ओटेफको स्थापना दिवसमा भोजन

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७९
otef

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले पाँचौ स्थापना दिवस अवसरमा ज्येष्ठ नागरिक र बटुकलाई खाना खुवाएर मनाएको छ । संस्थाले केदारेश्वर महादेवमणि सेवाश्रम समितिका ज्येष्ठ नागरिक र बटुकलाई भोजन खुवाएको हो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले ओटेफले पर्यटन विकासको लागि सकारात्मक भूमिका खेलेको बताए । व्यवसायी महिला संगठित भएर सशक्त रुपमा अगाडि बढ्न सफल भएको जनाउँदै त्यसको फाइदा पर्यटन क्षेत्र लिन सफल भएको धारणा राखे । उनले ओटेफका गतिविधि देशका विभिन्न जिल्ला एवं प्रदेशमा पुग्नु निकै सकारात्मक भएको जनाउँदै आगामी दिनमा पर्यटनको विकासका लागि अझ सशक्त भूमिकाको अपेक्षा परिषदले गरेको बताइन् ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले कुनै एउटामात्र पर्यटन व्यवसाय आवद्ध नभइ सबै व्यवसायसँग आवद्ध महिलाको संस्था ओटेफले पर्यटन विकासमा साझा उद्देश्य राखेर अघि बढ्न सफल भएको धारणा राखे । उनले फरक–फरक कार्य गरेर संस्थाले आफ्नो छवि उच्च बनाउँदै लगेको बताए ।

केदारेश्वर मन्दिरका पीठाधीश डा.चिद्धन चैतन्यले मन्दिरमा आएर पनि तीज पर्व एवं संस्थाका कार्यहरु गर्न सकिन्छ भन्ने उदाहरण महिला पर्यटन व्यवसायीले दिन सकेको बताए ।

ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले संस्था स्थापना पश्चात विभिन्न क्षेत्रका महिला एकबद्ध भएर पर्यटन क्षेत्रको विकाससँगै नेतृत्व तथा व्यत्तित्व विकासका लागि अग्रसर हुँदै अघि बढ्न सफल भएको बताइन् ।

ओटेफ अध्यक्ष पार्वती पाण्डेले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्य गर्दै आएको स्मरण गर्दै यो वर्ष ज्येष्ठ नागरिक एवं बटुकसँग भोजन गर्दै स्थापना दिवस मनाइएको बताए । उनले ओटेफले विभिन्न जिल्ला पुगेर पोखराको पर्यटन ब्रान्डिङ सफल भएको दाबी गरिन् ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष उमा भण्डारी, महासचिव ममता न्यौपानेले संस्थाको गतिविधि उद्देश्य र भावी योजनाबारे जानकारी गराए ।

कार्यक्रममा ७६ बटुक २० जना ज्येष्ठ नागरिकलाई भोजन र केदारेश्वर मन्दिरमा ६ थान सिलिङ पंखा वितरण गरिएको कार्यक्रम संयोजक भावना रानाभाटले जानकारी दिइन् । कार्यक्रममा पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका अध्यक्षको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width