पोखरा विश्वविद्यालय उच्च शिक्षाको गहना: प्रम देउवा

आदर्श समाज सम्वाददाता
असार १५, २०७९
PU

पोखरा । प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले पोखरा विश्वविद्यालय मुलुककै उच्चशिक्षाको एउटा गहनाको रुपमा रहेको बताएका छन् । समाजलाई समुन्नत बनाउन र मुलुकलाई विकासको पथमा डो¥याउन यसको महत्वपूर्ण भूमिका रहेको पनि उनले सुनाए ।

प्रधानमन्त्री निवास बालुवाटारमा पोखरा विश्वविद्यालयको २२ औं साधारणसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रम देउवाले सो कुरा बताएका हुन् । दिगो शान्ति र राजनीतिक स्थायित्व कायम नभएसम्म विकासले गति लिन नसक्ने भन्दै उनले यसको लागि विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहने बताए ।

सभाले विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम एवं रजिष्टार डा. दीपकबहादुर भण्डारीद्वारा प्रस्तुत आगामी आवको १ अर्ब ४६ करोडको बजेट स्वीकृत गरेको छ । बजेटमा पुँजीगत खर्चतर्फ ६४ करोड ३ लाख ५७ हजार र साधारणतर्फ ८१ करोड ९६ लाख ४३ हजार रहेको छ ।

विश्वविद्यालयको सम्बन्धनप्राप्त महाविद्यालयलाई बढीमा २ कार्यक्रम÷समूह प्रतिस्थापन तथा थप गर्ने गरी महाविद्यालयहरुलाई संकाय विशिष्टीकरण गर्ने विश्वविद्यालयको नीतिलाई परिमार्जन गरिएको छ । सम्बन्धित महाविद्यालय÷कलेजलाई स्वैच्छिक अवसर दिइ सोको बाँकी प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरिएको छ । यसैगरी १० वर्षदेखि रोकिएको नयाँ महाविद्यालयको सम्बन्धनसमेत सभाले खुला गर्ने नीति अवलम्बन गरेको र मौजुदा सम्बन्धन शुल्कमा समेत परिवर्तन भएको जनाइएको छ ।

सभाले विशेष मौका परीक्षाको व्यवस्था गर्न स्वीकृति प्रदान गर्दै विशेष मौका परीक्षामा सहभागी विश्वविद्यालयको १८ औं साधारण सभाको बैठकबाट भएको निर्णय बमोजिम विद्यार्थीको योग्यता, विद्यार्थीका सीमा, सर्त र परीक्षा सञ्चालनका विधि र प्रक्रिया अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ ।

आव २०७९÷८० को नीति तथा कार्यक्रममा विश्वविद्यालयले भौतिक निर्माण र पूर्वाधार विकासमा जोड दिएको छ । जसमध्ये सञ्चालन हुन लागेको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका साथै केन्द्रीय कार्यालय प्रशानिक भवनमा २ तला थप, परीक्षा नियन्त्रण कार्यालयको लागि थप भवन निर्माण, मुँसेटुडामा रहेको जग्गाको विस्तृत गुरूयोजना अनुसार ५ हजार विद्यार्थी पठनपाठन गर्ने क्षमताका प्राज्ञिक भवन तथा शैक्षिक भवन निर्माण र तिनलाई चाहिने आवश्यक पूर्वाधार निर्माणको गुरूयोजनाको लागि बजेट विनियोजन गरेको छ ।

विश्वविद्यालयले सरकारको नीतिअनुरूप मेडिकल कलेजको सञ्चालन प्रक्रिया अगाडि बढाउने छ । साथै विभिन्न संकायमा सञ्चालित स्नातक र स्नातकोत्तर तहका आंगीक कार्यक्रमको सवलीकरणका लागि सरकार, सरोकारवाला एवं स्थानीय निकायको सहभागितामा भूगोलको विशेषता र सम्भाव्यताको अध्ययन गरेर देशका ७ वटै प्रदेशमा आवश्यकता अनुसार आंगीक महाविद्यालयहरूको विस्तार गर्ने भएको छ ।

यसैगरी, पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त महाविद्यालयलाई आवश्यकता अनुसार सामुदायिक तथा निजी महाविद्यालयको रूपमा वर्गीकरण गरिनेछ र सामुदायिक महाविद्यालयको सञ्चालनलाई स्थानीय सरकार र संघसंस्थाको सहयोगमा मुनाफारहित महाविद्यालयको रूपमा व्यवस्थित गर्ने नीति अवलम्बन गरिनेछ । पोखरा विश्वविद्यालयले दिने छात्रवृत्तिलाई सरकारले अवलम्बन गरेको नीतिअनुरूप योग्यता र समावेशीता आधारमा वर्गीकरण गरी छात्रवृत्ति प्रदान गर्ने सूचना अधिकृत लोकप्रसाद ढकालले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width