आगलागी पीडितलाई मर्दीखोला हङकङ समाजको सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७९
Agalagi pidit Help Photo

पोखरा, २९ साउन । मर्दीखोला सेवा समिति कास्की हङकङ समाजले आगलागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । माछापुच्छे गाउँपालिका ८, लुम्रेका लागलागी पीडित गोलमान गुरुङको परिवारलाई वडाध्यक्ष रामबहादुर गुरुङको उपस्थितिमा आइतबार समाजले २ लाख ५६ हजार ५ सय ६ रुपैयाँ सहयोग गरेको हो । मर्दीखोला सेवा समिति कास्की हङकङ समाज महिला समिति सचिव बद्रीलक्ष्मी गुरुङ, आजीवन सदस्य दिलबहादुर गुरुङ र निशा पौडेलले उक्त रकम पीडित परिवारका सदस्य लक्ष्मी गुरुङलाई प्रदान गरेका हुन् ।

गत जेठ ५ गते ग्यास सिलिण्डर पड्केर भएको आगलागीले ठूलो क्षति भएको थियो । आगलागीबाट गोलमानको करिब २५/३० लाख बराबरको क्षति भएको वडाध्यक्ष गुरुङले जानकारी दिए । ‘ग्यास लिक भएर सबै आगलागी भएपछि निभाउने धेरै प्रयास भयो तर सकिएन,’ उनले भने, ‘लुगाफाटा, गरगहना सबै गर्दा करिब २५/३० लाख जतिको क्षति भयो होला ।’

प्रवासमा रहेर पनि नेपालीको लागि सहयोग जुटाउँदै आएको समाजका महिला संघ सचिव बद्रीलक्ष्मी गुरुङले जनाइन् । आगामी दिनमा पनि सहयोग निरन्तरता रहने उनको प्रतिबद्धता थियो । कार्यक्रममा निशा पौडेलले मानवीय सेवा नै धर्म भएकाले आफूहरुले समस्यामा रहेकाहरुको वास्तविक समस्या बुझेर सक्दो सहयोगमा जुट्ने बताइन् ।

मर्दीखोला सेवा समिति कास्की हङकङ समाजका पदाधिकारी, साधारण सदस्य तथा शुभचिन्तक र बिदामा स्वदेश आएका नेपालीहरुबाट सो रकम संकलन गरिएको गुरुङले जानकारी दिइन् ।

वडाअध्यक्ष गुरुङले विदेशी भूमिमा रहेर पनि जन्मभूमिमा भएको समस्या र दुःखपीडामा आत्मसात गरी सहयोग रकम जुटाएकोमा धन्यवाद व्यक्त गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे ९ का वडा सदस्य रामहरि गुरुङले कठिन अवस्थामा एकअर्काको सहयोगमा जुटेर अघि बढ्नु नै मानवीयता भएको धारणा राखे । सहयोगप्रति धन्यवाद दिंदै पीडित लक्ष्मी गुरुङले उक्त रकमले घर बनाउने बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width