बहुउद्देश्यीय सामाजिक भवन निर्माण

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७९
Naya Bazaar (2)

पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहजता मिल्ने बताएका छन् । पोखरा ८, दमकलमार्गमा निर्माण भएको सामाजिक भवन उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन् ।

‘बहुउद्देश्यीय सामाजिक भवनले स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने जनताहरुलाई लाभ मिल्नेछ’, उनले भने, ‘सामाजिक, धार्मिक लगायतका कार्यक्रमका लागि भवनका माध्यमबाट सहजता मिल्नेछ ।’ मन्त्री थापाले भवन परिसरमा निर्माण भएको शिव र सरस्वतीको मन्दिरले उक्त ठाउँको महत्वलाई दर्शाउने बताए । समाजमा रहेका विकृति र विसंगति न्युनीकरण गर्दै समुन्नत, परिस्कृत र सुसभ्य समाज निर्माणमा सबैको पहलकदमी हुनुपर्ने आवश्यकता उनले औंल्याए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर र दमकलमार्गवासीमा हिजो देखिएका तिक्तता मेट्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनले बहुउद्देश्यीय सामाजिक भवन सामाजिक तथा धार्मिक प्रयोजनका लागि उपयोगमा आउने विश्वास व्यक्त गरे । मेयर आचार्यले भवन विभिन्न सामाजिक परम्परा तथा सांस्कृतिक विविधताले भरिपूर्ण समाजका गतिविधिहरु तालिम तथा सेमिनार, भेला तथा शिविर सञ्चालनका लागि उपयोगी बन्ने धारणा प्रस्तुत गरे ।

पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडामा स्थानीयको पहलमा सामाजिक भवन निर्माण हुनु आफैंमा महत्वपूर्ण भएको उल्लेख गरे । उनले आफू सधैं वडा विकासको पथमा लम्कीरहेको र स्थानीयका समस्यालाई समाधान गर्न पहलकदमी गरिरहेको दाबी गरे ।

सरस्वती मन्दिर निर्माण उपसमितिकी अध्यक्ष राधा थापाले ऐतिहासिक मान्यता बोकेको दमकल मार्गको अस्तित्व जोगाउन मन्दिरको स्थापना गरिएको बताइन् । उनले मन्दिर लगायत सामाजिक भवन निर्माणमा सहयोग गर्ने संघ, प्रदेश र स्थानीय सरकारलाई आभार व्यक्ति गरिन् । साथै व्यक्तिगतरुपमा आर्थिक सहयोग गरी भवन तथा मन्दिर निर्माण कार्यलाई सफलता प्रदान गर्नेहरुलाई समेत धन्यवाद दिइन् ।

भवन निर्माण मूल समितिका कोषाध्यक्ष पूर्णबहादुर राना मगरले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार भवन निर्माणमा २ करोड ६ लाख रुपैयाँ खर्च भएको छ । रामबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव धीरज थापाले समितिले गरेका कार्यबारे जानकारी दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width