पर्यटकीय महत्वको काहुँ किन पछि ? सडक सुधार्न सुझाव

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७९
kahun 2

पोखरा । पोखराको मुख्य बजार क्षेत्रबाट नजिक रहेर पनि ओझेलमा परेको काहुँको पर्यटकीय विकासका लागि सडक मार्ग सुधार्न जोड दिइएको छ ।

स्वतन्त्र पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष तथा सचिवहरुको भेलाका अवसरमा संघले शुक्रबार आयोजित ‘काहुँकोटको पर्यटकीय सम्भावना’ विषयक बृहत् अन्तक्र्रियामा उक्त सुझाव राखिएको हो ।

पोखरा ११ काहुँस्थित कालिका मावि प्रांगणमा भएको अन्तक्र्रियामा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन सेवा उद्योग भएको स्मरण गराउँदै पर्यटकको मन जितेर अगाडि बढ्न सके काहुँले पर्यटनमा फड्को मार्न सक्ने बताए । काहुँमा पर्यटक आएर गर्ने गतिविधि तथा उनीहरुका लागि प्याकेजको निश्चितता हुन सके प्रवद्र्धनमा थप टेवा पुग्ने उनको सुझाव थियो । काहुँमा बन्न लागेको धर्मकाय बुद्ध मण्डलाले यस क्षेत्रको विकास र प्रवद्र्धनमा मद्दत पुग्ने भन्दै मेयर आचार्यले यस क्षेत्रको विकासका लागि महानगर तत्पर रहेको भनाइ राखे ।

पुम्दीकोट, सराङकोट लगायतका क्षेत्र पर्यटनमा निकै अगाडि रहेको स्मरण गराउँदै उनले काहुँ पर्यटनमा पछि पर्नुपर्ने कुनै कारण नभएको बताए । पोखरा प्रकृतिले दिएको अलौकिक ठाउँ भएको बताउँदै उनले यो सहरलाई पर्यटकीय राजधानी घोषणा गर्ने अभियानमा आफूहरु रहेको सुनाए । काहुँ डाँडा र काहुँकोट जस्ता नाममा विवाद नगर्न पनि उनले आग्रह गरे । नयाँ गन्तव्यको खोजी र सोही अनुसारको वातावरण विकास गर्दै पोखरा आउने पर्यटकको बसाइँ अवधि २०८० सालसम्म ५ दिन बनाउने र यो क्षेत्रलाई पर्यटनको हवका रुपमा विकास गर्ने योजना महानगरको पनि उनले बताए । काहुँसम्बन्धी कार्यक्रम गरेकोमा उनले संघलाई धन्यवाद दिए ।

आयोजक स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले काहुँ पुग्ने मुख्यबाटो मनिपाल अस्पताल नजिक पुगेर खन्न रोकिएको भन्दै यसलाई खुलाउन काहुँबासीले पहल गर्नुपर्ने र अस्पतालले पनि अवरोध गर्न नहुने बताए । काहुँबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे लगायत दर्जन हिमाल अवलोकन गर्न सकिने बताउँदै बास्तोलाले गाउँमा होमस्टेको विकासले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताए । हिमचुचुरा र तिनको नाम तथा उचाइ स्थानीयले चिन्न जरुरी भएको भनाइ पनि उनले राखे । काहुँ पर्यटनका हिसाबले अन्य ठाउँको तुलनामा फ्रेस रहेको भनाइ पनि बास्तोलाले राखे ।

काहुँको लिफ्टिङ खानेपानी योजना, कालिज फारम, लालीगुराँस, बतासेको चिप्लेटी, चट्टान उद्यान बनाउन सकिने ठूला ढुंगाहरु रहेको बतासेकै बाघखोर, मुर्तिकार भरत आचार्य, स्वर्गीय मेजर वीर सिंको इतिहास, काहुँको पञ्चेबाजा जस्ता विषयले काहुँको पर्यटकीय विकासका लागि सम्भावना बोकेर बसेको उनले बताए । होमस्टेको सिकाइ र तरकारी खेती, पशुपालन र फलफूल खेतीका लागि वडाले गाउँलाई सघाउनुपर्ने उनले बताए ।

