गाईजात्रा नाच प्रदर्शन

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७९
Gaijatra ~rup

पोखरा । नयाँ सडक नेवाः पुचः, पोखरा–९ ले शनिबार गाईजात्रा नाच प्रदर्शन गरेको छ । विभिन्न रंगीचंगी पोशाकमा सजिएका कलाकारले नयाँसडकका विभिन्न स्थानमा यस्तो नाच प्रस्तुत गरेका हुन् ।

हरेक वर्ष गाईजात्रा अवसरमा संस्थाले यस प्रकारको नाच प्रदर्शन गर्दै आएको संस्थाका पूर्व अध्यक्ष भवानीप्रसाद श्रेष्ठले जानकारी दिए । २०६० सालमा स्थापना भएको उक्त संस्थाले संस्कृति संरक्षणका लागि यस प्रकारको नृत्य प्रदर्शन गर्दै आएको श्रेष्ठले बताए ।

‘गाईजात्रा नेवार संस्कृतिमा आधारित नाच भनिए पनि यसलाई सबै नेपालीको साझा नाचका रुपमा हामीले अगाडि बढाउन चाहेका छौं,’ उनले भने, ‘नेपाली मौलिक परम्परागत नाच भएका कारण यसको जगेर्नाका लागि हामी लागिपरेका छौं ।’ नाचमा कलाकारको रुपमा अन्य समुदायका कलाकारसमेत सहभागी भएको पूर्व अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गएको २ वर्ष कोभिडका कारण यो नाचलाई निरन्तरता दिन नसकिएको उनले बताए । संस्थाका अध्यक्ष श्यामलाल श्रेष्ठले पोखरामा नेवार समुदायको बसोबास भएदेखि नै गाईजात्राको प्रचलन रहेको जानकारी दिए । उनका अनुसार पहिला सीमित टोलहरुमा मात्र देखाइने गाईजात्रा अहिले तायमचा प्रतियोगिताकै रुपमा समेत प्रदर्शन गर्ने गरिएको छ । २ दर्जन बढी टोलबाट नाच समूहको प्रतिनिधित्व गराई नाच आयोजना गर्ने गरिएको उनले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक रमेश बाटाजू, सचिव कृष्ण मर्सानी र कोषाध्यक्ष मनोहरलाल श्रेष्ठ लगायत समितिको सिंगो टिम नै गाइजात्रा संस्कृतिको संरक्षण र प्रचारका लागि सक्रियरुपमा लागिरहेको समितिले जनाएको छ ।

गाईजात्राकै अवसरमा मोहरियाटोल तायमचाः समितिको आयोजनामा आगामी भदौ ४ गते आयोजना हुने तायमचा प्रतियोगितामा समेत नयाँ सडक नेवाः पुचःले भाग लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width