गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७९
Rastrapati

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच अहिलेको आवश्यकता भएको बताएकी छन् ।

मंगलबार पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती समापन एवं विद्यालय भवन उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले सो आवश्यकता औंलाएकी हुन् । उनले समतामूलक र न्योचित शिक्षाले व्यक्तिको सर्वाङ्गीण विकासमा सघाउँदै असल, योग्य र सक्षम जनशक्ति उत्पादनमा सहयोग पुग्ने धारणा राखिन् ।

सामुदायिक विद्यालय सुधारका लागि अभिभावक, स्थानीय सरकार, व्यवस्थापन समिति र विद्यार्थी सबैको भूमिका महत्वपूर्ण हुने उनले औंल्याइन् । ‘यसमा पनि अभिभावक, व्यवस्थापन समिति र प्रधानाध्यापक थप चनाखो हुन सके गुणस्तर कायम गर्न सकिन्छ,’ उनले भनिन् ।

राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक साधनको पहिचान गरी तिनको दीगो उपयोग गर्नका लागि आवश्यक व्यवस्थापकीय क्षमताको विकास गर्न जरुरी रहेको विषय पनि राष्ट्रपति भण्डारीले उठान गरिन् । सीपमूलक, व्यवहारिक, वैज्ञानिक एवं गुणस्तरीय शिक्षा नेपालको समृद्धि र विकासको आधार भएको उनले सो अवसरमा बताइन् ।

नेपालको गौरवपूर्ण इतिहासबाट शिक्षा लिंदै मुलुकको विकास र प्रगतिको यात्रालाई अगाडि बढाउन जररी भएको भन्दै उनले हाम्रा विद्यालयहरुले प्रदान गर्ने शिक्षा र सामाजिक चेतनामा राष्ट्र र राष्ट्रियताप्रतिको दायित्व बहन भइरहेको छ भन्ने आफूले अपेक्षा लिएको उल्लेख गरिन् ।

गण्डकी प्रदेश अनुपम प्राकृतिक सुन्दरता, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको स्मरण गराउँदै राष्ट्रपति भण्डारीले यहाँको स्रोत र साधन परिचानलनका लागि पनि दक्ष जनशक्ति आवश्यक पर्नेमा जोड दिइन् ।

२१ औं शताब्दीको आवश्यकताअनुसारको प्राविधिक शिक्षाको महत्वलाई आत्मसाथ गर्दै विन्ध्यवासिनी माविले त्यस्तो शिक्षामा जोड दिएकोमा उनले खुसी व्यक्त गरिन् ।

समारोहमा राष्ट्रपति भण्डारीले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा टेवा दिने सबैप्रति आभार प्रकट गर्दै उत्कृष्ट विद्यालयको रुपमा घोषित भएकोमा विन्ध्यवासिनी माविलाई बधाई ज्ञापन गरिन् । विन्ध्यवासिनी आर्थिक वर्ष २०७३÷०७४ देखि गत आव २०७८÷०७९ को मूल्यांकनमा विद्यालय कार्यसम्पादन मूल्यांकनमा नेपालमै उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको देशका ६२ जिल्लाका विद्यालयको मूल्यांकनमा विन्ध्यवासिनी नेपालमै उत्कृष्ट ५ अर्थात् गण्डकी प्रदेशमै एकमात्र उत्कृष्ट विद्यालय हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षालाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने बताए । प्रदेश सरकारले पनि प्राविधिक शिक्षामा जोड दिंदै विश्वविद्यालय संचालनमा ल्याएको स्मरण गराउँदै उनले प्रदेशप्रमुख शिक्षा सुधार कार्यक्रम समेत प्रदेशमा संचालनमा रहेको जानकारी दिए ।

विद्यालय प्राचार्य कृष्णप्रसाद आचार्यले स्व.पण्डित मुक्तिनाथ शर्माले संस्थापक प्राचार्यको रुपमा ७५ वर्षअघि उक्त विद्यालयको स्थापना गरेको बताए । उनले रोजगारीमूलक प्राविधिक शिक्षालाई समेत विद्यालयले समेट्न लागेको बताए ।

गुणस्तरीय शिक्षाका लागि अनुशासन र समर्पण भन्ने नाराका साथ संचालित उक्त विद्यालयको ११ र १२ कक्षामा भने व्यवस्थापन र विज्ञान विषयको पठनपाठन हुँदै आएको छ ।

सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महानगरका तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिबद्धता सुनाए । मेहनत र लगावकै कारण विद्यालय उत्कृष्ट ५ भित्र पर्न सफल भएको बताउँदै उनले सो अवसरमा विद्यालय, व्यवस्थापन समिति र विद्यार्थी तथा शिक्षकशिक्षिकालाई बधाई ज्ञापन गरे ।

कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) निर्देशक रामशरण सापकोटाले शिक्षा समाज विकासको आधार भएको बताउँदै नेपालका विभिन्न जिल्लामा ७ हजार ५ सयभन्दा बढी विद्यालय भवन बनाउन इकाइतर्फबाट सहयोग गरिएको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं हीरक जयन्ती मूल समारोह समिति अध्यक्ष चन्द्राकुमारी अधिकारी थापाले विद्यालयले आगामी दिनमा शैक्षिक र भौतिक विकासमा थप फड्को मार्दै जाने विश्वास व्यक्त गरिन् । विद्यालयले स्वरोजगारमूलक शिक्षामा जोड दिनेखालका शैक्षिक कार्यक्रम संचालन गर्ने जानकारी पनि उनले दिइन् । अतिथि स्वागत सत्कार समितिका संयोजक दानबहादुर बानियाँले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीले स्वागत गान, नृत्य र राष्ट्रिय सेवा दलका तर्फबाट खुकुरी नाच प्रस्तुत गरेका थिए । कक्षा १० का छात्र निशान परियारले तयार पारेको राष्ट्रपति भण्डारीको स्केच राष्ट्रपतिलाई उपहारस्वरुप प्रदान गरिएको थियो । कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा १ हजार २ सय ८८ विद्यार्थी अध्ययनरत र ८२ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

राष्ट्रपतिद्वारा भवन उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले विन्ध्यवासिनी माविको नवनिर्मित भवन उद्घाटन गरेकी छन् ।

२००४ सालमा स्थापित विद्यालयको हीरक जयन्ती–२०७८ समापन गर्दै राष्ट्रपति भण्डारीबाट सो भवन उद्घाटन गरिएको हो । यसअघि उनले हिरक जयन्ती स्मारक पनि उद्घाटन गरिन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) र साउदी अरब सरकारको विकासका लागि साउदी कोषको आर्थिक सहयोगमा नयाँ भवन निर्माण भएको हो । तीनतले ३२ कोठाको भवन बनाउन कति लागत लाग्यो भन्ने कार्यक्रममा खुलाइएन ।
२०७२ सालमा आएको विनासकारी भूकम्पले क्षति पुगेको भन्दै पुरानो भवन भत्काएको ठाउँमा नयाँ भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । पुनःनिर्माण प्राधिकरणको सहयोगमा इकाइमार्फत उक्त रकम प्राप्त भएको हो । बानियाँ निर्माण सेवा प्रालिले निर्माण गरेको उक्त भवनको चाबी कार्यक्रम अवसरमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । भवन निर्माणक्रममा विभिन्न भूमिकामा रहेर खटेका ४२ जना महानुभावलाई पनि राष्ट्रपति भण्डारीले सो अवसरमा प्रशंसापत्र प्रदान गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width