परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७९
Siddhi Setuli (2)

पोखरा । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराको १६ औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सो अवसरमा संस्थाले शैक्षिक उन्नयन तथा सामाजिक सहयोगको क्षेत्रमा गर्दै आएका गतिविधिको चर्चा गरिएको थियो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले प्रतिष्ठानले विभिन्न शैक्षिक संस्थाका विशेषगरी विपन्न विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिए । शैक्षिक क्षेत्रमा नै संस्थाले बढी मात्रामा जोड दिएको स्मरण गराउँदै उनले प्रतिष्ठानको विकासमा साथ र सहयोग पु¥याउने सबैप्रति आभार प्रकट गरे ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष विश्वरत्न शाक्यले संस्थाले विशेषगरी पोखराका वडा ३ र ९ का विद्यालय र क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको जानकारी दिए । सुरुमा वडा ३ मा मात्र प्रतिष्ठानका गतिविधि सीमित भए पनि पछिल्लो पटक वडा ९ मा पनि विस्तार गरिएको जानकारी दिंदै उनले भविष्यमा संस्था आर्थिकरुपमा सवल र सक्षम हुँदै जाँदा अन्यत्र समेत परोपकारी कार्य गरिने योजना उनले सुनाए ।

प्रतिष्ठान कोषाध्यक्ष गोविन्दबहादुर ताम्राकारले प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थामा प्रतिष्ठानका नाममा ७६ लाख ९७ हजार रुपैयाँ रकम रहेको जानकारी दिए । कार्यक्रममा संस्थाका सहसचिव कल्याण पन्तले सचिव इन्द्रकमल मानन्धरद्वारा प्रस्तुत संस्थाको प्रगति प्रतिवेदन पढेर सुनाएका थिए ।

प्रतिष्ठानका निवर्तमान अध्यक्ष नरेन्द्र लालचनले संस्थाबाट आफूले नीति, विधि र प्रणालीबारे धेरै कुरा सिक्ने मौका पाएको बताए । प्रतिष्ठानकी पूर्व सम्मानित सदस्य लक्की कार्की क्षत्रीले स्थानीय नवप्रभात माविमा अधिकांश गरिब र विपन्न परिवारका बच्चा पढ्ने गरेको स्मरण गराउँदै उक्त विद्यालयलाई समेत छात्रवृत्तिमा समेटिनु उपयुक्त निर्णय भएको बताइन् ।

सो प्रतिष्ठानको अक्षयकोष दिवंगत पिता सिद्धिरत्न शाक्य र माता सेतुलीमाया शाक्यको स्मृतिमा दिवंगत जेठा छोरा शान्तरत्न शाक्य र उनकी धर्मपत्नी शान्तमाया शाक्य तथा कान्छा छोरा विश्वरत्न शाक्य र उनकी धर्मपत्नी बुलु शाक्यले सुरुमा १० लाख रुपैयाँको अक्षयकोषसहित २०६४ सालमा स्थापित भएको हो । हाल अक्षयकोष राशि ७५ लाख रुपैयाँ पुगेको प्रतिष्ठानका संस्थापक अध्यक्ष विश्वरत्न शाक्यले जानकारी दिए ।

उपेक्षित र असहाय महिलाको सीप विकासमा सहयोग जुटाउने, शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षाको समूचित व्यवस्थाका लागि सहयोग गर्ने, बाल, वृद्ध र असहाय महिलाहरुको स्वास्थ्योपचारमा सहयोग जुटाउने, लोककल्याणकारी कार्यमा समर्पित व्यक्ति र संस्थालाई सम्मान गर्ने जस्ता लक्ष्यसहित प्रतिष्ठानको जन्म भएको हो ।

प्रतिष्ठानले धर्मशीला बुद्ध विहारमा कोठा निर्माण, सिर्जनशील युवा कला पुरस्कार स्थापना, धम्म पोखरा विपश्यना ध्यान केन्द्रमा दान, सीतापाइलास्थित पोखरा वृद्धाश्रममा खानेपानी योजना निर्माण, गोरखामा चैत्य निर्माण र महायज्ञमा दानलगायत कार्य गरिसकेको जनाएको छ । संस्थाले प्रत्येक २ वर्षमा आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान प्रदान गर्दै आएको संस्थाका सहसचिव कल्याण पन्तले जानकारी दिए ।

यसैगरी, प्रतिष्ठानले पोखराका ८ विद्यालयका माध्यमिक तहसम्मका १ सय ५४ जना विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरिसकेको छ । छात्रवृत्ति रकमवापत् १ लाख ७४ हजार ४ सय ५० रुपैयाँ र शैक्षिक सामग्रीका लागि २ लाख ५० हजार रुपैयाँ खर्च भएको प्रतिष्ठानले जनाएको छ । छात्रवृत्तिले बालमन्दिर मावि नदीपुर, महेन्द्र मावि नयाँबजार, कन्या क्याम्पस नदीपुर, ज्ञानभूमि मावि नदीपुर, कन्या मावि नदीपुर, सिर्जना आवासीय विद्यालय अर्घौं, नवप्रभाव मावि नयाँबजार र मौला इस्लामिक आधारभूत विद्यालय कुँडहरलाई समेटेको सचिवको प्रतिवेदनमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width