सो अवसरमा संक्षिप्त कार्यपत्र प्रस्तुत गर्दै स्वतन्त्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष असफल गौतमले काहुँले पर्यटकीय हिसाबले थुप्रै सम्भावना बोकेको बताए । उनले काहुँ ऐतिहासिक, प्राकृतिक र धार्मिक हिसाबले समेत उत्तिकै महत्वपूर्ण क्षेत्र रहेको बताए । यहाँको धरहरा र धरहरा बनाउन मेजर वीर सिंले खेलेको भूमिका पनि स्मरणीय रहेको उनले सुनाए । कार्यपत्रउपर आयोजक संघका उपमहासचिव सुरेश श्रेष्ठले टिप्पणी गरेका थिए । गन्तव्यको विकास मात्र नगरी तिनलाई व्यवस्थित गरिनुपर्ने बताउँदै उनले काहुँले उदाहरणीय र विशेष क्षेत्र बन्ने सम्भावना बोकेको बताए ।

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले काहुँ पुग्ने सडक सुधार गर्दै यसलाई ढलसहितको ढलानयुक्त बनाउन सुझाव दिए । बसाइँ सर्ने र विदेश जाने क्रमले गाउँहरु रित्तिदै गएको भन्दै उनले पर्यटनको विकासका लागि जनता नै अग्रसर हुनुपर्ने सुझाव राखे ।

पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले सडकको सुधार गर्दै पार्कको विकास तथा चौताराको संरक्षण गर्ने योजना काहुँका लागि अगाडि सारे । सबैको सुझाव लिएर काहुँलाई पर्यटनका हिसाबले अगाडि बढाउनेतर्फ पनि आफूले ध्यान दिने उनले बताए । वडा ११ का सदस्य सुशील बास्तोलाले काहुँकोट काहुँडाँडाभित्र नै रहेको क्षेत्र भएको बताए । कृषि वैज्ञानिक डा. अनिल सुवेदीले पोखरा विकासक्रममा काहुँ पछि परेको भन्दै जैविक विविधता हिसाबले समेत यो क्षेत्र धनी रहेको बताए । वरपीपल, बाटो र चौतारीको संरक्षणका लागि पनि उनले आव्हान गरे ।

कार्यक्रममा धर्मकाय बुद्ध मण्डलाका सचिव पूर्ण लामाले मण्डलाका लागि डिपिआर बन्दै गरेको जानकारी दिंदै मण्डलाका कारण काहुँ क्षेत्र नेपालकै महत्वपूर्ण गन्तव्य बन्ने बताए । काहुँ धरहरा प्रिमियम होमस्टे संचालक इन्दिरा अधिकारी आचार्यले कोरोनाका कारण होमस्टेले बीचमा समस्या भोगे पनि अहिले पुनः पाहुना सेवालाई निरन्तरता दिइएको बताइन् । काहुँ घोताने परिवारका अध्यक्ष एवं काहुँ सडक निर्माण उपभोक्ता समितिका सुवेदार इन्द्रबहादुर गुरुङले सरकारले काहुँको बाटोका लागि बजेट व्यवस्था गर्नुपर्ने माग राखे । काहुँडाँडाको नाम काहुँकोट नै हुनुपर्ने उनले बताए । घोताने परिवारका सदस्य लोकबहादुर गुरुङले काहुँकोटस्थित मन्दिरमा पुजारी र धर्मशालाको व्यवस्था गर्दै वर्षमा एक पटक भए पनि महाआरति गर्ने व्यवस्थाका लागि सुझाव राखे । शिक्षा र स्वास्थ्यमा जोड दिएर गाउँ अघि बढ्नुपर्ने उनको मत थियो ।

समाजशास्त्री संगीता गौतम तिम्सिनाले काहुँ पुग्ने सडक ढलान गरी चौडा बनाउन र घुम्तीहरु मिलाउन सुझाव राखिन् । आफ्नो ठाउँको विकासमा जनता नै अग्रसर हुन जरुरी भएको भन्दै उनले पर्यटनलाई टेवा दिन अर्गानिक खेतीमा पनि जोड दिनुपर्ने बताइन् । स्थानीय समाजसेवी एवं सामुदायिक वनका विष्णुप्रसाद आचार्यले बाटोमा निर्माण सामग्री राख्ने कार्य अन्त्य गर्दै चोरी नियन्त्रण गर्न ठाउँठाउँमा सिसी क्यामेरा जोडिनुपर्ने सुझाव राखे । स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराई र संघकी उपाध्यक्ष तिर्सनालक्ष्मी गुरुङले पनि कार्यक्रममा भनाइ राखेका थिए । अन्त्यमा संघका राष्ट्रिय अध्यक्ष बास्तोलाले सबैलाई धन्यवाद ज्ञापन गरे । संघको भेलाका लागि २९ जिल्ला शाखाका ७५ पत्रकार आमन्त्रित रहेको पनि अध्यक्ष बास्तोलाले जानकारी दिए । संघका उपमहासचिव कल्याण पन्तले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width