१ पाएको छ । टुंगिएकोमध्ये मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङको नाम सर्वसम्मत छ भने मुस्ताङबाट पुनः रोमी गौचन चुनाव लड्ने बुझिएको छ । नवलपुर–१ बाट डा. शशांक कोइराला, पर्वतमा अर्जुनप्रसाद जोशी, म्याग्दीमा खमबहादुर गर्बुजा (खम्बिर), तनहुँ–१ बाट रामचन्द्र पौडेल उठ्ने निश्चितप्रायः छ ।

स्याङ्जा–१ बाट राजु थापा वा धनराज गुरुङ तथा स्याङ्जा–२ बाट गोपालमान श्रेष्ठ वा भागवत्प्रकाश मल्लमध्ये एकले टिकट पाउने कांग्रेस नेताहरुको आकलन छ । तनहुँ–२ बाट शंकर भण्डारीको चर्चा बढी छ । यद्यपि त्यहाँबाट युवा नेता प्रदीप पौडेल पनि आकांक्षी छन् । यहाँ बढी रस्साकस्सी हुने देखिन्छ । कास्की–१ बाट पूर्व मन्त्री समेत रहेका कांग्रेसका पूर्व जिल्ला सभापति यज्ञबहादुर थापा, निवर्तमान जिल्ला सभापति कृष्णबहादुर केसी सहितका नेता रेसमा छन् ।

लमजुङमा माओवादीबाट देवप्रसाद गुरुङ, बागलुङ–१ मा जनमोर्चाका चित्रबहादुर केसी, बागलुङ–२ मा माओवादीका देवेन्द्र पौडेल, गोरखा–२ मा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले टिकट पाउने लगभग पक्का जस्तै छ ।

यस्तै, कास्की–२ मा एकीकृत समाजवादीबाट तुलबहादुर गुरुङ र मदन आचार्यमध्ये एकले टिकट पाउन सक्छन् तर समाजवादीले अन्य क्षेत्रका आकांक्षीलाई समेत कास्की २ मा ल्याउन सक्ने भएकोले अहिले नै भन्न नसकिने नेताहरु बताउँछन् । त्यसो त, तनहुँमा पौडेल र भण्डारी बाहेक अन्य पनि प्रतिस्पर्धामा आउन सक्छन् भने स्याङ्जामा समेत त्यस्तै अवस्था छ ।

उम्मेदवार आकांक्षी धेरै भएकोले टिकट वितरणमा योगदानलाई हेरेर वितरण हुने बताइएको छ । कांग्रेसले बुधबार टिकट वितरणको मापदण्ड पठाएका कारण धेरै आकांक्षी रेसबाटै बाहिरिएका छन् । शीर्ष नेताहरुलाई ‘सेट’ गर्न सिट बाँडफाँट मिलाइएको आकलन धेरैको छ । सम्भावित उम्मेदवारहरु लक्षित गरेर बाँडफाँट गरिएको देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width