ब्रह्माकुमारीमा रक्षाबन्धन एवं स्नेह मिलन

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७९
Om Shanti

पोखरा । रक्षाबन्धन एवं जनैपूर्णिमा अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले पोखरामा रहेका २२ वटा शाखाहरुमा त्रिदिवसीय रक्षाबन्धन एवं स्नेह मिलन कार्यक्रम गरेको छ ।

विश्वबन्धुत्व, भाइचारा, पवित्र आत्मिक प्रेमको सन्देश फैलाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा शुक्रबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली लगायतले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालकी अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परिणीतासँग रक्षाबन्धन ग्रहण गरेका थिए ।

यस्तै, गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, लायन्स क्लब डिष्ट्रिक्ट ३२५ जे का गभर्नर ध्रुव श्रेष्ठ, वरिष्ठ डा. तेजबहादुर गुरुङ, डा. नीरज दुबे, प्रहरी नायव उपनिरीक्षक सुन्दर तिवारी, प्रहरी वरिष्ठ नायव निरीक्षक रत्नकुमारी श्रेष्ठ, समाजसेवी मदनकाजी श्रेष्ठ, महिला पर्यटन व्यवसायी लक्की कार्की क्षत्री लगायतले रक्षाबन्धन ग्रहण गरेका थिए ।

संस्थाका मुख्य शाखा नयाँबजारमा रक्षाबन्धन स्नेह मिलन कार्यक्रममा आशीर्वचन दिंदै अध्यक्ष राजयोगिनी ब्रह्माकुमारी परिणीताले ब्रह्माकुमारीजका विश्वभर करिब १ सय ६० देशका करिब १० हजार बढी सेवा केन्द्रमा वार्षिकरुपमा जनसमुदायलाई रक्षाबन्धन ग्रहण गराएर दक्षिणा स्वरुप मनोविकार र अवगुण दान गर्न लगाइनु नै यस पर्वको अलग महत्व रहेको बताइन् । उनले सबैले मन, वचन र कर्ममा पवित्रता धारण गर्ने प्रतिज्ञा गर्नु नै सच्चा जनै या रक्षा सूत्र बाँध्नुको आध्यात्मिक प्रतीकात्मक अर्थ हो भनिन् ।

सहरका अन्य विभिन्न स्थानहरु जस्तै जिल्ला प्रहरी कार्यालय, वृद्धाश्रम, कारागार लगायतमा गई पर्वको आध्यात्मिक रहस्योस्घाटन, शुभकामना आदानप्रदान एवं पवित्रता, प्रेम, सद्भावको सूचक राखी सूत्र ग्रहण गराउने कार्यक्रम गरिएको थियो । जसमा करिब ३५ हजार जनाले राखी सूत्र ग्रहण गरेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width