पुतलीबजारको बजेट झण्डै १ अर्ब

आदर्श समाज सम्वाददाता
असार ९, २०७९
putali bajar

स्याङ्जा। पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि ९० करोड ६४ लाख ८८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । बिहीबार नगरसभाको ११ औं बैठकले त्यसअघि प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रम एवं बजेट बहुमतले पारित समेत गरेको छ ।
सभामा नगर उपप्रमुख देवी अर्यालले प्रस्तुत गरेको ९० करोड ६४ लाख ८८ हजार बराबरको बजेटमध्ये ३० करोड ९७ लाख १५ हजार रुपैयाँँ पँुजीगततर्फ र ५९ करोड ६७ लाख ७३ चालू खर्चतर्फ बिनियोजन भएको छ । बजेटमध्ये संघ सरकारबाट सशर्त अनुदान ४५ करोड ८२ लाख, समानीकरण अनुदानमा १५ करोड ९१ लाख र समपूरक अनुदानमा १ करोड ४० लाख छ ।

प्रदेश सरकारको सशर्त अनुदानमा ५० लाख, समानीकरण अनुदान १ करोड ९२ लाख ७२ हजार, विशेष अनुदान २० लाख, राजस्व बाँडफाँडबाट १ करोड ४४ लाख ७६ हजार रुपैयाँ छ । आन्तरिकतर्फ चालु आवको मौज्दात ७ करोड ९१ लाख ३५ हजार अनुमान गरिएको छ । प्रदेश सरकारको नवपवर्तक कोष साझेदारी कार्यक्रममा ५ लाख मूल्य श्रृंखला आयोजनाको १८ लाख, सडक बोर्डको ६० लाख र जनसहभागितातर्फ २ करोज आय हुने अनुमान सहितको सो बजेट प्रस्तुत भएको हो । सभाले बिनियोजन विधेयक २०७९, आथिक विधेयक २०७९, शैक्षिक विधेयक २०७९, स्थानीय शिक्षा ऐन प्रतिस्थापक विधेयक २०७९ र नगरसभाका विभिन्न समितिमा पदपूर्ति लगायतका प्रस्ताव सर्वसम्मत तथा बहुमतले पारित गरेको छ ।

त्यसअघि, बिहीबार नै ‘शिक्षा स्वास्थ्य र पूर्वाधार, समुन्नत पुतलीबजारको आधार’ भन्ने मूलनाराका साथ नगर प्रमुख तुलसीराम रेग्मीले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा एकीकृत कृषि ब्यवस्थापन प्रणाली सहित किसान वर्गीकरण, हाम्रा पाखो गह्रा सबै हराभरा, सुन्तला सुपरजोन कार्यान्वयनमा जोड, हाइटेक सुन्तला नर्सरी, एक घर एक कागती, एक घर एक करेसाबारी, स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण, रैथाने बालीको संरक्षण, प्रांगारिक खेती प्रणालीलाई प्रवद्र्धन गर्ने लगायत छन् ।

यसैगरी, लघुउद्यम विकास कार्यक्रममा क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँच र बजारीकरण, इनोभेसन र उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र कार्यक्रम संचालन, बेरोजगारलाई उत्पादनमूलक उद्योगमा परिचालन, घरेलु तथा साना उद्योग संचालन, बिस्तार र अभिप्रेरित गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने नीति लिइएको छ ।

नगरका पर्यटकीय, सांस्कृतिक, ऐतिहासिक स्थानको पहिचान गरी पर्यटक प्रवद्र्धनमा जोड, इको भिलेज सहितको होम स्टे, प्याराग्लाइडिङ, र्‍याफ्टिङजस्ता साहसिक खेलको प्रवद्र्धन, एक सहकारी एक उत्पादन कार्यक्रम, भूमिहीन तथा अव्यवस्थित सुकुम्बासी परिवारको पहिचानसहित जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको छ ।

लोपोन्मुख तथा अल्पसंख्यक समुदाय कुमाल, गन्धर्व र माझी जातिका परिवार र सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका ब्यक्तिका परिवारलाई निशुल्क स्वास्थ्य बिमा र स्याङ्जा अस्पतालमा ब्लड बैंक संचालनसहित मिर्गौला रोगीहरुका लागि स्याङ्जामै निशुल्क डायलायसिस सेवा संचालन गर्ने छ ।

सबै बालबालिकाको शिक्षामा पहुँच, अपांग, लोपोन्मुख लगायत विपन्न बालबालिकालाई छात्रवृत्ति, शिक्षक दरबन्दी मिलान, ३ कक्षामा स्थानीय पाठ्यपुस्तक लागु, मेयरसँग विद्यार्थी कार्यक्रम, सामुदायिक सिकाइ केन्द्र र मदरसा आदि शैक्षिक संस्थाको गुणस्तर वृद्धि, एक विद्यालय एक फोकल शिक्षक, शिशुदेखि कक्षा ३ सम्मका बालबालिकाको खाजामा प्रतिविद्यार्थी ५ रुपैयाँ थप, ५ वर्षभित्र बालमैत्री पालिका घोषणा, बालश्रम न्युनिकरण, सबै छात्रालाई निशुल्क स्यानिटरी प्याड, सुत्केरी सट्टा शिक्षकको ब्यवस्था, बहुप्राविधिक शिक्षालय स्थापना, सुरक्षित मातृत्व र पोषण प्रवद्र्धन कार्यक्रम छन् ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता, सामाजिक सुरक्षा तथा समावेशीकरण नीतिअन्तर्गत सबै प्रकारका हिंसा, शोषण तथा विभेद बहिष्करणविरुद्ध शून्य सहनशीलताको नीति, महिलालाई व्यवसाय संचालन तथा आयमूलक कार्यक्रममा सहुलियत ऋण तथा वित्तीय सहयोग, अपांगमैत्री संरचना, फोहोरमैला र सेफ्टीटंकी उचित व्यवस्थापन, पुतलीबजारलाई उज्यालो सहित स्याटलाइट सिटी, नगरपालिकाको सडक गुरुयोजना बनाउने उल्लेख छन् । यसैगरी, विद्युत्तीय सुशासन, सार्वजनिक परीक्षण र सार्वजनिक सुनुवाइ, सुधारिएको सेवा प्रवाहका लागि पूर्वाधार ज्ञान कार्यक्रम, कार्यसम्पादनमा आधारित कर्मचारी, प्रोत्साहन, स्थानीय जनसहभागिता नीति, अन्तरसरकारसम्बन्धी नीति, सार्वजनिक तथा निजी क्षेत्रको साझेदारी नीति, दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण लगायत विविध नीति छन् ।

सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम घर्ती, विभिन्न विषयगत समिति संयोजकहरु मनोज पौडेल, इमबहादुर सेन लगायतले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width